काठमाडौं- सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा कडाइ गर्न थालेको छ। तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्नेगरी नटाँसेको र बढी भाडा लिएको पाइएमा सवारी धनीलाई कारबाही गरिने समितिले जनाएको छ।
सवारी तथा यातायात व्यवस्था ऐनले पनि सवारीसाधनमा भाडादर राख्नुपर्ने व्यवस्था गरेको छ। समितिले सडकको अवस्था, यातायात व्यवसायीको लगानी र समस्या, उपभोक्ताको क्रमशक्ति आदिलाई मध्यनजर गरी साविककै भाडादर कायम गर्ने निर्णय गरेको समितिका सदस्य सचिव एवं यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारिसिङ्ग थापामगरले जानकारी दिए।
‘सवारीसाधनमा भाडादर टाँस्नुपर्ने नियम पहिल्यै आएको भएपनि कार्यान्वयनमा आउन सकिरहेको थिएन, अब अनुगमन बढाउँछौं,’ उनले भने, ‘अनुगमनमा कमजोरी भेटिएमा कानुनअनुसार कारबाही हुन्छ।’ यातायात समिति र व्यवसायीलाई पनि राखेर भाडादरबारे उठेका गुनासा समाधानका लागि पहल र समन्वय गरिने प्रमुख थापामगरले बताए।
समितिले कोरोना सङ्क्रमणको जाखिमलाई ध्यानमा राखी सवारीसाधनमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न÷गराउनसमेत सरोकार भएका सबै पक्षलाई अनुरोध गरेको छ। यातायात व्यवस्था कार्यालय, जिल्ला ट्राफिक कार्यालयलगायतका सरोकार भएका निकाय मिलेर स्वास्थ्य मापदण्ड पालना भए/नभएकोबारे अनुगमन गर्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।