काठमाडौँ– काठमाडौँ महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आफ्नो चरित्र हत्या भएको बताएका छन्।
उनले पछिल्लो समय आफूमाथि कपोलकल्पित र भ्रामक सूचनाका माध्यमबाट निरन्तर रूपमा विभिन्न खालका आरोप र टीकाटिप्पणी हुन थालेपछि बाध्य भएर बोलेका हुन्।
केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले काठमाडौं टावरको नक्सा पासको विषयलाई जोडेर आफूलाई लगाइँदै आएको आरोपमा कुनै पनि सत्यता नभएको भन्दै आफ्नो चरित्र हत्या गर्ने प्रयासप्रति पनि आक्रोश व्यक्त गरे।
उनले आफू नरहेका बेला पनि लामो समयदेखि बैठक नबसेको बताए । ‘व्यक्ति तोकेर तँ भ्रष्टाचारी हो भनेर त्यसरी तोक्न मिल्ला ? त्यो विषय आधिकारिक निकायले भन्ने कुरा होला नि,’ उनले भने, ‘त्यसरी व्यक्तिको चरित्रहत्या गर्ने कुरा गलत छ। यदि तपाईँलाई कसैले विना प्रमाण चरित्र हत्या गर्छ भन्ने त्यसलाई ठिक भन्न सक्नुहुन्छ ? मैले अहिलेसम्म मेयर सावका बारेमा केही पनि भनेको छैन नि ? अनि मेयरको सचिवालयको हबला दिँदै मलाई आरोप लगाउने कुरा कसरी ठिक हुन्छ ? मलाई भ्रष्टाचारी करार गर्ने निकाय उहाँको सचिवालय त होइन होला नि ? आधिकारिक निकाय हुन्छ होला ? उसले मेरो बारेमा छानबिन गरिरहेको होला नि ? होइन ?’
प्रमुख प्रशासकीय अधिकृतले भने जस्तै काठमाडौं टावरको नक्सा स्वीकृतको कागजपत्र हेर्ने हो भने तत्कालीन प्रशासन विभागले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई सम्बोधन गरेर उठाएको फाइल तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारीले हस्ताक्षर गरेर ‘नगर प्रमुखज्यू पेस भए बमोजिम जरिवाना तोक्न निर्णय प्रस्तुत गरेको छु’ भन्दै २०८० मंसिर २७ गते मेयर बालेन शाहलाई पठाएको देखिन्छ।
उक्त फाइल मेयर शाहकोमा पुगेपछि शाहले पुस २ गते पाँच लाख जरिवानासहित स्वीकृत गरेको देखिन्छ। त्यही फाइल नयाँ प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले स्वीकृत गरेको प्रष्ट हुन्छ।
गुरागाईंले स्वीकृत गरेको फाइलमा समेत ‘मिति २०८०/९/०२ गतेको श्रीमान नगर प्रमुखज्यूले रु ५, ००००० (पाँच लाख) जरिवाना गर्ने निर्णय र मिति २०८०/९/०५ गतेको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कानून अनुसार नक्सा स्वीकृतका लागि पेस गर्ने भन्ने आदेश अनुसार नक्सा स्वीकृत’ भनेर उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।