काठमाडौं- झण्डै चार महिनाको लकडाउनपछि उपत्यकाको सडकमा निजी तथा भाडाका सवारी साधनको चाप बढेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले नागरिकलाई भौतिक दूरी कायम गराउने र ट्राफिक नियम पालना गराउने कार्यलाई तिव्रता दिएको छ।
लकडाउनको अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले आम सडक प्रयोगकर्तालाई स्वास्थ्य मापदण्ड पालना गराउन र ट्राफिक नियम कार्यान्वयन गराउन बुधबारदेखि ट्राफिक प्रहरीको विशेष टोली परिचालन गरिएको महाशाखाले जनाएको छ।
उक्त टोलीले सार्वजनिक सवारीमा सामाजिक दूरी कायम गरे/नगरेको, चालक र यात्रुले मास्क लगाए/नलगाएको, तोकिएको भाडादर लिए/नलिएको, ५० प्रतिशतमात्र यात्रु राखे/नराखेको अनुगमन गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।
उनका अनुसार उपत्यकाका २९ स्थानमा जाँच चौकी स्थापना गर्नुका साथै बसपार्क, बसबिसौनी र विशेषगरी गुडिरहेको सार्वजनिक सवारीलाई अनुगमन गरिनेछ। लकडाउन हटेसँगै महाशाखाले ट्राफिक नियम पालना नगर्ने चालकविरुद्धसमेत कारबाही थालेको छ।
मापसे जाँच सुरु
महाशाखाका अनुसार बुधबारदेखि मादक पदार्थ सेवन (मापसे) जाँचलाई समेत तिव्रता दिएको छ। उपत्यकाका विभिन्न ठाउँमा मापसे गर्ने क्षेत्रमा निगरानी बढाउने र मापसे गरी सवारी चलाएको भेटिएमा कारवाही गर्न थालिएको ढकालले बताए।
कोरोना संक्रमणको जोखिम कायम नै रहेकाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न, स्यानिटाइजर, मास्क लगाउन र सवारी साधन डिसइन्फेक्सन गर्न पनि महाशाखाले सवारी चालक तथा आम यात्रुलाई अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।