काठमाडौं- हुन्डाई मोटर्स इन्डियाले कोरोना भाइरस (कोभिड- १९)सँग जुधि रहेको सरकारलाई विभिन्न तहबाट सहयोग गरिरहेको छ। यो संकटको समयमा कोरोना जाँच गर्न आवश्यक पर्ने किट सरकारलाई उपलब्ध गराएको जनाएकाे छ। हुन्डाईले यस्तो प्रतिबद्धता यसअघि नै गरेको थियो।
दक्षिण कोरियाली कार उत्पादक कम्पनी हुन्डाईले केही सातामै उक्त किट बनाएर दिएको हो। हुन्डाई उत्पादन गरेको २५ हजार किट बिहीबार इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर)लाई हस्तान्तरण गरेको हो।
हुन्डाई इन्डियाले आयात गरेर ल्याएको २५ हजार एडभान्स डायग्नोस्टिक टेस्टिङ किटको मूल्य ४ करोड भारतीय रुपैयाँ पर्छ। यो किटले दिने नतिजा निक्कै विश्वसनीय हुने दाबी हुन्डाईले गरेको छ। हुन्डाईले यही किट अमेरिका, युरोपेली मुलुकलगायतमा निर्यात गर्दै आएको छ।
यो टेस्टिङ किटले सरकारलाई परीक्षण दर बढाउन केही सहयोग पुग्ने हुन्डाई इन्डियाका एमडी तथा सिइओ एसएस किमको भनाइ छ। पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ।
हुन्डाईले हालैमात्र तामिलनाडु मुख्यमन्त्री राहत कोषमा करिब ५ करोड भारतीय रुपैयाँ जम्मा गरेको थियो। हुन्डाईको चेन्नईमा रहेको प्लान्टमा भेन्टिलेटरसहित अन्य मेडिकल सामग्री उत्पादन सुरु भएको छ।
त्यस्तै कम्पनीले पिपिई तथा मास्क पनि उत्पादन गरेर वितरण गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।