बिपी कोइराला चिन्तन, कार्यक्रम, दृढसंकल्प र विश्वका राष्ट्रहरूसँगको सहकार्यका आधारमा जननायक बनेका हुन्। कार्यकर्ताले माया र सम्मानका रुपमा जननायक भनेका होइनन्। यो कुरा यहाँ मैले किन गरेको हो भने प्रत्येक पार्टीका अलिकति काम गर्ने मान्छेलाई यस प्रकारका उपाधिहरू त्यस पार्टीका कार्यकर्ताहरूले दिने गरेका छन्। यही परम्पराको पालना भएको हो कि भन्ने भ्रम कसैलाई नपरोस्।
बिपी कोइराला आफ्ना प्रजातान्त्रिक समाजवादी चिन्तन र समानता, स्वतन्त्रता, विश्वबन्धुत्व तथा राजनीतिक निर्णयका लागि अद्वितीय व्यक्तिका रुपमा नेपालमा मात्र हैन विश्व घटनाकै कतिपय सन्दर्भमा स्थापित भएका व्यक्तित्व हुन्।
आजका प्रायः आफूलाई नेता हुँ भन्नेहरू अल्पप्रगल्भित अवस्थामा बर्बराउन थालेका देखिन्छन्। २००७ सालको क्रान्तिको नेतृत्व, २०१५ सालको चुनावको अभियान, सगरमाथा विवादलाई वार्ताद्वारा सल्टाउने साहस, जसको जोत उसको पोत र राष्ट्रिय योजना आयोगमा खेतमा हलो जोत्तै गरेको टोपी फाटेर टुप्पी निस्किएको किसानको फोटो राखेर राष्ट्रिय लक्ष्य निर्धारण गर्ने उदारता र साहस उनीपछिका कुनै शासकमा देखा नै परेन भन्दा अतिशयोक्ति नहोला।
डा. डीला संग्रौला (पन्त)आज भाद्र २४, यही दिन विश्वनाथको काखमा नेपालको एउटा सपुतले जन्म दिएको थियो। पशुपतिको नासो विश्वनाथको आँगनमा देखिएको थियो। यो कुरा पनि मैले यसै भनेको होइन, बेलायती उपनिवेशका बन्धनमा रहेको भारत, भारतीय स्वतन्त्रता संग्राममा भाग लिएर नेपालको पारिवारिकतन्त्रलाई समाप्त गरी संवैधानिक राजतन्त्र अन्तर्गत प्रजातान्त्रिक समाजवादी कार्यक्रमलाई इमान्दारीपूर्वक राजनीतिको मैदानमा जनताको समर्थन लिएर यी कार्यहरू गर्न अघि सरेको पनि उहाँ एक्लो नेता हुनुहुन्छ।
यस किसिमले दूरदृष्टि राखेर सामान्य जनतालाई आफ्नो पक्षमा लिएर देशका शोषक, सामन्त तथा हैकमवादी प्रवृत्तिका विरुद्ध यस किसिमले लड्ने साहस नेपालमा बिपीले देखाउनु भयो।
चीनमा सन्यात्सेनले देखाएका थिए भने भारतमा महात्मा गान्धीले प्रदर्शन गरेका थिए। गान्धी, सन्यात्सेन, बिपी र नेहरूपछि चीनले देङ्साओपिंग जसले महान राष्ट्रवादी नेता पाए पनि सी जिनपिङले फेरि संकीर्णताको जन्जिरमा देश प्रत्यावर्तन गराए। भारतमा गान्धी र नेहरूले स्थापना गरेको जनताप्रति उत्तरदायी पूर्ण प्रजातान्त्रिक संसदीय व्यवस्था केही घुम्तीका साथ अगाडि बढिरहेको छ भने नेपालमा बिपीकै उत्तरदायी संस्था र व्यक्तिहरूमा अतिलालसा र निष्क्रिय राजनीतिक प्रवृत्तिका कारण आज एकदलीय अधिनायकवादी मूल उद्देश्य राख्नेका हातमा पुगेर देश, जनता र जनताप्रति उत्तरदायी संसदीय प्रजातन्त्रका मूल्य पद्धतिहरू अन्योलग्रस्त बनेका छन्।
यो अन्योललाई चिर्न त्यो प्रतिभाको चिन्तन, अडान र उसले आफ्नो जीवनमा प्रदर्शन गरेका व्यावहारिक तथा सैद्धान्तिक निष्ठाका प्रति इमान्दार बनेर नेपाली कांग्रेसले अंगीकार गरेको प्रजातान्त्रिक समाजवादलाई नेपाली जनताका घरदैलामा निष्ठाका साथ नपुर्याउने हो भने यो भास्वर आत्माप्रति ओठे श्रद्धाञ्जली व्यक्त गर्नु र देखावटी कार्यक्रमहरूको आयोजना गर्नुको कुनै अर्थ रहने छैन। कंशले झैं आफ्ना पितालाई जेलमा हालेर सर्वोच्च पद हडप्ने प्रवृत्तिले प्रजातन्त्र होइन, मूल्य होइन, मूल्यविहीनता, एकदलीयता, अधिनायकवादी चरित्रको मात्र विकास हुन्छ।
बिपी कोइरालाको जुन निष्ठा र आदर्शले मुलुकमा प्रजातन्त्रको संस्थागत विकासमा आफ्नो तर्फबाट योगदान दिएका थिए, त्यसको उच्च मूल्यांकन हुनुपर्दथ्यो।
बिपीका बारेमा धेरै कोणबाट अध्ययन अनुसन्धानहरू भएका छन्। ६८ वर्षको बिपीको जीवनको बाल्यकालदेखि सबै समयले हामी नेपालीलाई केही न केही प्रेरणा दिई नै रहेको छ। बिपीको जीवन अवधिभन्दा उनको अवशानपछिको समयले राष्ट्रिय जीवनमा, उनको सिद्धान्त, उनको आदर्श र मूल्य, मान्यता, राजनीतिक, सामाजिक एवं साहित्यिक क्षेत्रमा उनको योगदानको अझ बढी प्रकाशित र प्रभाषित हुन पुगेको छ।
बिपी कोइरालाको जुन निष्ठा र आदर्शले मुलुकमा प्रजातन्त्रको संस्थागत विकासमा आफ्नो तर्फबाट योगदान दिएका थिए, त्यसको उच्च मूल्यांकन हुनुपर्दथ्यो। तर, सिद्धान्तमा जे कुरा भए पनि व्यवहारमा पुष्टि हुन सकेको छैन। बिपी प्रजातान्त्रिक समाजवादको माध्यमबाट नेपालको विकास गर्न चाहन्थे। संवैधानिक राजतन्त्र नेपालको लागि अपरिहार्य बताउँदै आएका बिपीले राजाको र मेरो घाँटी सँगै जोडिएको छ भनी संवैधानिक राजतन्त्र नेपाल जस्तो मुलुकको लागि अपरिहार्य भएको कुरा बताउनु भएको हो। तर, राजाले संवैधानिक रुपमा नरही निरंकुश बन्न खोज्दा अन्ततोगत्वा राजतन्त्रलाई समाप्त हुन पुगेको हो।
बिपीको सपना लोकतन्त्र र समाजवादको माध्यमबाट नेपाली जनतालाई आफू जस्तै एक मध्यमवर्गीय परिवारको लागि चाहिने आधारभूत शिक्षा, स्वास्थ्य, गाँस बासको समुचित व्यवस्था हुन सकोस् भन्ने थियो। तर, बिपीले अंगीकार गरेको बाटोलाई नेपाली कांग्रेस र अन्य दलले समेत आत्मसात गर्न नसक्दा नेपाल अहिले भूमरीमा परेको अनुभूत हुन पुगेको छ। प्रत्येक राजनीतिक दलहरूमा आपसी झगडा, सत्तालोलुपता र जसरी पनि कमाउ भन्ने प्रवृत्तिको विकासले नेपाली जनता मर्माहत भएका छन्। जताततै निराशाको बादल मडारिन पुगेको छ। राजनीतिक नेतृत्वहरू इमान्दार बन्न नसक्दा संघीय संरचना अन्तरगत बनेको सरकारप्रति जनताको विश्वास क्रमशः गुम्दै गएको अवस्था छ। लोकतान्त्रिक मूल्य, मान्यताहरू भत्किदै गएका छन्।
बिपीले अंगीकार गरेको परराष्ट्र नीतिअनुरुप नेपालका राजनीतिक नेतृत्वले व्यवहारमा उतार्न नसकेको परिस्थिति छ। राष्ट्रियता केवल सैद्धान्तिक निष्ठा मात्र बन्न पुगेको छ।
बिपी कोइरालाले अंगीकार गरेको परराष्ट्र नीतिअनुरुप नेपालका राजनीतिक नेतृत्वले व्यवहारमा उतार्न नसकेको परिस्थिति छ। राष्ट्रियता केवल सैद्धान्तिक निष्ठा मात्र बन्न पुगेको छ। राज्यका हरेक निकायहरूमा भ्रष्टाचारको जालो दिनानुदिन बढिरहेको वा संस्थागत भइरहेको कुरा आम सञ्चार माध्यममा आई नै रहेको छ। यस्तो कहालीलाग्दो महामारीको अवस्थामा पनि नेपालको राजनीतिक नेतृत्व जनताप्रति जवाफदेही र उत्तरदायी बन्न सकिरहेको छैन।
बिपीले स्थापना गरेको नेपाली कांग्रेसको चौधौं महाधिवेशन संघारमा उभिएको छ। त्यसैगरी नेकपाभित्र पनि सत्तासंघर्ष र पार्टीभित्रको विवादले दिनहुँ सञ्चारमाध्यममा आएको खबर सुन्दासुन्दा नेपाली जनतामा एकातर्फ निराशा र अर्कोतर्फ विद्रोहको भावना जागृत भइसकेको अवस्था छ। यसले नेपाल र नेपालीलाई कहाँ पुर्याउँछ, यसै भन्न सक्ने परिस्थिति छैन।
मूलतः नेपाली कांग्रेस आजको परिस्थितिमा अत्यन्तै जिम्मेवार भई नेपाली जनता समक्ष प्रस्तुत हुन आवश्यक छ। नेपाली कांग्रेसले एकातर्फ पार्टीलाई चुस्तदुरुस्त बनाउँदै युग सुहाउँदो पार्टी संगठनलाई नयाँ उर्जाको साथ नेतृत्व चयन गर्नुको अलावा पार्टी संगठनलाई लोकतान्त्रिक मूल्य मान्यता अनुरुप अगाडि बढाउन आवश्यक छ भने अर्कोतर्फ संसदमा प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउँदै सरकारलाई सचेत गराउन चुक्नु हुँदैन।
नेपालको सन्दर्भमा राष्ट्रवाद के हो? समाजवाद के हो? नेपालको अर्थतन्त्र जस्तो हुनुपर्ने र नेपालमा कस्तो किसिमको प्रजातन्त्रले नेपाली जनतालाई माथि उकास्न सकिन्छ? भन्ने यावत कुरामा बिपीमा प्रष्ट रुपमा दुरदर्शिता झल्किएको थियो। तर, आजका नेपाली राजनीतिमा देखिएका नेतृत्व वर्गले त्यस किसिमको सोच र दृष्टिकोण नेपाली जनतामा पस्कन सकेका छैनन्।
साँच्चीकै बिपी नेपाली राजनीतिमा मात्र नभएर विश्वले मानेको नेताका रुपमा परिचित हुनुहुन्थ्यो। जसले गर्दा बिपीले दिएको दृष्टिकोण र विचारलाई उहाँको निधन पश्चात्का नेताहरूले बिँडो थाम्न असमर्थ भएका छन्। वर्तमान समय अत्यन्तै फेरिएको अवस्था छ। विज्ञान तथा प्रविधिको विकासले प्रत्येक राष्ट्रलाई एकअर्कोमा निर्भर भएर जानुपर्ने अवस्था सिर्जना भएको छ। संसार अत्यन्तै नजिक बन्न पुगेको छ, प्रत्येक राष्ट्र र व्यक्ति समेतको लागि।
बृहत्तर एकता गरी सबै प्रजातन्त्रप्रेमीहरूलाई एकाकार गर्दै लोकतान्त्रिक मूल्य, मान्यतालाई जगेर्ना गर्नु बिपीका अनुयायीहरूको कर्तव्य पनि हो।
विश्वभर नै लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने दलले सत्ता सञ्चालन गरिरहेको अवस्थामा भने नेपालमा एकदलीय तानाशाही परिपाटीमा विश्वास राख्ने दललाई सरकार चलाउने जिम्मेवारी हुँदा यसले गरेका समग्र क्रियाकलाप र निर्णयहरूले नेपाली समाज र लोकतान्त्रिक मूल्य पद्धति समेतलाई नकारात्मक सन्देश दिइरहेको यो अवस्थामा बिपीको विचार र दृष्टिकोण आज पनि त्यत्तिकै समय सान्दर्भिक नै रहन पुगेको छ।
यसो भएकाले बिपी कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गर्दा प्रत्येक कांग्रेसीले वर्तमान अवस्थामै नेपाली कांग्रेस रहने हो, पार्टीका हामी सबै कार्यकर्ता एवम् नेताहरूले एकअर्काको अस्तित्व स्वीकार नगर्ने र मनपरी तरिकाले चल्ने यही शैली अवलम्बन गर्दै जाने हो भने नेपाली कांग्रेस सुनौलो इतिहास भएको पार्टी मात्र हुनेछ। यसमा हामी सबै सचेत रहन आवश्यक छ। बृहत्तर एकता गरी सबै प्रजातन्त्रप्रेमीहरूलाई एकाकार गर्दै लोकतान्त्रिक मूल्य, मान्यतालाई जगेर्ना गर्नु बिपीका अनुयायीहरूको कर्तव्य पनि हो।
यिनै शब्दका साथ तमाम नेपाली कांग्रेसीजन, नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संघ तथा संगठनहरू र बिपीको प्रजातान्त्रिक समाजवादप्रति आस्थाशील नेपाली दाजुभाइ दिदीबहिनी, किसान, मजदुर, नेता, कार्यकर्ता सबैले प्रजातन्त्रका विरुद्ध मानवीय स्वतन्त्रताका विरुद्ध हाम्रो परम्परित नैतिक, सांस्कृतिक संस्कार तथा रीतिरिवाजका विरुद्ध सल्वलाउँदै गरेका हातहरूलाई हाँक्ने हिम्मत देखाउन सक्नुपर्दछ। अन्यथा प्रजातान्त्रिक हक अधिकार गुमेपछि हामी पश्चातापको नूनिलो आँशु पिउन बाध्य हुने छौं।
आउनुहोस् साथीहरू हो, आजको पवित्र दिनमा संकल्प गरौं, हामी कसैले मुख हेर्दैनौं। हामी केवल देश र जनतालाई देख्दछौं। लोकतन्त्रले अवलम्बन गर्ने उदारता, शीतलता, सर्वस्वीकार्यता जस्ता मूल्य पद्धतिहरूमा नै हाम्रो ढुकढुकी हुनेछ। हामी कसैका थोत्रा भाषण र कपटपूर्ण बोली व्यवहारमा हैन, लोकतान्त्रिक मूल्य मान्यताले अंगीकार गरेको विश्वबन्धुत्व, स्वतन्त्रता, भाइचाराको सम्बन्ध र सम्पूर्ण मानवसँगको मैत्रीपूर्ण एकता र निर्भिक भएर आफ्ना निर्णय गर्ने स्वतन्त्रतातर्फ एकतावद्ध भएर उभियौं भनी संकल्प गरौं। हामीलाई आजको दिनले र बिपीका विचारले त्यतैतिर लाग्न अभिप्रेरित गरिरहेको छ झैं लागेको छ मलाई।
बिपीको चिन्तन र आदर्शको बाटोले हामीलाई सधैंभरि झक्झकाइरहोस्। लोकतान्त्रिक मूल्य मान्यताको माध्यमबाटै देश र जनताको सर्वत्तोमुखी विकासमा सम्पूर्ण नेतृत्ववर्ग इमान्दारिताका साथ लाग्ने सद्बुद्धि हामी सबैको आओस्। श्रद्धेय बिपीप्रति हार्दिक श्रद्धाञ्जली !
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।