काठमाडौं– कोरोना रोगथाम तथा नियन्त्रण र उपचारका लागि सरकारले विभिन्न समयमा खरिद गरिरहेको मेडिकल सामग्रीलाई लिएर गुणस्तरको प्रश्न खडा भइरहेको छ। तर यही बेला स्वास्थ्य सेवा विभागले पुनः १ लाख ७० हजार गुणस्तहीन भिटिएम खरिदका लागि सम्झौता गर्ने तयारी गरेको छ।
विभागले खरिद गर्न लागेको भिटिएमको टेन्डरमा २० वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए।
प्रस्ताव पेस गनेमध्ये सबैभन्दा कम रकम कुबल गर्ने कम्पनीसँग विभागले आज सम्झौताका लागि आशय पत्र जारी गर्न लागेको छ।
तर, सबैभन्दा कम रकम कबुल गर्ने कम्पनीले विभागलाई उपलब्ध गराउन लागेको भिटिएम भने चीनले योग्य भनेर सार्वजनिक गरेको उत्पादन कम्पनीको सूचीमा नभएको कम्पनी हो।
गुणस्तरहीन भिटिएम उपलब्ध गराउने कम्पनीले १ लाख ७० हजार वटा भिटिएम प्रतिपिस १ सय ६० रुपैयाँ दरले २ करोड ७२ लाख रुपैयाँ उपलब्ध गराउने गरी कबुल गरेका छ।
यसबाहेक अन्य कम्पनीहरुले भने ३ करोड ४ लाख रुपैयाँदेखि बढीमा ४ करोड ७० लाख रुपैयाँसम्ममा उपलब्ध गराउने कबुल गरेका थिए।
तर, विभागले राजनीतिक दबाबका कारण गुणस्तरहीन भिटिएम उपलब्ध गराउन खोज्ने कम्पनीसँग नै सम्झौता गर्न लागेको स्रोतको दाबी छ।
१ लाख ७० हजार भिटिएम उपलब्ध गराउन सबैभन्दा कम रकम प्रस्ताव गर्ने कम्पनीले चिनियाँ जेनफाइन बायोटेक कम्पनीले उत्पादन गरेको भिटिएम दिने छ। तर, उक्त कम्पनीले उत्पादन गरेको भिटिएम चीनमा नै प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। चीनमा औषधिको गुणस्तर प्रमाणित चिनियाँ चेम्बरअफ कर्मस र चिनियाँ एनएमपीए (चिनियाँ राष्ट्रिय स्थास्थ्य सामाग्री प्रशासन)ले गर्ने गर्छ। यी कम्पनीहरुले भिटिएमको हकमा १० वटा कम्पनीको उत्पादनलाई मात्रै प्रमाणित गरेको छ।
यी हुन १० योग्य कम्पनी

तर, यो लिष्टमा चिनियाँ भिटिएम उत्पादन कम्पनी जेनफाइन बायोटेक रहेको छैन।
चीनले नै अयोग्य घोषणा गरेको कम्पनीले उत्पादन भिटिएम उपलब्ध गराउने गरी टेन्डरमा सहभागी कम्पनीसँग खरिद सम्झौता गर्ने तयारी भएको छ।
‘विभागले अहिले राजनीतिक दबाबका कारण गुणस्तरहीन भिटिएम खरिद गर्न पर्ने अवस्थामा पुगेको छ,’ विभाग स्रोतले भन्यो ‘गुणस्तरहीन भिटिएम दिने भन्दै थोरै रकम कबुल गर्ने कम्पनीसँग सम्झौता नगरे कतिखेर कहाँ सरुवा हुन्छ थाहा छैन।’
भिटिएम के हो त?
भिटिएम भनेको स्वाब संकलन गरी पिसीआर परीक्षणका लागि पठाउन प्रयोग गर्ने मेडिकल सामान हो। यसलाई एक प्रकारको किट (बट्टा) भनेर बुझ्दा पनि हुन्छ। यसको काम प्रयोगशालासम्म पुर्याउँदा भाइरस नमरोस् र संक्रमण नफैलियोस भन्ने नै हो।
१ लाख ५० हजार पिसिआर किट पनि किनिँदै
यसैगरी स्वास्थ्य सेवा विभागले १ लाख ५० हजार पिसिआर किट र १ लाख ५० हजार नै आरएनए एक्स्ट्रक्सन किट पनि खरिद गर्ने भएको छ।
विभागले पिसीआर खरिदका लागि गरेको टेन्डरमा १४ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।