साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ।
उहिले भूपी शेरचनले कवितामा लेखेको त्यो चोक असनको इन्द्रचोक पनि हुनसक्छ। जस्तो, यहाँ नपाउने सामान कमै छ। तर, यति धेरै सामान भएर पनि रामप्रसाद उप्रेती (६२) का लागि केही छैन।
उनको चारैतिर अनेक खानेकुरा छन्। अन्नको थुप्रो छ। उनी भने भोकै छन्। दिउँसो २ बजेको छ, काम पाउने आशामा इन्द्रचोकको कालभैरव वंशेश्वर महादेव मन्दिरको पेटीमा बसेका छन्।
उनी असनमा व्यापारीका भारी बोकिदिन्छन्। तर, कोरोना महामारीको संकटमा उनले नियमित काम पाएका छैनन्। बन्दाबन्दीअघि दिनमा चार/पाँच सय कमाउँथे। तर, अहिले त जीवन धान्नै मुस्किल परेको छ।
कसैले सामान बोक्न बोलाइहाले पनि काम कुरेर बसेकाहरुको तँछाडमछाड हुन्छ। उनीसँगै मन्दिरको पेटीमा लहरै भरिया बसेका छन्। सबैको समस्या उस्तै छ। पेट भोको छ। उनी अरुसँग प्रतिस्पर्धा गरेर सामान भए ठाउँसम्म पुग्न सक्दैनन्। ‘म बूढो मान्छे, बोलाएको ठाउँमा दौडेर पुग्न सक्दिन। शारीरिक अवस्थाले गर्दा पनि मुखैमा परेको आहारा फुत्किँदो रहेछ।’
उनले काठमाडौंका साँघुरा गल्लीमा भारी बोक्न थालेको करीब ४५ वर्ष भइसकेको छ। दोलखाको सिंगटीबाट दुःख बोकेर काठमाडौं झरेका थिए। तर, कतै बिसाउन पाएका छैनन्।
बागबजारमा कोठा भाडामा लिएर बस्छन्। श्रीमती, एक छोरा र एक छोरी गरी चार जनाको परिवार छ। तर, सुख छैन। छोराछोरी तितरबितर छन्। श्रीमती रोगी छिन्। कमाइको टुङ्गो छैन। ‘यस्तो परिवार पनि सुखी होला र?’, उनी प्रश्न गर्छन्।
छोरा कुलतमा फसेका छन्। पढाइ छाडिसके। डेरा आउने/नआउने निश्चित हुन्न। काठमाडौंका गल्ली र एकान्तमा साथीहरुसँग बरालिएर र लठ्ठिएर हिंड्छन्। छोराबारे सुनाउँदा सुनाउँदै लामो सुस्केरा हाल्छन् र भन्छन्, ‘जहाँ गए पनि अभागी कर्म हो।’
छोरी १२ कक्षामा गीतामाता स्कुलमा पढ्छिन्। पढाइ राम्रो छ। उनी पनि साथीसँग बस्छिन्, कोठा आउँदिनन्। पसलमा बजेका रेडियो र टिभीका समाचारहरू यदाकदा सुन्छन् र त्रसित हुन्छन्। दिनहुँको हत्या, अपहरण र बलात्कारले झस्किन्छन्। अनि फेरि सोच्छन्– छोरी साथीसँग नै बसोस्, भोकबाट त बाँच्छे।
उनले २०४२ सालमा विवाह गरेका हुन्। श्रीमती उनीभन्दा १० वर्ष जेठी छन्। वृद्ध श्रीमतीको सहारा उनी नै हुन्। श्रीमतीले सरकारले दिने वृद्ध भत्तासमेत पाउँदिनन्। नागरिकतामा उमेर घटाइदिएका कारण अहिले समस्या परेको छ।
उनकी श्रीमतीलाई दम र मधुमेह छ। रोगी भए पनि काम गर्नैपर्ने बाध्यता छ। उनी पनि इन्द्रचोकमा नै नाङ्लोमा चुरोट बेच्छिन्। कमाइ अलि–अलि हुन्छ। तर, बन्दाबन्दीमा त त्यो पनि ठप्प थियो।
बन्दाबन्दीमा न नाङ्गलाको चुरोट बिके, न उनको थाप्लोमा नाम्लो र पिठ्युमा भारी पर्यो। काम रोकिएपछि बाँच्न कम्ता सकस परेन। यसै बेला घरबेटीले भाडा मागे, दुई महिनाको रु.१० हजार। उनले अझै दिन सकेका छैनन्। ‘खान त पाएको छैन। कोठा भाडा मैले कसरी तिर्नु र?’, कुरा गर्दागर्दै उनका आँखा रसाए।
त्यही मन्दिरको पेटीमा उनको आडैमा बसिरहेका सिन्धुली, भिमानका गोरे खपाङ्गीको पनि समस्या उस्तै छ। चार महिनादेखि घर भाडा तिर्न नसकेपछि घरबेटीले कोठामा चाबी लगाइदिए। ग्याँस, चामल, तरकारी लुगा सबै कोठामै थियो। अहिले उनी सडकमा सुतिरहेका छन्।
‘धन्न, बिहे गरिएनछ,’ उनी भन्छन्, ‘खाने मुख मात्र थपेर के गर्नु? न गाँस, न बास छ।’ राजधानीबाट करीब पाँच घन्टामा सिन्धुली उनको घर पुगिन्छ। तर गएका छैनन्। ‘गाउँमा बूढा भएका आमाबाबु छन्, हातमा के लिएर जाने? नजिक भनेर ह्वात्त जान नसकिने रहेछ,’ उनी भन्छन्।
गोरे र रामप्रसादको उमेर मिल्दैन। गोरे बल्ल ३५ वर्ष पुग्दैछन्। तर, दुःख र पीरले उनीहरुलाई एकै ठाउँ ल्याइदिएको छ। काम भएको दिन अलिअलि पैसा हुन्छ। नभएको दिन निःशुल्क बाँड्ने खानाको खोजीमा जान्छन् र हात थाप्छन्।
रामप्रसादको गाउँ सिँगटीमा पनि अब आफन्त कोही छैनन्। तीन दाजुभाइमध्ये उनी माइला हुन्। जेठो दाइ चितवनतिर गए र त्यतै बिते। कान्छो भाइको गाउँमा खेती थियो, पहिरोले सिनित्तै पारेर बगायो। उनी पनि यतै छन्, गाउँ नफर्किएको वर्षौ भयो।
अचेल त निशुल्क खाना दिन्छौं भन्नेसँग पनि उनको चित्त दुखाइ छ। ‘टपरीमा एक गाँस खान दिने र फोटो मात्र खिच्ने पनि छन्। कहिलेकाहीँ झुक्याउँछन्,’ उनी भन्छन्।
उनलाई मात्र होइन भारी बोकेर गुजारा गर्ने उनीजस्ता भरियालाई रोगभन्दा भोकको डर छ। अहिले निशेधाज्ञा हटेको छ। तर, उनको निराशा आशामा परिणत भएको छैन। अहिले पनि कोठामा ग्याँस र चामल छैन। उनले भने, ‘स्टोभका लागी एक लिटर मटितेल किनेको छु, चाउचाउ उमालेर खान्छौं।’
उनले टीभी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेललाई धेरै पटक ‘धन्यवाद’ भने। कँडेलले उनलाई कोठामै पुगेर एक बोरा चामल, दाल, तरकारी, तेल र एक हजार रुपैयाँ दिएका रहेछन्। निकै दिन पुर्याएर खाए। त्यो राहत सकिएको दिनदेखि अरुले चौरमा बाँड्ने भातको भर पर्नु परेको छ।
राहत लिन पनि घरबेटीको नागरिकता चाहिने उनी बताउँछन्। ‘हामी घरबेटी पीडित छौँ, राहतका लागि पनि सहयोग गर्दैनन्,’ उनी भन्छन्।
उनलाई सरकारको पनि भर लाग्दैन। भोट माग्ने बेला घरघर आउने र नमस्ते गर्ने नेताले भोकबाट मर्दा लास उठाउनसम्म सहयोग गर्दैनन् भन्ने उनले बुझेका छन्। ‘हामी सडकबासीको जिम्मा सरकारले लिनुपर्दैन? यो सरकार कसको हो?’, उनी प्रश्न गर्छन्।
उनले ४५ वर्षदेखि असन देखिरहेका छन्। असनको रुप धेरै फेरिइसक्यो। तर, उनको दुःख फेरिएन। महादेवको मन्दिरमा पूजा गर्नेहरुको लस्कर लाग्छ। त्यही मन्दिरको पाटीमा भोकै रहेकालाई कसैले देख्दैन। भोक खपेर बाँचिरहेका उनीहरु त्यही भगवानको शरणमा छन्। तर, काम नपाएसम्म भगवानले पनि बचाउन सक्दैनन् भन्ने रामप्रसाद र उनका साथीले बुझेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।