काठमाडौं- युरोपियन फुटबलमा कोरोनाले अप्ठ्यारो पारेको फुटबल सिजन सामान्य अवस्थामा फर्कने प्रयासमा छ। यो सिजनको खेल झण्डै आधातिर पुग्दा अहिले पुनः खेलाडी किनबेचको चर्चा हुन थालेको देखिन्छ। मैदानबाहिरको यो खेलमा पहिले नै क्लब छाड्ने तयारीमा रहेका खेलाडी र केही नयाँ नाम किनबेचको चर्चामा छ।
इंग्लिस प्रिमियर लिग, फ्रेन्च लिग वान र जर्मन बुन्डेस लिगामा जनवरी २ बाट सुरु हुने किनबेचको समय फेब्रुअरी १ सम्म रहनेछ। स्पेनिस ला लिगा र इटालियन सिरि ए मा भने किनबेचको समय जनवरी ४ मा सुरु हुनेछ। जसमा खेलाडी किनबेचका साथै ‘लोन’ मा समेत सम्झौता हुन सक्नेछ।
खेलाडी किनबेचको गएको समय कोरोनाले थलिएको फुटबल बजारका कारण प्रभावित बनेको थियो। ठूला भनिएका क्लबले पनि आफूले चाहेजस्तो गरी रकम खर्च गर्न सकेनन्। जसले अहिलेको समयमा पनि केही क्लबका लागि त्यही मुस्किल समय चलिरहेको छ। खेलाडी किनबेचको योजनालाई क्लबको आर्थिक अवस्था र खर्च गर्न पाउने रकमको सीमाले असर गरिरहेको छ।

यो सिजनको अन्त्यमा सम्झौता सकिने बार्सिलोना स्टार खेलाडी लियोनल मेस्सीले जनवरीमा कुनै क्लबसँग पूर्वसम्झौता गर्छन् भन्ने अनुमान चलिहरेको थियो। तर सिजनको अन्त्यसम्म मेस्सी त्यो सोचमा हुने छैनन्। उनले बार्सिलोनामा नै जितका लागि मेहनत गरिरहेको बताएका छन्। मेस्सीलाई लैजाने सम्भावित क्लबमा म्यानचेस्टर सिटी र पिएसजी अगाडि देखिन्छन्। बार्सिलोनामा जनवरी २४ मा सकिने अध्यक्षको नयाँ चुनावसँग मेस्सीले के गर्लान् भन्ने प्रश्न जोडिएको छ।

मेस्सी जस्तै प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्युरोको सम्झौता पनि यसै सिजनको अन्त्यमा नै सकिँदैछ। अहिले बारम्बारको चोटका कारण समस्यामा रहेका अग्युरो सिटीले उपाधि जितेको समय महत्वपूर्ण खेलाडी थिए। उनका एजेन्ट हेर्नान रेग्युराले पनि अग्युरोको समय यसै हुने भन्ने स्पष्ट बताएका छैनन्। समय आएपछि सबै कुरा थाहा हुने उनको भनाइ छ। प्रशिक्षक पेप गार्डिओलाको समय थपिएसँगै अग्युरोले सिटीमा नै थप एक वर्षको सम्झौता गर्ने पनि बताइएको छ।
:focal(1196x261:1198x259)/origin-imgresizer.eurosport.com/2020/10/08/2910302-59819048-2560-1440.jpg)
प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोउल पोग्बाले पनि क्लब छाड्दैछन् भन्ने चर्चा खुबै छ। गएको महिना एजेन्ट मिनो रायोलाले पोग्बा क्लबमा खुसी नरहेको बताएसँगै उनले छाड्ने बारेको अनुमान बढिरहेका छन्। यो सिजन म्यानचेस्टर युनाइटेडबाट १९ खेल खेलेका उनले के चाहन्छन् भन्ने स्पष्ट छैन। तर महत्वपूर्ण क्लबहरुले इच्छा देखाए उनी नयाँ प्रयोगका लागि इच्छुक छन्। सिजनको अन्त्यमा सम्झौता सकिने पोग्बाका लागि म्यानचेस्टर युनाइटेडमा नै अर्को एक वर्ष पनि सुरक्षित भने देखिन्छ।

जर्मन क्लब बायर्न म्युनिकका डिफेन्डर डेभिड अलाबा पनि क्लब छाड्ने अवस्थामा देखिन्छन्। गएको सिजन बायर्न म्युनिकका तेहोरो उपाधि जितेका अलाबा म्यानचेस्टर युनाइटेड, म्यनाचेस्टर सिटी, चेल्सी, बार्सिलोना, रियल मड्रिड र पिएसजी जस्ता ठूला क्लबसँग कुराकानीमा छन्। बायर्न म्युनिकसँगको सम्झौतामा अन्तिम वर्षमा रहेका अलाबाले जनवरीमा नै कुनै क्लबसँग सम्झौतामा पुग्ने सम्भावना बढी छ।

स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर इस्कोले क्बल छाड्ने हल्ला बढिरहेका छन्। तर प्रशिक्षक जिनेदिने जिदानले अहिलेको समय कुनै पनि खेलाडी नबाहिरिने तर्क गरिरहेका छन्। क्लबमा रहेका सबै खेलाडी आफ्नो योजनाभित्र परेको जिदानको भनाइ छ। तर उनले अहिले आफ्नो महत्वपूर्ण खेलाडीका रुपमा मैदानमा इस्कोको प्रयोग गरिरहेका छैनन्। क्लबमा उनको सम्झौता २०२२ सम्म रहे पनि खेल समयका कारण उनले नयाँ क्लब रोज्ने अनुमान भइरहेका हुन्।

जनवरीमा किनबेचका लागि इटालियन क्लब इन्टर मिलानका क्रिष्टियन इरिक्सनको नाम बाहिर आइसकेको छ। प्रिमियर लिग क्लब टोटनह्यामबाट १२ महिना पहिले मात्र इन्टर मिलान गएका इरिक्सनले आफ्नो प्रभाव राम्ररी पार्न सकेनन्। इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेसँग अहिले उनको सम्बन्ध राम्रो देखिँदैन। पहिलो टिममा रहेर नियमित फुटबल खेल्ने चाहनाले नै उनले जनवरीमा नै अर्को क्लब रोज्ने देखिन्छ। टोटनह्याममा रहँदा ‘प्लेमेकर’ का रुपमा देखिएका उनी अहिले उही अवस्थामा फर्कन चाहन्छन्।

प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर जर्जिनियो विज्नाल्डम क्लब छाड्ने मनस्थितिमा देखिन्छन्। स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले उनलाई लैजाने इच्छा देखाइरहँदा बार्सिलोनामा परेको आर्थिक अभावले समस्या आइपरेको थियो। उनलाई लैजान इटालियन क्लब इन्टर मिलानले पनि इच्छा देखाइरहेको छ। च्याम्पियन्स लिगको खराब खेलपछि इन्टर मिलान खेलाडी परिवर्तनको राम्रो तयारीमा देखिन्छ।

अहिले प्रिमियर लिग क्लब आर्सनलमा मेसट ओजिलको समय राम्ररी बितिरहेको छैन। प्रशिक्षक मिकेल अर्टेटाको योजनामा उनी अटाएका छैनन्। घरेलु लिग प्रतियोगिता र युरोपियन प्रतिस्पर्धामा पनि उनी टिममा देखिँदैनन्। २०१४ मा जर्मनीबाट विश्वकप विजेता खेलाडी ओजिल आर्सनलमा धेरै कमाउनेमध्येका खेलाडी हुन्। तर अब उनी नयाँ बाटोमा खोजीमा देखिन्छन्। ठूला भनिएका क्लबबाट प्रस्ताव नआएको अहिलेको अवस्थामा ओजिलले यसै गर्छन् भन्ने स्पष्ट देखिँदैन।

यो समय सबैभन्दा चर्चामा रहेको विषय ह्यारी केनलाई म्यानचेस्टर सिटीले लैजान गरिरहेको प्रयास पनि हो। प्रिमियर लिगमा प्रतिस्पर्धी क्लबमा हुने अनुमान भइरहेको यो ट्रान्सफर अहिलेको समयमा सबैभन्दा ठूलो हुनेछ। म्यानचेस्टर सिटीमा सर्जियो अग्युरोको समय अन्तिमतिर पुगिरहँदा उनको स्थानमा ह्यारी केनलाई ल्याउने छलफल चलिरहेको हो। हल्लाका रुपमा आइरहेको यो खबरमा सिटीले केनका लागि १२३ मिलियन डलर प्रस्ताव गर्ने बताइएको छ।

फ्रेन्च क्लब लियोनका स्ट्राइकर मेमफिस डिपे यसअघि नै बार्सिलोना जाँदैछन् भन्ने चर्चा खुबै चल्यो। बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो प्रमुख योजनामा डिपेलाई लैजाने विषय अगाडि सारेका थिए। तर बार्सिलोनामा पछिल्लो समयको कमजोर आर्थिक अवस्थाले त्यो सफल हुन सकेन। अहिले त डिपेलाई लैजान चाहने क्लबको संख्या थपिएको छ। इटालियन क्लब युभेन्टससँगै म्यानचेस्टर युनाइटेड पनि डिपे चाहिरहेको छ भन्ने खबर आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।