फ्रान्सको मार्सेलीमा माछा किनबेच गर्दै स्थानीय। त्यहाँ ११ मेमा लकडाउन हटाइदैछ। तस्बिर : बीबीसी एजेन्सी–कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित युरोपेली मुलुकहरु फ्रान्स, इटाली र स्पेनमा दैनिक मृत्युदर २ महिनायताकै कम भएको छ।
फ्रान्समा १३५ र स्पेनमा १६४ जनाको मृत्यु भएको छ, जुन गत मध्यमार्च यताकै कम हो भने इटालीमा १७४ जनाको मृत्यु भएको छ। यो २ महिनायताकै कम संख्या हो।
यसैबीच, फ्रान्सका डाक्टरहरुले बिरामीको नमुनामा गरिएको नयाँ परीक्षणमा फ्रान्समा भाइरसको उपस्थिति गत वर्ष नै देखिएको दाबी गरेका छन्। पेरिसका आइसीयु प्रमुख युभेस कोहेनले फ्रान्समा २७ डिसेम्बरमै कोरोना भाइरस देखिएको बताएका हुन्, जुन औपचारिक रुपमा कोरोनाका बिरामी फेला पर्नुभन्दा १ महिनाअगाडि हो।
उनले गत डिसेम्बर तथा जनवरीमा श्वासप्रश्वासको समस्याबाट भर्ना भएका २४ बिरामीमध्ये १ जनाका कोभिड–१९ को पोजिटिभ रिजल्ट आएको भन्दै यकिन गर्न बारम्बार परीक्षण गरिएको बताए।
उता रुसमा भने महामारी तीव्र रुपमा फैलन थालेको छ। त्यहाँ नयाँ १० हजार नयाँ संक्रमित भेटिएका छन्। यद्यपि रुसमा मृत्युदर भने अन्य देशको तुलनामा कम छ। आइतबार त्यहाँ ५८ मृत्यु भयो। यससँगै रुसमा मृत्यु हुनेको संख्या १२८० पुगेको छ।
बेलायतमा पनि दैनिक मृत्यु घटेको छ। आइतबार ३१५ जनाको मृत्यु भएको छ। बेलायती अधिकारीहरुले अस्पताल भर्ना हुने संक्रमितको संख्यामा पनि कमि आइरहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।