काठमाडौं– उल्टो (दक्षिणबाट उत्तरतिर) बग्ने नदीका नामले परिचित छ ललितपुरमा रहेको कर्मनासा। त्यही कर्मनासाको खरिबोट पुलछेउ ठूल्ठूलो स्वरमा ‘साना व्यापारी’ ग्राहक बोलाइरहेका हुन्छन्। वर्खामासमा बढेको खोलाले साना व्यापारीको ‘ठूलो’ आवाज दवाउन खोजिरहन्छ। व्यापारीहरु पनि खोलाको सुस्याहटलाई जित्न आवाज अझै चर्को बनाउँछन्। त्यही खोलाको पुलछेउमा पुरानो ठेलागाडामा घाम छेक्ने बडेमानको एउटा छाता ओढाइएको छ। छाताभित्रबाट कालो ब्लाउज र पहेँलो सारी लगाएकी महिलाको ‘पाको’ आवाज सुनिन्छ– ए सस्तो–सस्तो, सयको एक किलो आँप! एक दर्जन केराको...।
त्यो आवाज सर्लाही, फाणीपर्साकी ४० वर्षीया राम पुकारीको हो। जसले त्यहाँ ठेलागाडामा फलफूल बेच्न थालेको दुई दशक बित्यो। यताउती हिँडिरहेका मान्छेलाई आफ्नो फलफूल पसलतिर दैनिकजसो यसैगरी बोलाइरहेकी हुन्छिन् उनी।
पहिले उनको तरकारी पसल पनि थियो यहीँ। अहिले फलफूल पसल मात्रै छ। पसलको काममा श्रीमान्ले पनि सघाइरहेका छन् उनलाई। हामी उनीछेउ पुग्दा एकजना ग्राहक फलफूल किनिरहेका थिए। त्यसपछि हामीतिर हेरिन्। सामान्य औपचारिकतापछि सोध्यौं– कत्तिको विक्री हुन्छ?
निराश भावमा लामो श्वास तान्दै उनले भनिन्, ‘जति कराउँदा पनि एक घण्टामा एकजना ग्राहक पाउन मुस्किल पर्छ।’
१४ वर्षको उमेरमा विवाह गरेकी उनी २१ वर्षको उमेरमा काठमाडौं आइन्। ठ्याक्कै तिथिमिति थाहा छैन, तर राजा वीरेन्द्रको वंशनास हुनेगरी भएको दरबार हत्याकाण्ड भएको साल श्रीमान्ले सँगै काम गर्ने भनेर काठमाडौं ल्याएको उनलाई याद छ। ठेलाको पसल त्यहीबेला सुरु गरेकी हुन् उनले।
राम पुकारीकाठमाडौंमै जन्मेका उनका दुईटी छोरीको विवाह भइसक्यो। डेरामा बस्दा बस्दै उनले ३ घर फेरिन्। व्यापार गर्ने ठाउँ भने बद्लिएन। जीवन भने उनको कहिले यही कर्मनासा जस्तै उल्टो र कहिले बागमती जस्तै सुल्टो बगिरहेको छ।
अहिले फेरि जीवनले कर्मनासाको दिशा पकडेको छ। जीवनको लय ठीकै चलिरहेका बेला कोरोना आइदियो। दिनदिनैको कमाइले गुजारा चलाउने परिवारको आर्थिक जीवनमा अघिल्लो लकडाउनदेखि आएको गडबडी अझै ठीक हुने संकेत देखेकी छैनन् उनले।
उनी भन्छिन्, ‘पहिलो लकडाउनमा त यता खान बस्नै समस्या भएपछि गाउँतिर लाग्यौं।’ यसपालि उनीहरुले जस्तो परेपनि यतै बसेर लकडाउनको भोकसँग डट्ने अठोट गरे। एक छोरा, एक छोरी र दुई बुढाबुढी गरी जम्मा ४ जनाको परिवार छ। छोरी नजिकैको गम्भीर सामुदायिक विद्यालय र छोरा होप भ्याली एकेडेमीमा पढ्छन्।
लकडाउनदेखि उनलाई बालबच्चा पढाउन मात्रै होइन, खुवाउनलाई समेत समस्या छ। महिनाको १२ हजारको कोठाभाडामा बसेका उनीहरुले लकडाउन भएपछिका दुई महिनाको कोठाभाडा तिर्न सकेका छैनन्।
व्यापार बन्द हुँदा त उनीहरुलाई दुई छाक खान कठिन भयो। राम पुकारी भन्छिन्, ‘कहिले तीन/चार किलो चामलले धेरै छाक टार्यौं। एक प्याकेट पिठो किनेर तिन छाक रोटी बनाएर खुवाएँ।’
ग्याँस सकिएका बेला झिँजा बटुलेर आगोमा खाना पकाउने उपाय उनीसँग नभएको होइन, तर घरबेटीले आगो बाल्न दिएनन्। त्यसैले सापटी मागेर ग्याँस किनिन्। ‘फेरि व्यापार चलाउनुपर्यो, फलफूल किनेर ल्याउने पैसा थिएन। सापटी मागेर व्यापार सुरु गर्यौं,’ उनले सुनाइन्, ‘घरभेटीले पैसा मागिरहेका छन्। २४ हजार रुपैयाँ हामीले कहाँबाट ल्याउनु?’
खानै नपाए सरकारले राहत दिने कुरा उनले सुनिन् मात्रै। राहत पाउने ठाउँको खोजी गरेकी पनि हुन्, तर राहत दिने सरकारको ठेगाना भेटाउन सकेकी छैनन् उनले। ‘हामी गरिबलाई राहत दिनु पर्ने नि, तर कोही दिन आएन,’ उनको गुनासो छ।
उनलाई कोरोनाको डर कहिल्यै लागेन। किनभने त्योभन्दा धेरै डरलाग्दो उनका लागि भोक थियो। उनलाई कोरोना संक्रमणका वर्षैपिच्छेका ‘लहर’सँग खासै लिनुदिनु छैन। तर, सरकारले लकडाउन नगरिदिए हुन्थ्यो भन्ने लाग्छ। अहिले पनि उनी लकडाउन खुकुलो हुने दिनको प्रतिक्षामा छिन्।
गाउँ छाडेको धेरै वर्ष भइसक्यो। गाउँ फर्किँदा पनि गर्ने काम छैन। आफ्नो खेत–बारी छैन, अरुकोमा बनिबुतो गर्दा खान–लाउनै नपुग्ने। छोरा–छोरी पढाउन भएपनि शहरमै पसिना बगाउनुको विकल्प छैन। गाउँमा बुढी सासुआमा मात्रै रहेको उनले सुनाइन्।
लकडाउन केही खुकुलो भएका कारण सडकमा ठेला राख्न पाइएको छ। तर, व्यापार नहुँदा अझै पनि भान्सामा नुनतेल जोड्न गाह्रो छ। ‘हामी त कहिलेकाहिँ भोकै बस्छौं र बस्न सक्छौं, तर बच्चाहरुले मान्दैनन्। कसरी खुलाउने ?’ उनले आफ्नो पीडा राख्दै सोधिन्।
कोरोना कहरले निम्त्याएको लकडाउनका कारण दैनिकी नै संकटमा पर्नेमध्येमै पर्छिन् अस्मिता श्रेष्ठ (३३)। मंगलबार साँझ करिब सात बज्नै लाग्दा पुरानो ठेलाअघि बसेर उनी ग्राहकको प्रतिक्षा गरिरहेकी थिइन्। ठेलागाडामा काउली, टमाटर, प्याज, आलु र फर्सीका मुन्टा, पिँडालुका पात, बोडी, भान्टा, खुर्सानी आदि छन्। रामेछाप दुन्साकी उनी विगत पाँच वर्षदेखि बालकुमारी आकाशे पुलभित्रको सानो चोकमा तरकारी बेच्दै आएकी छिन्।
तीन छोराछोरी सहितको पाँच सदस्यीय उनको परिवार अहिले यही ठेलाबाट हुने व्यापारले साँझ–बिहान हातमुख जोर्छ। ठेक्कामा घरमा रङ लगाउने काम गर्ने उनका श्रीमान्को कोरोना कहरपछि खासै कमाइ छैन।
पहिले उनी गाउँमै र श्रीमान् काठमाडौं बस्थे। आफ्नो जीवन दुःखमै बितेपनि छोराछोरीलाई राम्रो पढाउन सकिए ‘सुख बाँच्लान्’ भनेर यता आएको सुनाइन् उनले। काठमाडौं आएलगत्तै गरिखाने सजिलो उपाय यही ठेलागाडामा तरकारी व्यापार भयो।
अस्मिता श्रेष्ठपछिल्ला दुई वर्षमा उनको यो व्यापारमा कोरोनाका कारण गरिएको लकडाउनले समस्या पार्यो। श्रीमान्को कमाइ त झन् ठप्पै। दुईटा कोठा भाडामा लिएर बसेका छन्। छोराछोरी बोर्डिङमा भर्ना गरेका छन्। उनी भन्छिन्, ‘छोराछोरीको स्कुलको फि तिर्ने, घरभाडा तिर्ने र खाने आधार यही थियो। त्यो पनि लकडाउनमा चलेन।’
तरकारी पसल आम्दानीका हिसाबले खासै राम्रो नभएको उनको बुझाइ छ। ‘निकै बिक्री भयो भने दिनमा कमाइ ५ देखि ६ सय रुपैयाँ हुन्छ,’ उनले भनिन्, ‘आजको आजै बिक्री भए त हो। नत्र कुहिएर जान्छ।’
पहिले उनका श्रीमान्को पनि कमाइ थियो। त्यसैले उनको कमाइ त्यसैमा थपजस्तो थियो। अहिले उनको कमाइ नै प्रमुख भयो। त्यसैले उनलाई झन् बढी निराश तुल्याएको छ। ‘लकडाउन भएको दुई महिनापछि चार दिन भयो तरकारी बेच्न थालेको। बिहानबेलुकी खानै धौ–धो हुन थालेको छ। तीन महिना भयो, कोठाभाडा तिर्न सकेका छैनौं।’
दुई जनाको कमाइबाट छोराछारीको सुन्दर भविष्य बनाउने भनेर देखेको सपनाले पनि अहिले उनीहरुलाई अत्याउँछ। छोराछारीको स्कुलले शुल्क तिर्न भनिरहेको छ, तर उनीहरुले सकेका छैनन्। अनलाइन कक्षा पढिरहेका त छन्, तर एकैपल्ट उनीहरुको पढाइ शुल्क कसरी तिर्ने भन्ने कुराको चिन्ताले उनलाई सताउँछ।
यस्तो संकटमा गाउँको याद आउँछ। तर, जाने अवस्था छैन। खेतबारी बाँझो भइसके। उनले भनिन्, ‘पहिलो लकडाउनमा वडा कार्यालयले पाँच केजी चामल, दाल, तेल, नुन र आलु दिएको थियो। तर, अहिले न राहत, न कुनै सेवासुविधा। केही पाइएन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।