काठमाडौं- यातायात व्यवसायीहरू ८ गतेदेखि सबै सार्वजनिक यात्रुवाहक बस चलाउन सहमत भएका छन्। पुनर्कर्जालगायत बैंकिङ विषयमा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सम्बोधन गरेको र चालक सहचालकको कोरोना बिमाकाे प्रिमियम सरकार र व्यवसायीले आधा आधा व्यहोर्ने सहमति जुटेपछि व्यवसायीहरू बस चलाउन राजी भएका हुन्।
सोमबार यातायात व्यवस्था विभागका महानिर्देशक, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, तिनवटा ट्रेड युनियनहरू नेपाल यातायात स्वतन्त्र मजदुर सँगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ, महानगरीय ट्राफिक प्रहरी महाशाखाबीच छलफल भएकाे थियाे।
उक्त छलफलमा मुख्यगरी ४ वटा सहमति भएको हो। यातायात श्रमिकहरूकाे समूहिक काेराेना बिमाकाे प्रिमियम सरकार र यातायात व्यवसायीले आधा आधा भुक्तानी गर्ने, यातायात श्रमिक काेराेनाका कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्तिका लागि सरकारकाे तर्फबाट काेष स्थापना गर्न विभागले सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने, यातायात श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू (मास्क, स्यानिटाइजर, पन्जा, पिपिई) सम्बन्धित व्यवसायीले उपलब्ध गराउने, लामाे, छाेटाे र मध्यम दूरीका सबै सवारी साधनहरू सञ्चालन गर्न विभागको मार्फत सम्बन्धित मन्त्रालयमा सिफारिस गर्नेलगायतका विषयमा सहमति भएको हो।
सोमबार भएको छलफलमा सरकार र व्यवसायी तथा मजदुर संगठनबीच सहमति जुटेपछि केही दिनभित्रै सार्वजनिक यात्रुबाहक बस चल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए। यस बारेमा महासंघले मंगलबार पत्रकार सम्मेलन गरेर सबै कुरा सार्वजनिक गर्ने उनले जानकारी दिए।
यद्यपि उपत्यकामा साझा, मयूर, महसनगर, सुन्दरलगायत बसहरू चलिरहेका छन्। सरकारले असार २६ गतेदेखि उपत्यका र अन्य जिल्लाको हकमा जिल्लाभित्र सञ्चालन हुनेगरी यात्रुवाहक बस चल्न दिने निर्णय गरेको थियो। त्यसरी चल्ने बसले सिट क्षमताको आधामात्र यात्रु बोक्न पाउने, स्वास्थ्य सुरक्षाका उपायहरू अपनाउनुपर्ने व्यवस्था गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।