काठमाडौं- लकडाउन खुकुलो भएपछि सवारी दर्ता उल्लेख्य रुपमा भइरहेका छन्। यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी एकान्तकुनामा लकडाउन खुकुलो भएपछिको पहिलो महिना अर्थात् आर्थिक वर्ष २०७६/७७ को असारमा १ हजार ३ सय ८४ वटा सवारीसाधन दर्ता भएको छन्।
त्यस्तै कार्यालयले असारमै ३९ करोड ८३ लाख ५१ हजार ६ सय १० रुपैयाँ राजस्व संकलन गरेको छ। यातायात कार्यालय एकान्तकुनाले असारमा सवारीसाधन कर बापत ३६ करोड ७३ लाख १० हजार ७ सय ६० रुपैयाँ, सवारी दस्तुर बापत १ करोड ६५ लाख २ हजार २ सय रुपैयाँ, यातायात क्षेत्रको आय बापत १ करोड ४३ लाख ९५ हजार ५० रुपैयाँ र पञ्जीकृत शुल्क बापत १ लाख ४३ हजार ६ सय रुपैयाँ राजस्व संकलन गरेको छ।
आर्थिक वर्ष २०७५/७६ को असारमा कार्यालयले २२ करोड ६१ लाख ८९ हजार १ सय ९७ रुपैयाँ राजस्व संकलन गरेको थियो। त्यस्तै गत आवको सोही अवधिमा उक्त कार्यालयमा १ हजार ७ सय ४१ वटा सवारीसाधन दर्ता भएको तथ्यांक छ। गत असारमा ७ सय ५७ वटामात्र कार‚ जिप‚ भ्यान दर्ता भएका थिए।
चैत ११ देखि लकडाउन भएको र असार १ देखिमात्र सवारी दर्ता खुलेको अवस्थामा पनि कार जिप भ्यानको दर्ता भने अघिल्लो वर्षको सामान्य अवस्थामा भन्दा लकडाउन खुलेपछि धेरै दर्ता भएको छ।
त्यसैगरी कार्यालयले असार महिनामा सबैभन्दा धेरै कार जिप भ्यान दर्ता गरेको छ। असारमा कार्यालयमा ८ सय ६८ वटा कार‚ जिप‚ भ्यान दर्ता गरेको जनाएको छ। लकडाउन खुलेपछि कार्यालयमा २४ वटा बस, ३६ वटा मिनिबस/मिनिट्रक, ३४ वटा हेभी इक्विपमेन्ट, २४ वटा ट्रक, टिपर, कन्टेनर दर्ता भएका छन्। त्यसैगरी ३ सय ८२ वटा पिकअप, ७ वटा कुटनीतिक नियोगका सवारी र ९ वटा एम्बुलेक्स दर्ता भएको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।