नेपालमा मनसुन सुरु भएको दुई महिना बितिसकेको छ। औसत मितिभन्दा दुर्ई दिन ढिला गरी जुन १२ अर्थात जेठ ३० मा नेपालको पूर्वी भेग प्रवेश गरेको मनसुन सुरुमा कमजोर अवस्थामा रहे पनि केही दिनपछि नै सक्रिय भई देशमा निरन्तर रुपमा भारी वर्षा हुन थालेको थियो। यसरी मनसुनकालको प्रारम्भदेखि नै देशको विभिन्न स्थानमा बाढी, पहिरोले थुप्रै जनधनको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण व्यवस्थापन प्राधिकरणबाट प्राप्त पछिल्लो विवरण अनुसार विगत दुई महिनामा ६० भन्दा बढी जिल्ला प्रभावित भएको छ भने बाढी, पहिरो तथा चट्यांगको कारण २३१ जनाको ज्यान जानुको साथै ७७ जना बेपत्ता भएका छन्। साथै २०८ जना घाइते भएका छन्।
सामान्यतया मनसुनकालको उत्तरार्द्धतिर अर्थात् अगस्टतिर नेपालमा अविरल वर्षापश्चात विभिन्न किसिमको प्राकृतिक प्रकोप देखापर्ने गर्थ्यो। तर चालु मनसुनकालको सुरु देखि नै देखा परेको अतिवृष्टिले मनसुनको अनौठो चारित्रिक स्वभावलाई प्रस्तुत गरेको छ।
यसै सन्दर्भमा वर्षाको स्वरुपलाई दृष्टिगत गर्दा नेपालमा यस वर्षको वर्षा विगतका वर्षभन्दा केही फरक भएको पाइएको छ। वर्षाको आँकडा अनुसार नेपालमा गएको हिउँद यामदेखि चालु मनसुनकालसम्म निरन्तर रुपमा वर्षा भइरहेको पाइएको छ। गएको हिउँदमा नेपालमा सक्रिय पश्चिम वायुको प्रभावको कारण देशभर केही दिनको अन्तरालमा वर्षा भइरहेको थियो भने वर्षा पनि औसतभन्दा बढी मात्रामा भएको थियो। त्यस्तै हिमपात पनि प्रशस्त मात्रामा भएको थियो। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त वर्षाको आँकडा अनुसार गएको डिसेम्बरदेखि फेब्रुअरीसम्म तीन महिनामा नेपालमा २३० प्रतिशत अर्थात् औसतको दोब्बरभन्दा बढी वर्षा भएको छ। जुन सामान्य मान्न सकिँदैन।
त्यसपछि मनसुन पूर्वाद्धको समयमा पनि वर्षा निरन्तर रुपमा भइरह्यो। आँकडा अनुसार गएको मार्चदेखि मेसम्म नेपालमा झण्डै १३० प्रतिशत वर्षा भएको छ। यसरी लगातार अत्यधिक मात्रामा वर्षा हुनाले मनसुन सुरु हुनुभन्दा पहिलै पहाडी सतह गलेर सन्तृप्त भएको देखिन्छ। जसले गर्दा मनसुन सुरु हुनु पहिल्यै देशको केही स्थानमा भूस्खलन भई पहिरो गएको समाचार सुन्नमा आएको थियो।
पुनश्च मनसुन आगमनपश्चात पनि देशमा वर्षा निरन्तर रुपमा औसतभन्दा बढी भइरहयो। यसले गर्दा पहाडले भरिएको देश नेपालको विभिन्न स्थानमा पहिरो निम्तिन पुग्यो भने तरार्ईको समथर मैदान बाढी र डुबानमा परी जनजीवन आक्रान्त बन्यो। तरार्ईमा मात्र नभई राजधानीको विभिन्न स्थान समेत जलमग्न भई बाढीको प्रकोप देखापरेको छ।
यस वर्ष यस्तो मौसमी गतिविधि देखापर्नु अस्वाभाविक नभए पनि यो लामो समयको अन्तरालपछि देखापरेको मौसमी गतिविधिको रुपमा लिन सकिन्छ। र यसको पछाडि विश्वव्यापी रुपमा देखा परेको विभिन्न प्राकृतिक प्रक्रिया भएको बैज्ञानिक अध्ययनको ठहर छ। अध्ययन अनुसार गएको हिउँदयामदेखि चालु मनसुनकालसम्म वर्षा सक्रिय हुनुको पछाडि मुख्यतया दुई वटा प्राकृतिक प्रक्रिया रहेको छ। एउटा उत्तरी गोलार्द्धको उत्तरी भेकतिर ‘पोलार भोर्टेक्स’को उत्पत्ति हुनु हो भने अर्को भू-मध्यरेखास्थित प्रशान्त महासागरको पूर्वी भेकको सतहको पानीको तापमान औसतकै हाराहारी पुग्नु वा सोभन्दा तल झर्नु हो।


गएको हिउँदयाममा उत्तरी गोलार्द्धको उत्तरी भेग, जहाँ हिउँले भरिएको छ, त्यहाँ एक किसिमको चीसो हावाको भुमरी, जसलाई ‘पोलार भोर्टेक्स’ भनिन्छ, देखा परेको थियो। यसको उत्पत्ति हुनेबेला दक्षिण एसियामा चल्ने पश्चिमी वायु प्रभावित हुने गर्छ। सामान्यतया ‘पोलार भोर्टेक्स’ देखापर्ने बेला उत्तरी गोलार्द्धको उत्तरी भेगबाट चीसो वायु दक्षिणतिर धकेलिन्दै तेजले बहने हुँदा यसले पश्चिम वायुलाई सक्रिय बनाई युरोप लगायत दक्षिण एसियाको विभिन्न स्थानमा जाडो मौसमी गतिविधि भित्र्याउने र वर्षा तथा हिमपात गराउने गर्छ। यही मौसमी गतिविधि देखा परेको कारण गएको हिउँदमा नेपाल लगायत दक्षिण एसियामा हिउँदे वर्षा औसतभन्दा बढी हुन पुग्यो भने प्रशस्त मात्रामा हिमपात पनि भयो। हिउँद यामको अन्त्यसम्म पनि देखा परेको यो मौसमी प्रक्रियाको प्रभावको कारण नेपालमा चालु मनसुनको पूर्वाद्धमा पनि चीसो मौसमी गतिविधिको साथै वर्षा र उच्च पहाडी भेगमा हिमपात महसुस भएको थियो।
त्यस्तै चालु मनसुनकालमा भू-मध्यरेखास्थित प्रशान्त महासागरको पूर्वी भेकको सतहको पानी औसत तापमानभन्दा तल गई चिसिन थालेकोले मनसुनमा बदलाव आएको वैज्ञानिकहरुको ठहर छ। वैज्ञानिक अध्ययन अनुसार भू-मध्यरेखास्थित प्रशान्त महासागरको पूर्वी भेगको सतहको पानी औसत तापमानभन्दा माथि वा तल हुनु स्वाभाविक प्रक्रिया भए पनि यसले दक्षिण एसियामा चल्ने मनसुनलाई प्रभाव पार्ने गर्छ। यस्तो अवस्थामा प्रशान्त महासागरको पूर्वी भेगको सतहको पानी औसत तापमानभन्दा बढी तात्ने बेला दक्षिण एसियाको विभिन्न स्थानमा मनसुन कमजोर भई मौसम सुख्खा हुने गर्छ। यस्तो मौसमी प्रक्रियालाई ‘इलनिनो’ भनिन्छ। त्यस्तै, औसत तापमानभन्दा कम भई पानी चिसिने बेला मनसुन सक्रिय भई बर्षा वृद्धि हुने गर्छ। यस्तो प्रक्रियालाई ‘लानिना’ भनिन्छ।
चालु मनसुनकालमा भू-मध्यरेखास्थित प्रशान्त महासागरको पूर्वी भेगको सतहको पानी औसत तापमानकै हाराहारी वा सोभन्दा केही तल झरेकोले नेपाल लगायत दक्षिण एसियाको विभिन्न स्थानमा बर्षामा बृद्धि भएको अध्ययनले देखाएको छ। र यसरी तापमान औसतभन्दा तल झर्ने प्रक्रिया आउँदो हिउँदसम्म देखिने सम्भावना ५० देखि ५५ प्रतिशत रहेको अमेरिका स्थित नेशनल ओसनिक एण्ड एट्मसफेरिक एडमिनिष्ट्रेसनले जनाएको छ। जसले गर्दा चालु मनसुनको अन्त्यपश्चात आउँदो हिउँदमा पनि वर्षाको सम्भावना रहेको अनुमान गर्न सकिन्छ।
यसै सन्दर्भमा दक्षिण एसियाको लागि हावापानी अध्ययन गर्ने संस्था साउथ एसियन क्लाइमेट आउटलुक फोरमले चालु मनसुनकालमा दक्षिण एसियाको धेरैजसो स्थानमा वर्षा औसतकै हाराहारी वा सोभन्दा बढी हुन सक्ने पूर्वानमान गरेको थियो। र नेपालमा पनि वर्षा औसतकै हाराहारी हुने पूर्वानमान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।