प्रधानमन्त्री ओली। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय काठमाडौं- बुधबार दिउँसो ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठक बस्ने कार्यक्रम पूर्वनिर्धारित थियो। तोकिएको समयभन्दा केही ढिलो गरी सचिवालय सदस्यहरू जुटे। सबैभन्दा ढिलो अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आइपुगे।
एक सचिवालय सदस्यका अनुसार आउनेबित्तिकै चारैतिर हेरे। एकछिन अनौपचारिक कुराकानी भयो। त्यसपछि उनले भने, 'कमरेडहरु आज म धेरै थाकेको छु। बैठक बस्न सक्ने अवस्था छैन।'
प्रधानमन्त्री ओली बैठकको एजेन्डामा प्रवेश नै नगरी बाहिरिए। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाँकी सचिवालय सदस्यहरुले एकछिन आराम गरेर बैठकमा फर्किने अपेक्षा गरे। औपचारिक रुपमा बैठक सुरु भएन। ती सचिवालय सदस्य भन्छन्, 'हामीले केही बेर बैठकका कुरा नगरेर उहाँलाई पर्ख्यौं। तर उहाँ आउनुभएन।'
त्यसपछि अनौपचारिक रुपमा सचिवालयका बाँकी सदस्यहरू विषयप्रवेश गरे। उनीहरूले आफूलाई लागेका विषयमा धारणा राखे। आ–आफ्नो ढंगले छलफल गरे। सचिवालय सदस्यहरुले स्थायी कमिटीको बैठकमा राख्नुपर्ने एजेन्डा उठाएपछि अर्का अध्यक्ष प्रचण्ड टिप्न थाले।

'उहाँ बैठकमा फर्किने कुनै संकेत देखिएन। हामी कुर्नुको औचित्य रहेन,' एक सचिवालय सदस्यले भने, 'त्यसपछि दुई अध्यक्षबीच छलफल गरेर बैठक र एजेन्डा टुंग्याउनू भन्दै हिँड्यौं।'
यसपछि अध्यक्षद्वयबीच भेटघाट भयो। प्रचण्डसँगको भेटका क्रममा ओलीले स्थायी कमिटी बैठक नै नराखेर सहयोग गर्न आग्रह गरेको अध्यक्ष प्रचण्ड निकट स्रोतले बताएको छ। सरकारका नीति तथा कार्यक्रम, बजेट तथा कोरोनाविरुद्धको लडाई लड्नुपर्ने भएकाले तत्कालको अवस्थामा स्थायी कमिटी बैठक पछि गर्ने गरि वातावरण मिलाउन आग्रह गरेका थिए। 'नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नुछ। कोरोनाविरुद्धको लडाईंलाई अझै प्रभावकारी बनाउनुपर्नेछ। अहिलेका प्रायोरिटी यी हुन्। पार्टी एकतालाई मजबुत बनाउने र मिलेर जाने कुरा भएकै छ। साथीहरूले अहिलेको अवस्थामा सरकारको बाध्यता बुझिदिनुपर्यो,' भनी प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग आग्रह गरेको प्रचण्ड निकट स्रोतले नेपाल लाइभसँग भन्यो।
सके फकाउने नत्र थकाउने
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो आलोचना भएको र राजीनामा समेत माग गर्ने तयारी प्रचण्ड तथा नेपाल समूहले गरेपछि सके फकाउन नत्र थकाउने रणनीतिमा छन्। उनले यसअघिको सचिवालय कमिटी बैठकमा आत्मालोचना गरेर सबै सदस्यलाई फकाउने अस्त्रका रूपमा प्रयोग गरेका थिए। उनले पार्टीका असन्तुष्ट नेताहरूलाई विभिन्न प्रलोभन देखाएर फकाउने गरेका विषय पनि यसअघि आइकसकेका छन्। अध्यक्ष प्रचण्डलाई समान हैसियतको नेकपा अध्यक्ष भएको भान पार्नका लागि उनले सचिवालय बैठकको टेबलपोस आफ्नो जस्तै रातो बनाउन लगाएका थिए। नेपाल समूहलाई फकाउनका लागि उनले तेस्रो अध्यक्षको प्रस्ताव लिएर आफू निकट नेताहरूलाई उनकै निवासमा भेट्न पठाएका थिए। नेता वामदेव गौतमलाई फकाउनका लागि उनले प्रतिनिधिसभा सदस्य बनाउन पार्टीले सहयोग गर्ने निर्णय गराउन सफल भए।



पछिल्लो समय भने ओली रणनीति फकाउनेबाट थकाउने तर्फ लागेको देखिएको छ। बैठकमा उपस्थित नभएर थकाउने या बैठकमा ढिलो गरी उपस्थित भएर थकाउने उनको रणनीति बुधबारको सचिवालय बैठकले स्पष्ट पारिसकेको छ। बैठक पछि पनि उनी अध्यक्ष प्रचण्डसँगको भेटमा स्थायी कमिटी बैठक नै नराखेर थकाउने रणनीतिमा प्रवेश गरेका छन्।
प्रधानमन्त्री ओली स्थायी कमिटीको बैठक बोलाउने विपक्षमा सुरुदेखि नै छन्। सरकारका कामकारबाहीका विषयमा तीव्र आलोचना भइरहेकै बेला बैठक बोलाउँदा सही परिणाम ननिस्किने उनले यसअघिको सचिवालयको बैठकमा बताएका थिए।
नेकपाका २० जना स्थायी कमिटीले बैठक माग गर्नुका साथै सचिवालयका अन्य सदस्यमाथि दबाब बढाए। प्रधानमन्त्री ओली माहोलअनुसार निर्णय गर्न खप्पीस रहेको ती सचिवालय सदस्यको दाबी छ। उनी भन्छन्, 'यसअघि राजिनामाकै माग उठेकाले स्थायी कमिटीको बैठक बोलाउने कुरामा सहमति गर्नुभयो। राजीनामा मागविरुद्ध माहोल सिर्जना भएपछि स्थायी कमिटी टार्न खोज्दै हुनुहुन्छ।'
सचिवालय बैठक पनि किस्ताबन्दीमा गर्दै जानुको रणनीतितर्फ दृष्य डुलाउन उनले सुझाए। अध्यादेशको विवाद आएपछि पहिलो सचिवालय बैठकमा केही आलोचना सल्ट्याए। उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधव नेपाललाई अध्यक्ष बनाउने जाल फ्याँके।

यसले ओलीको उदारता मात्रै दर्शाएन। 'वार कि पार' गर्न बैठकमा पुगेका सचिवालयका अन्य सदस्यलाई शान्त बनाउने काम गर्यो।
उक्त विषयमा अर्को सचिवालय बैठकमा औपचारिक प्रस्ताव आउने र त्यसलाई पास गर्ने रणनीतिमा नेपालइतर समूह लागिपरेको थियो। कम से एक पदबाट ओलीलाई राजीनामा दिन लगाउने र स्वेच्छाचारितामा ब्रेक लगाउन सकिने भन्दै उसले तयारी पनि भयो। तर यही बीचमा ओलीले खेल्ने मौका पाए। उनले उपाध्यक्ष वामदेव गौतम मात्रै आफ्नो पक्षमा ल्याएनन्, पूर्वमाओवादीका प्रभावशाली नेताहरूलाई समेत राजीनामा दिँदा अस्थिरताको सन्देश जाने कुरामा 'कन्भिन्स' गराए।
राजीनामा दिनुपर्ने माग लिएर बैठक पुगेका प्रचण्ड–नेपाल समूहका अघि उनले आत्मआलोचना गरेर र स्थायी कमिटी बैठकको मिति तोकिदिए। २० गते बसेको बैठकमा उनले स्थायी कमिटीको बैठक बोलाएपछि त्यहीँ जमेर छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओलीका कामप्रति असन्तुष्ट समूहले तयारी गरेको थियो।
तर आफूइतर समूहको उक्त सपना पूरा हुन दिनेमा ती सचिवालय सदस्य सशंकित छन्। उनी भन्छन्, 'उहाँ पहिलेदेखि नै धेरै तीतो भएको बेला झन् तीतो बनाउन बैठक बोलाउनु राम्रो होइन। पछि बैठक बोलाउँला भन्नुहुन्थ्यो। सचिवालयका बहुमत सदस्यका अघि केही सीप नलागेर उहाँ बाध्य हुनुभएको हो।'
प्रधानमन्त्री ओलीले यो बीचमा प्रचण्ड-माधव समूहको शक्ति मापन गरेका छन्। ती सचिवालय सदस्यका अनुसार स्थायी कमिटीमा आफू विरुद्ध एजेन्डा सजिलै बहुमतबाट पास हुने देखेपछि जति आलोचना भएपनि टार्ने रणनीतिमा उनी लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।