काठमाडौँ– संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगो लागेको छ।
सभामुख देवराज घिमिरेलाई दलहरूले आफ्नो भागमा परेका सदस्यहरूको नामावली दिएका हुन्। संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन हुने समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १–१ जना सदस्य हुने सहमति दलहरूबिच भइसकेको छ।
सभामुखको सचिवालयका अनुसार समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा रहनेछन्। नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्कीलाई सदस्य बनाउन नाम सभामुख घिमिरेलाई दलहरूले उपलब्ध गराएका सभामुखको सचिवालयले जानकारी दिएको छ।राप्रपाबाट रोशन कार्कीको नाम आएको छ।
सभामुख घिमिरेले आजको प्रतिनिधि सभा बैठकमा ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’मा रहने सदस्यहरुको नाम औपचारिक रुपमा जानकारी दिनेछन्।
राज्य व्यवस्था समितिबाट सर्वसम्मत पास भएको संघीय निजामती सेवा विधेयकमा दुई वर्ष कुलिङ पिरियडको व्यवस्था राखिएको तर प्रतिनिधि सभाबाट पास भएर आउँदा कुलिङ पिरियड निष्प्रभावी हुने प्रावधान थपिएको भन्दै विरोध भएको थियो। राज्यव्यवस्था समितिका सदस्य र राजनीतिक दलका अन्य नेताहरुले समेत विधेयक हेरफेर गर्ने कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने माग राखेका थिए।
सोही अनुसार गठन गरिएको छानबिन विशेष समितिलाई विधेयकमा हेरफेर गर्नेलाई कारबाही सिफारिस गर्ने र यस्ता घटना भविष्यमा दोहोरिन नदिने उपायबारे समेत सुझाव दिने कार्यादेश तोकिने स्रोतले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।