काठमाडौं– तीनकुनेको एउटा घरमा भएको आगजनीलाई लिएर पत्रकार एवं धार्मिक अभियन्ता एनी कुँवर पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएका प्रहरीले आज पक्राउ गरेका हुन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडिओमा आगजनी भएको घरको भर्याङबाट एनी ओर्लिरहेको देखिएको थियो । सोही घरमा पत्रकार सुरेश रजक जलेका थिए । कतिपयले घटनामा एनीको संलग्नता हुन सक्ने आशंका गरिरहेका छन् । एनीले भने आफूले त्यसबेला सुरेशलाई नदेखेको दाबी गरेकी थिइन् ।
आगो कसले झोस्यो भन्ने पुष्टि नभए पनि घरभित्र प्रवेश गरेका सबैलाई अनुसन्धानमा तानिएको प्रहरीले जनाएको छ । एनी एभिन्युज टिभीकी पूर्वपत्रकार हुन् । हाल उनी राजावादी अभियान तथा धार्मिक अभियानहरूमा सक्रिय छिन् ।
उनले आफूले घरभित्र पानी हाल्दै गरेको तथा बाहिरबाट लाइभ गरेर गुहार मागेको भिडिओ सार्वजनिक गर्दै आफू निर्दोष रहेको बताइरहेकी थिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।