प्रतीकात्मक तस्बिर काठमाडौं- बागमती प्रदेशमा सवारी दर्ता ४२ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७५/७६ मा २८ हजार ९३ वटा सवारी दर्ता भएको थियो। आव २०७६/७७ मा १६ हजार २ सय ९१ वटा सवारी दर्ता यातायात व्यवस्था कार्यालय साना-ठूला सवारी एकान्तकुलानाको तथ्यांक छ। अघिल्लो वर्षको तुलनामा गत वर्ष सवारी दर्ता ११ हजार ८ सय २ वटाले कम हो।
आव २०७५/७६ मा सबैभन्दा धेरै १६ हजार ५ सय ७८ वटा कार–जिप–भ्यान दर्ता भएको थियो भने सबैभन्दा कम एम्बुलेन्स १ सय १८ वटा दर्ता भएको थियो। त्यसैगरी ४ हजार ६ सय २८ वटा पिकअप, ट्रक–टिपर–ट्यांकर २ हजार २ सय ९० वटा, माइक्रो ३ सय ७१ वटा, कुटनीतिक १ सय ३५ वटा, हेवी इक्युपमेन्ट १ हजार ६ सय ९६ वटा, मिनिट्रक मिनिबस १ हजार ३ सय ५३ वटा र बस ९ सय २१ वटा दर्ता भएका थिए।
बागमती प्रदेशस्थित यातायात व्यवस्था कार्यालय एकान्तकुनामा आव २०७६/७७ मा सबैभन्दा धेरै कार- जिप- भ्यान १० हजार ६ सय ७३ वटा दर्ता भए भने सबैभन्दा कम एम्बुलेन्स ८८ वटा दर्ता भएको तथ्यांक छ। त्यसैगरी २ हजार ८ सय ७० वटा पिकअप, १ सय २२ वटा माइक्रो, १ सय ५० वटा कुटनीतिक, ६ सय ४१ वटा ट्रक–पिटर–ट्यांकर, ४ सय ९४ वटा हेवी इक्युपमेन्ट, ५ सय ८५ वटा मिनिबस–मिनिट्रक र ६ सय ६७ वटा बस दर्ता भएका थिए।
आव २०७६/७७ को बैशाख र जेठमा सवारी दर्ता शून्य रहेको थियो। कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेका कारण सवारी दर्ता हुन नसकेको हो। सरकारले २०७६ चैत ११ देखि लकडाउनको घोषणा गरेको थियो। चैतमा समेत ११ दिनमात्र खुलेको र असारमा समेत लकडाउन केही खुकुलोमात्र भएकाले सवारी दर्ता उल्लेख्य हुन नसकेको हो।
सवारी दार्ता कम हुनुमा कारका लागि उपलब्ध कर्जामा राष्ट्र बैंकले ५० प्रतिशतको सीमा तोक्नु पनि रहेको व्यवसायीहरुको भनाइ छ। सवारी व्यवसायीहरुले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सवारी कर्जाको सीमा परिवर्तन गर्न माग गरेका थिए। तर, मौद्रिक नीति यो विषयमा मौन रह्यो। यो वर्ष पनि सवारी बिक्री बढ्ने अवस्था नरहेको व्यवसायीहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।