काठमाडौं- ‘अब हेर्नुस्, यो पाला त पहिलाको जस्तो रहेन। एल्ले धेरैलाई लपेट्छ। अरू त बाँच्लान्, हामी झुत्रेलाई कसले बचाउँछ? अब यी आमाले हामीलाई खाना खुवाउने पनि यत्ति नै हो कि जस्तो पो लाग्छ,’ उनको चिन्ता थियो, ‘अरू त बाँच्लान्, कोरोना लागेपछि हामी जस्ताले मर्ने नै हो। त्यसपछि यी आमाले कसलाई खाना खुवाउँछिन्?’
प्रसूतिगृह नजिकको चौरमा खाना खाइसकेपछि सायद मुखमा अड्केका सिता निकाल्न होला, औंला मुखमा घुसार्दै डस्टबिन छेउमा थुक्न आइपुगे कृष्ण थापा। ५३ हिउँद-बर्खा खेपेका उनको शरीर हल्का काम्दो थियो। उनले प्रष्टीकरण दिए- ‘रक्सी खायो भन्नुभा होला बिमारले हो कामेको।’
सायद त्यही भएर होला सिन्धुली ढुंग्रेबासका यी कृष्णले हरेस खाएर माथिका वाक्य हामीलाई सुनाएका।
थापा बल्खुस्थित तरकारी बजारमा भारी बोक्दै आएका थिए। भारी बोकेको पैसाले जेनतेन गुजारा चल्दै थियो। कोरोना माहामारी सुरू भएकाले निषेधाज्ञा लगाउने हल्ला उनले पनि नसुनेका हैनन्। ‘लकडाउन हुन्छ भन्ने त सुनेको थिएँ। घर जाम त भन्दाभन्दै कसकसो भयो जानै पाइएन,’ थापाले सुनाए।
भारी बोकेर जेनतेन गुजारा चलाएका उनको मुखमा माड लाग्न अब गाह्रो भयो।
‘उठ जोगी फट्कार छाला, जहाँ जाला त्यही खाला’ भनेझैं कतै सहयोगी मनहरूले खाना खुवाउँछ भन्ने सुनेका उनी यही मेसोमा खाना खाने ठाउँ खोज्दै थापाथली पुगेका थिए। निषेधाज्ञा सुरु भएदेखि बिहान-बेलुकाको खाना उनी प्रसूतिगृह नजिकको चौरमा खाँदै आएका छन्।

खाना त यहाँ खानुहुन्छ, अनि कोठाभाडा तिर्ने पैसाचाहिँ कहाँबाट जुटाउनुहुन्छ?
उनले आफ्नो वास्तविकता ओकले- त्यही तरकारी बजारमा कार्टुन ओच्छ्याएर सुत्छु, कल्लाई तिर्नुपरो र भाडा!
खाना खाइसकेपछि उनी हिँड्दै आफ्नो गन्तव्य, उही तरकारी बजारतिर जाने बताए। बल्खु-थापाथली, थापाथली-बल्खु गर्दै एक सातादेखि उनको दैनिकी बित्दै आएको छ।
०००
बुधबार दिउँसो साढे ३ बजेतिर प्रसूतिगृह नजिक बागमती नदी छेवैको चौरमा थापाजस्तै झण्डै ५० जना भूइँमा बसेर खाना खाँदै थिए। गैरसरकारी संस्था बन्दी सहायता नेपालकी अध्यक्ष तथा समाजसेवी इन्दिरा रानामगरले यसरी काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा खाना खुवाउन थालेको आज ३८६ दिन भयो। हाम्रो टिम नेपालमार्फत् कोरोनाका कारण लगाइएको लकडाउनदेखि असहाय, मजदुर, गरिबहरूलाई खाना खुवाउँदै आएकी रानामगर अहिले पनि निरन्तर यो कर्ममै छिन्। उनले अहिले दैनिक चार/पाँच सय जनालाई यसैगरी खाना खुवाइरहेकी छन्।
बुधबार पनि उनी सधैंझैँ ट्याक्सीमा खानाको प्याक लिएर दिउँसो ३ बजे थापाथलीको चौरमा पुगिन्। र, सबैलाई एक/एक प्याकेट खाना बाँडिन्।
धरानकी लीना कार्की खुट्टा खोच्याउँदै चौरको एक छेउमा बसेर खाना खाइन्। उनी काठमाडौंमा ज्यामी काम गर्थिन्। करिब दुई महिनाअघि इँटाले लागेको खुट्टा अहिलेसम्म ठीक भएको रहेनछ। सुन्निएको खुट्टा देखाउँदै कार्कीले भनिन्, ‘यही खुट्टाले दु:ख दिएर काम गर्न सकिनँ। आमा (इन्दिरा)ले नै दबाइ गर्दिनुभएको छ। अझै ठीक भएन।’
निषेधाज्ञा सुरू भएपछि काम पनि नपाइने र खुट्टाले पनि दु:ख दिएपछि उनी पनि केही दिनदेखि रानामगरले नै सञ्चालन गरेको खाना अभियानमा सामेल भएर खाना खाँदै आएकी छन्।

कार्कीजस्तै खुट्टाको समस्याले काम गर्न नसकेपछि ध्रुवप्रसाद पाण्डेको दम्पतीले पनि इन्दिराको टिमले बाँड्ने खाना खाँदै आएका छन्। पाण्डेको एक वर्षभन्दा अघि दुर्घटनामा परेपछि खुट्टाले राम्रोसँग काम गर्न सकेन। त्यही कारण गत वर्षदेखि यसैगरी हाम्रो टिम नेपालले बाँड्ने खाना खाँदै आएको उनले बताए।
हाम्रो टिमले निषेधाज्ञासँगै रोजगारी गुमाएकाहरूलाई बिहान ९ बजे र दिउँसो ३ बजेदेखि खाना खुवाउँदै आएको छ।
असहाय, बेरोजगारहरूको व्यवस्थापन गर्नुपर्ने दायित्व बोकेको राज्य निरीह छ। धन्न, इन्दिरा जस्ता मनकारीहरूका कारण बेरोजगार मजदुरहरूले पेट भर्न पाइरहेका छन्।
आफ्नो दायित्वबाट पन्छिने राज्यलाई इन्दिराको काम एउटा गतिलो झापट नै हो। तर, त्यस्तो महसुस गर्ने राज्य भए त..!
‘सहयोग पनि आउँदैन, अब सक्दिन भन्दा घरै घेर्न पुग्छन्’
वैशाख ४ गते झापा जानुपर्ने भएकाले ६ दिनसम्म खाना अभियान रोकियो। म झापाबाट फर्केर आउँदा मेरो घरै घेर्न आइपुगे। त्यसपछि फेरि खाना अभियान सुरू गरेँ। लकडाउन हुने भएपछि सबै स्टाफहरू घर जाने भए। काठमाडौंमा भएका पनि अहिले डराएर पहिलाजस्तो बाहिर हिँडेका छैनन्।
इन्दिरा रानामगर, अध्यक्ष, बन्दी सहायता नेपालपहिला मान्छेहरूमा मानवीयता थियो। कसैलाई दु:ख पर्यो भने केही गरौं भन्ने भावना थियो। अहिले त्यो सोचाइ छैन। सबैजना त्रासमा देखिन्छ। हामीलाई ‘फन्डिङ’ नआएको पनि धेरै भयो। केटीएम रोटरी क्लब र ज्येष्ठ डाक्टरले दिएको रकमबाट एक लाख जनालाई खुवाइयो। अरू अन्त सहयोग मागेर जम्मा पाँच लाख पाँच हजारलाई वैशाख ४ गतेसम्म खुवाइएछ।
फेरि, बीचमा मान्छे आएर चामल, दाल सहयोग गर्न थालेका छन्। तर, पहिलाको जस्तो सहयोग छैन। ३० लाख अफिसबाट खर्च भएको छ। नेपाली घरका राजु श्रेष्ठसँग मैले सहयोग मागेपछि १० बोरा चामल, एक कार्टुन तेल, आधा बोरा आलु सहयोग दिनुभयो। सब्जी पसलका भाइहरूले पनि मलाई आमा भन्छन्। लु छोराहरू फेरि फ्रिमा मलाई सब्जी चाहियो भनेपछि उहाँहरूले पनि सहयोग गर्नुभएको छ।
तर, पहिलाजस्तो छैन। अहिले यिनीहरूले धेरै अत्याएका छन्। एकजनाले नै दुई/तीन वटा प्याक माग्छन्। मैले एउटालाई मात्रै दुई वटा दिएँ भने अर्कोले पनि माग्छ। त्यो गर्दा हिजोमात्रै तीन पटक पकाउनुपर्यो। रातिसम्म खुवाइयो। प्रहरी पनि छक्क परे कति कुद्नुहुन्छ भनेर।

पहिला ‘बर्थडे’ मनाउनेले पनि सहयोग गर्थे। अहिले त्यो छैन। म आफैं माग्दै हिँडुनुपरेको छ। जे सक्नुहुन्छ सहयोग गर्नुस् म पकाएर खुवाउँछु भनेर खुवाउँदै आएको छु। हामीसँग फन्डिङ छैन। ट्याक्सीको भाइलाई भने अफिसबाट तिर्ने गरी मिलाइएको छ।
अहिलेको यो त्रासपूर्ण वातावरणमा सरकारले झन् धेरै ध्यान दिनुपर्नेमा दिएको देखिँदैन। अहिले सरकारले चामल दिएको छैन, पहिला दिएको थियो। हामीलाई गाह्रो भयो। ३८६ दिन खुवाइसकेपछि मैले अब हामी रोक्छौं भनेकी थिएँ। एउटी महिलाले रूँदै भन्नुभयो- मेरो त घर पनि छोरालाई साइन गरेर दिएँ। छोराले मलाई निकालिदियो। श्रीमान् पनि प्रेसर भएर खस्नुभयो। कसरी बाँच्ने भन्नुभयो। त्यसपछि मनले मानेन र रोक्न सकिनँ।
अघिल्लो वर्ष त सरकारले पनि खुवाएको थियो नागरिकता हुनेलाई। अहिले त्यो छैन। नागरिकता भएकै सडकमा आएका छन्। पहिला यसरी खाना वितरण गर्दा सरकारी निकायबाटै रोक लगाएको थियो, अहिले त्यो चाहिँ छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।