काठमाडौं- सरकारले साउन ६ गते राति १२ बजेदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेकाे छ। तर, काठमाडौं उपत्यका भित्रिन पास चाहिने व्यवस्थालाई भने यथावत राखेको छ। उपत्यकामा लागू गरिएको निजी सवारीको जोर बिजोर प्रणालीसमेत अन्त्य भइसकेको छ।
साउन ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो। लकडाउन अन्त्य भएपनि सुरक्षाका उपाय अपनाउनु पर्ने र केही निश्चित सेवा भने संचालन नहुने सरकारको भनाइ छ।
भदौ १ देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका क्रियाकलाप पनि संचालन गर्ने निर्णय सरकारले गरेको छ। यस्तै छोटो, मध्यम र लामो दूरीका सवारी साधन पनि भदौ १ देखि मात्र सञ्चालन गर्न दिने सरकारको भनाइ छ।
काठमाडौं उपत्यकामा भित्रिन र बाहिरिन आवश्यक पर्ने पास यथावत रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए। ‘उपत्यका इन र आउटको पास यथावत रहेको छ,’ उनले भने, ‘निजी सवारीको जोर बिजोर भने हटिसक्यो।’ भदाै १ पछि लामाे सबैखाले सवारी सञ्चालन भएसँगै पास नचाहिने उनले बताए।
सरकारले सेमिनार, बैठक, ब्युटी पार्लर, हेल्थ क्लब, सैलुन, धार्मिक स्थल सञ्चालन प्रतिबन्ध भने कायमै राखेको छ। संक्रमण बढ्यो भने सरकारले खुला गरेका क्षेत्र पुनः बन्द गर्न सक्ने समेत निर्णय गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।