काठमाडौं- सरकारले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सवारी साधानमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५० हजार डलरभन्दा बढीका सवारी साधनमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।
कूटनीतिक निकायका सवारी खरिदमा अप्ठ्यारो परेकोले फुकुवा गर्ने निर्णय गरिएको उनको भनाइ छ।
सरकारले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण निर्यात तथा पर्यटन क्षेत्रबाट हुने विदेशी मुद्रा आर्जन घटेको भन्दै विलासी कारको आयातमा प्रतिबन्ध लगाएको हो। चैत तेस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो।
सवारी आयातकर्ताले ५० हजार अमेरिकी डलर (खरिद बिजकका अधारमा)भन्दा बढी मूल्यका सवारी साधन खरिद गरेर नेपाल ल्याउन पाएका थिएनन्।यसको प्रत्यक्ष असर टोयोटा, ल्यान्डरोभर, टेस्ला, अउडी तथा बिएमडब्लूलाई परेको थियो।
यस्तै तयारी मदिराको आयात पनि खुला गर्ने निर्णय गरिएको उनले बताए।
बिहीबारकै मन्त्रिपरिषद् बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिको अध्यक्ष पदमा अर्थ मन्त्रालयका राजश्वतर्फका सचिव रामशरण पुडासैनीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी कीटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र विकास समितिको अध्यक्षमा डा वशिष्ठ प्रसाद रिजाललाई नियुक्त गरिएको छ भने सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा डा बाबुराजा अमात्य नियुक्त भएका छन्। औषधी परामर्श परिषदका सदस्यहरुमा संघरत्न बज्राचार्य,बाबुराम हुमागाई, दिपकप्रसाद दाहाल नियुक्त गर्ने निर्णय भएको समेत मन्त्री ज्ञवालीले जानकारी दिए। यसैगरी राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्र विकास समितिको अध्यक्षको जिम्मेवारी डा देवबहादुर रोका क्षेत्रीलाई दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।