नेपालको माैलिक र रैथाने खाना कथुरे तथा लोकल कुखुराको झोल प्रायः सबै भेगमा लोकप्रिय छ। पहाडी भेगमा परापूर्वकालदेखि खाइने कथुरे र लोकल कुखुराको भालेको झोल अहिले राजमार्गका होटल र रिसोर्टमा निकै महँगो मूल्यमा बिक्री गरिन्छ।
यो परिकार स्वादिष्ट र स्वास्थ्यबर्द्धक हुने हुँदा धेरैको रोजाइमा परेको छ। विदेशीहरुले पनि कथुरे र लोकल कुखुराको झोल खूब मन पराउँछन्।
कथुरे बनाउन चाहिने सामग्री:
कोदोको पिठो एक कप, मकैको पिठो एक कप, फापरको पिठो एक कप, गहुँको पिठो एक कप, पानी आवश्यकता अनुसार, किटको कराही र दाबिलो।
कथुरे बनाउने तरिका:
बाक्लो किटको कराहीमा पानी हालेर बसाल्ने र हल्का मकैको पिठो छर्कने। माथि भनिएअनुसार चारैथरि पिठो मिसाएर राम्ररी चाल्ने। पानी उम्लन थालेपछि मिक्स गरेको पिठोलाइ विस्तारै हाल्दै मस्काउनुपर्छ। अन्तमा साह्रो हुन थालेपछि आगोको आँच कम गरेर मज्जाले घोटेर मस्काउने। अनि कथुरे तयार हुन्छ।
लोकल कुखुराको झोल बनाउन चाहिने सामग्री:
लोकल कुखुराको मासु एक केजी, तोरीको तेल ५० एमएल, मेथी एक/दुई चिया चम्चा, गरम मसला (ल्वाङ, सुकमेल, जायत्री, मरिच, पिप्ला, तेजपात, अलाइची, जाइफल, दालचिनी) पाँच ग्राम, जिरा दाना एक/दुई चिया चम्चा, सोप एक/दुई चिया चम्चा, ज्वानो एक/तीन चिया चम्चा, बेसार एक चिया चम्चा, प्याज काटेको दुई पिस, सिलाउटो वा ब्यालेन्डरमा कुटेको ताजा मसला (जिरा, धनिया, अदुवा, नेपाली लसुन, सुकेको खुर्सानी) आधा कप, टिमुरको दाना छ पिस, काटेको गोलभेडा चार पिस, नून स्वादअनुसार, तातो पानी एक लिटर, हरियो लसुनको पत्ता आधा मुठा, हरियो धनिया सानो एक मुठा।
लोकल कुखुराको झोल बनाउने तरिका:
बाक्लो किटको कराही बसालेर तेल तताउने र मेथी फुराउने। जिरा दाना, सोप, गरम मसला हाल्ने र लगत्तै प्याक हालेर भुट्ने। प्याज खैरो हुनासाथ काटेको मासु हालेर मज्जाले भुट्ने। पटटट गरेर पाक्न थालेपछि बेसार, नून, टिमुरको दाना, कुटेको ताजा मसला हालेर चलाउने। केही समयपछि गोलभेडा हालेर एक छिन पकाउना साथ उम्लेको पानी हाल्ने। नून जाँच गर्ने। अन्तमा हरियो लसुन, धनिया हालेर कथुरेसँग पस्कने। लोकल लुखुराको झोल प्रेसरकुकुरमा पनि पकाउन सकिन्छ। तर कराहीमा जस्तो स्वादिष्ट हुँदैन।
(लेखक होटल सोल्टी, काठमामाडाैंका सेफ हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।