काठमाडौं–देशको पहिलो सडक सुरुङ नागढुंगा–नौबिसे सुरुङ मार्गको निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ। निषेधाज्ञामा रोकिएको काम असोज लागेसँगै सुरु भएको थियो। सो सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा–आन्दो कर्पोरेशनले पाएको हो।
गत कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गरेका थिए। प्रधानमन्त्रीले शिलान्यास गरे पनि मुआब्जा विवाद, स्थानीयको अवरोधलगायतका कारण काम अगाडि बढ्न लामो समय लागेको थियो। फागुनबाट निर्माण थालिएको सुरुङको काम कोरोना संक्रमण जोखिमका कारण चैत ११ देखि गरिएको लकडाउनपछि रोकिएको थियो।
लकडाउन खुलेसँगै सुरु भएको काम असोज ३ देखि जारी निषेधाज्ञाले पुनः रोकिएको थियो। अहिले सुरुङ मार्ग निर्माणले गति लिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए। ‘हाल सुरुङ मार्ग निर्माणले तिब्रता लिएको छ,’ उनले भने, ‘धादिङतर्फ काम तीव्र रुपमा भइरहेको छ। अबको केही समयमा नागढुंगाबाट पनि काम सुरु हुन्छ।’
सुरुङ मार्ग निर्माणका लागि जापानबाट गत साता सुरुङ विज्ञ, इन्जिनियर, प्राविधिकसहितको टोलीले नेपाल आएको थियो। उनीहरुको क्वारेन्टाइन अवधि पुरा भएलगत्तै फिल्डमा जाने छन्। उनीहरु आएसँगै नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाको मुख्य सुरुङमार्गको कामले तिब्रता पाउने महानिर्देशक शर्माले बताए।
नागढुंगा–नौबिसे सुरुङ मार्गको शिलान्यास भएको करिब १ वर्ष बितिसकेको छ। हालसम्म सुरुङमार्ग बाहिर बन्ने संरचनाको मात्रै काम भइरहेको थियो। माटो भर्ने, कल्भर्ट बनाउने र आवश्यक संरचना बनाउने लगायतका कामहरु भइरहेका छन्। अब भने मुख्य सुरुङ निर्माणको काम हुनेछ।
सुरुङ खन्नका लागि आवश्यक पर्ने अधिकांश उपकरण तथा सामग्रीहरु साइटमा पुगिसकेको आयोजनाले जनाएको छ। साइटमा रहेको चट्टान फोर्नका लागि विस्फोटक पदार्थ ल्याउन आयोजनालाई सरकारले स्वीकृति प्रदान गरिसकेको छ। सुरुङमार्ग खन्ने काम धादिङबाट सुरु गरिएको छ। पानीको सिपेज र अन्य प्राविधिक कारण धादिङ साइटबाट काम थाल्न लागिएको हो। धादिङबाट काम सुरु भएपछि काठमाडौंतिरबाट पनि काम गर्न सकिने आयोजनाको भनाइ छ।
४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा हाल डेढसयभन्दा बढीले काम गरिरहेका छन्। यो सुरुङ मार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको हो।
शिलान्यास भएको केही महिना काम नभएको र लकडाउन तथा निषेधाज्ञाले सुरुङ मार्गको काम प्रभावित भएकाले आयोजना पूरा हुन निर्धारित मितिभन्दा केही पछाडी धकेलिने सम्भावना छ। २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो सुरुङमार्गमा जापान सरकारको १६ अर्ब रुपैयाँ सहुलियत ऋण र ६ अर्ब नेपाल सरकारले बेहोर्ने छ।
सुरुङमार्ग चन्द्रागिरि नगरपालिका–१ टुटीपाखाबाट धादिङको धुनिबेंसी नगरपालिकाको सिस्नेखोला निस्कनेछ। यो सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर हुनेछ। दुई लेनको सुरुङ मार्गसँगै समानान्तर हुनेगरि स्केप्ट टनेलसमेत निर्माण हुनेछ। जुन प्रत्येक २५० मिटरमा मुख्य सुरुङमार्गसँग भित्र–बाहिर गर्न मिल्नेगरि जोडिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।