तनहुँको छाब्दी वाराही मन्दिरका योगी शुकदेवनाथ। “पहिले छाब्दी वाराही, त्यसपछि काठमाडौँ।”
हर्षपुरबाट फर्केर दमौली आइपुगेपछि बस पूर्वतिर मोडिँदै गर्दा जानकारी गराए, गुप्त भण्डारीले।
देवीको मन्दिर हो– छाब्दी वाराही। शक्तिरूपा हुन्, देवी। तनहुँको दश पर्यटकीय स्थलमध्येको एक भनेर छाब्दी वाराहीको नाम लिएका थिए हिजो, हरिसिंह गुरुङले।
उनले भनेका थिए– “नेपालकै प्रसिद्ध तीर्थस्थलमध्येको एक हो छाब्दी वाराही।”
धार्मिक वा ऐतिहासिक वा पौराणिक महत्त्व नबोकेको कुनै भूगोल छैन, नेपालमा। यी सबैको एकमुष्ट ग्रन्थागार हो– तनहुँ। हिउँफूल मुस्कुराउने हिमाल नभए पनि हरिया सप्को ओढेका पहाडहरू अनगिन्ती छन्। आखिर हिमाल नै किन चाहियो र, धौलागिरिदेखि गौरीशङ्करसम्मका हिमालय शृङ्खला देखिने दुर्बिनडाँडाहरू भएपछि।
दमौलीको गणेशमान चोकबाट अगाडि बढेको बस अमरापुरी पार गरेपछि अर्को सानो बस्तीमा पुग्छ। बस्तीको नाम हो– भादगाउँ। भादगाउँ भन्नेबित्तिकै भक्तपुरको झल्को आइहाल्ने। हिजो हरिसिंह गुरुङले भादगाउँको नाम उच्चारण गर्दा भक्तपुरकै मान्छेहरू आएर बस्ती बसालेकोले ‘भादगाउँ’ भनिएको होला भन्ने ठानेको थिएँ। तर दरै जातिको थातथलो पो रहेछ।
राजेन्द्रमान डङ्गोलउनले बताएका थिए, “औलोको महामारीका समयमा नेपालका धेरै बस्ती उजाडिएका थिए। तर, दरैहरूले आफ्नो थातथलो छाडेनन्। बरु दमौलीसम्म बस्ती बसाउन पुगे। आफ्नै वरिपरि भएका जडीबुटीको सहारा लिएर औलोसित लडेका थिए रे। हामीले थाहा पाउँदासम्म उनीहरू गोलघरमा बस्थे। अचेल त्यस्ता घर एक–दुइटा मात्र बाँकी छन्। अचम्मको कुरा के भने– उनीहरू अझै पनि धामीझाँक्री र फुकफाकमा विश्वास गर्छन्। बिरामीलाई अस्पताल त अन्तिम अवस्थामा मात्र लाने हो। उनीहरू अझै पनि जङ्गलमा गएर कन्दमूल खोज्न छाडेका छैनन्। गुँतको गुन्द्री र निगालोबाट मान्द्रो, छत्री र ढडियालगायतका सामान बनाउने अद्भुत कला छ, उनीहरूमा।”
दरैहरूमा आफ्नो थातथलोप्रतिको कस्तो प्रेम! यस्तो महामारीमा पनि छाडेनछन् गाउँ। पञ्चायतकालीन समयमा प्रधानपञ्च गैरदरै हुन्थे रे। भोट लिनकै लागि दरैलाई उपप्रधानपञ्चमा उठाउँथे रे। बहुदलमा पनि मेयर गरैदरै र उपमेयर दरै हुन्थे रे। तर, अचेल दरैको गाउँमा दरै नै अल्पसंख्यामा छन् भन्ने सुनिन्छ। ‘वनसाङ्लाले घरसाङ्लालाई खेदेको’ भन्ने उखान चरिथार्थ भएको हो त? समग्र भादगाउँको तस्वीर देख्दा मेरो मनमा प्रश्न उब्जिएको थियो।
खुब सोझा हुन्छन्, यी जाति। बिचरा उनीहरूले देशमा ठूलाठूला परिवर्तन देखे पनि राज्यसँग अहिलेसम्म केही अपेक्षा गरेका छैनन्। राज्यले यसरी नै बेवास्ता गरिरहने हो भने उनीहरूको स्वाभिमानले एकदिन विस्फोटक रुप नलेला भन्न कहाँ सकिएला र!
कतै नेवारको बाहुल्यता। कतै सिङ्गै बस्ती मगरको त कतै दरैमात्र। यही भूगोलमा कतै गुरुङ, कतै सिङ्गै बस्ती विष्टहरूको त कतै तामाङमात्र। तनहुँको जातीय विविधता र रङ्गिन संस्कृति तनहुँको मात्र नभएर सिङ्गो नेपालकै विशेषता हो।
सुनेको थिएँ– तनहुँमा यस्तो गाउँ पनि छ, जहाँ तेह्रौँ शताब्दीदेखि बसोबास गर्दै आइरहेका मुस्लिम समुदायको मात्र बस्ती छ।’
उनीहरू नेपाली मुसलमान। दौरा–सुरुवाल र ढाकाटोपी लगाउने बानी परेका ती दाजुभाइहरू वल्लोपल्लो गाउँका क्षेत्री–बाहुनजस्तै लाग्छन् रे। गहिरो आत्मीयता छ, यहाँका हिन्दु र मुसलमानबीचमा। दुःखसुख साटेर बसेका छन्। दुवै समुदायले मनाउने चाडपर्व, बिहे र व्रतबन्धजस्ता शुभकार्यमा निमन्त्रणा आदान–प्रदान हुन्छ रे। नेपाली–नेपाली बीचको अनुकरणीय भातृप्रेम हो, यो। आखिर जनता न परे ! जनताका बीचमा मेलमिलाप नभएको कहाँ छ र? दुश्मनी त नेता–नेताबीचमा हुन्छ। यो मामलामा तनहुँ जिल्ला एउटा अब्बल दृष्टान्त हो।
सेतीको पानीलाई सदुपयोग गर्न सके र यी फाँटहरूमा पसिना चुहाउन सके कति तेलहन र नगदेबालीहरू भित्र्याउन सकिन्थ्यो होला। विषादी प्रयोग गरिएका आयातीत तरकारी पाक्ने राजधानीबासीका भान्छामा ताजा र स्वादिला तरकारी पाक्थे, त्यो पनि सस्तोमा भाउमा किनेर।
चारकुने, रतौली र खकौलीजस्ता सुन्दर गाउँहरू आँखामा ठोक्किँदा नुवाकोटको छहरे, ढिकुरे र लब्दुजस्ता बस्तीहरूको सम्झना गराउँछ, मलाई। भू–बनोट र माटोको रङ उस्तै। फराकिला बेसी र बस्तीहरूको सौन्दर्य उस्तै। यति धेरै उर्वर भूमि छ। सेतीको पानीलाई सदुपयोग गर्न सके र यी फाँटहरूमा पसिना चुहाउन सके कति तेलहन र नगदेबालीहरू भित्र्याउन सकिन्थ्यो होला। विषादी प्रयोग गरिएका आयातीत तरकारी पाक्ने राजधानीबासीका भान्छामा ताजा र स्वादिला तरकारी पाक्थे, त्यो पनि सस्तोमा भाउमा किनेर।
सिंचाइको सुविधा, कृषिमा आधुनिकीकरण, तालिम एवम् ज्ञान, सीपको हस्तान्तरण, नयाँ प्रविधियुक्त कृषि प्रणालीको प्रोत्साहन र अनुदानमा आधुनिक कृषि औजारहरु वितरण गर्ने खालका योजना ल्याउन सके किसानको आर्थिक अवस्थामा जरुर परिवर्तन ल्याउन सकिन्छ। सरकारले कृषिको विकासमा समाजवादको फिलिङ्गो कहिले देख्ला? कृषि क्षेत्रको विकास नगरी समृद्धि कहिले हुने होला र समाजवादमा कसरी पुग्ने हुन् कुन्नि? किसानले वर्षे बाली भित्र्याइसक्दा पनि मल दिन नसक्ने नालायक सरकारसित के अपेक्षा गर्नू खोई! मनमा उठेका यावत् सवाललाई अनायास मनभित्रै दबाउँछु।
कतै बसन्ते काँडो लहरिइरहेका, कतै घरी लागेका केराका बोट त कतै चिचिला लागेका आँपका वृक्षहरू। गन्देका झारहरूले निलो रङ फैलाएका छन्। यति वेला धर्तीमा मान्छेभन्दा बढी रमाइरहेका छन् वसन्तले पल्लवित रुख–विरुवाहरू।
वसन्तको वहार हेर्दा हेर्दै पुगियो छाब्दी वाराही।
मध्यदिनको घामले तातिसकेको थियो धर्ती। फिटिक्कै हावा चलेको भए पो ! बसबाट ओर्लनेबित्तिकै छुटिगयो पसिना।
तनहुँको छाब्दी बजार।दमौलीबाट सात किलोमिटर मात्र हो छाब्दी वाराही तर हर्षपुरदेखि हिँड्नु परेको भए चाहिँ यतै हुने थियो, आजको बास। साँच्चिकै चैतमासको यो धूपमा हिँड्नु परेको भए कुन हालतमा हुन्थ्यौँ होला हामी! कल्पना गर्छु म।
“पूजा लानु हुन्छ?”
“नरिवल लानु हुन्छ कि?”
“केरा लानुस् न माछालाई खुवाउन!”
“हात धोएर जानुुहुन्छ कि?”
पूजाका सामान राखिएका पसलहरू छन्, बाटोको दायाँबायाँ। ग्राहक तान्ने आ–आफ्नै काइदा साहु–साहुनीहरूको। टन्न पेट भरेर के पूजा गर्नु र! नसुनेझैँ गर्यौँ हामीले। दुई कार्टुन पानी किने, तनहुँ पर्यटन समाजका कोषाध्यक्ष भुवन श्रेष्ठले। हामी सुकेको आँत भिजाउँदै अगाडि बढ्यौँ।
अगाडि आउँछ छाब्दीखोला पुल।
भक्तजनहरूको ओहोरदोहोर भइरहेको छ। पसलेहरु आ–आफ्नै लयमा छन्। कोही चिया बेच्दै। कोही जेरी पकाउँदै। कोही सेलरोटी पकाउँदै। श्वास फेर्ने फुर्सद छैन व्यापारीलाई। जे होस्, राम्रै चहलपहल छ, छाब्दी वाराहीमा। तर माईको पूजा नहुने औँसी, एकादशी र साउन महिनामा भने शून्यता कस्तो होला? कल्पनामात्र गर्न सक्छु म।
घन्ट बजाएर आफ्नो उपस्थिति जनाउँदै छन्, आगन्तुक भक्तजनहरू। श्रुतिमधुर लाग्छ मलाई घन्टको आवाज । घन्टको आवाजले आवहवामा ल्याएको कम्पन असाध्यै मनपर्छ। शान्तिको आभास दिलाउँछ, यो धुनले। मेरो अवचेतन मन र मस्तिष्कलाई आध्यात्मिकतिर डोर्याउँछ। आफूमा भएको नकारात्मक ऊर्जा दूर भएको अनुभूति गर्छु। घन्टले नै मन्दिरको वातावरण सधैँ पवित्र रहन्छ। घन्टको आवाजमा देवमूर्तिमा चेतना जागृत गराउन सक्ने अद्भुत शक्ति छ भन्ने विश्वास गरिन्छ। र, त घन्ट बजाएरै देवीलाई जगाउँदै छन्, भक्तजन।
प्रवेशद्वारबाट भित्र छिरेपछि आउँछ फेरि अर्को द्वार। त्यही द्वारसँगै जोडिएको छ सानो पुल। पुलपारि छ– पहराको आडमा अवस्थित छाब्दी वाराही। मन्दिरभित्र चाक्लो र बाक्लो शिला छ। त्यही शिला हो– देवीको प्रतिरूप।
आहा! कञ्चन पानी झरना बनेर कुनामा कोप्चेरो परेको ढुङ्गे पहराबाट झरझर बगिरहेछ। झरनाको पानीले सुरम्य सरोवर बनेको छ मन्दिरको छेवैमा। रमणीय छ प्रकृतिको सुन्दर छटामाझ सजिएको छाब्दी वाराही।
रजबाम माछाहरूले छपक्कै ढाकिएको छ सरोवर। एकनासे माछाहरू पौडिरहेका छन् घरी एउटा कुना, घरी अर्को कुना गरेर। माछा नहुँदो हो त तलाउ यति सुन्दर किन लाग्थ्यो होला र। डिलमा उभिएर माछाको चञ्चलता हेरिरहन मन लाग्छ जो कोहीलाई।
मन्दिरको तल्लोपट्टि (पुलवारि) माछाको मुखधाराबाट जल झरिरहेको छ। त्यसैको अगाडि छ अर्को पोखरी। पोखरीको बीचमा छ– पच्चीस फिट अग्लो सुनौला रङको देवीको कलात्मक मूर्ति। कम्मरदेखि माथि मान्छे र कम्मरमुनिको भाग मत्स्यस्वरूपको। देवल दर्शनार्थ आएका भक्तजन माछालाई केरा खुवाइरहेका थिए। मान्छेहरूले तलाउमा केराका टुक्राहरू फ्याँक्दा माछाहरू हुरुरु आउँथे र कप्लक्कै पार्थे। आहारा दिएजस्तो गरेर माछालाई आफ्नो बल्छीमा पार्ने हामी क्रूर मान्छेहरू विनास्वार्थ आहारा खुवाएर आनन्द लिइरहेको दृश्य आफैँमा रोमाञ्चक थियो। मान्छेलाई अन्नदाता नै ठान्दारहेछन्, यहाँका माछाहरूले। अरुले केरा खुवाएको देख्दा आफूले पनि ल्याउनु पर्नेरहेछ जस्तो आभास भइरहेथ्यो मनमा।
मगर भाषामा जलप्रवाहलाई ‘दी’ भनिन्छ भने वाराहीको अर्थ हुन्छ– देवी। नेपाली भाषामा ढुङ्गे पहरालाई ‘छाप’ भनेको यदाकदा सुनेको थिएँ। छापबाट झरेर बगेको पानीलाई ‘छाप्दी’ हुँदै अपभ्रंश भएर ‘छाब्दी’ भनिन थाल्यो र देवीको उत्पति भएको हुनाले मन्दिरको नाम ‘छाब्दी वाराही’ राखिएको होला। अनुमान लगाएँ मैले।
सहयात्रीहरू छाब्दीको माछा हेरेर रम्दै गर्दा म चाहिँ लागेँ योगीको आश्रमतिर।
सम्पत्तिको नाममा उनको कुटीभित्र एक थान खाट छ। पोका पुन्तुरा, लुगाफाटा र सरसामानहरू असरल्ल छरिएका छन्। एक थान ग्यास सिलिन्डर र चुलामा कीटको कराई बसालिएको छ। एक थान कमण्डलु, एउटा थाल, एउटा अम्खोरा, एउटा प्लास्टिकको बाल्टिन र दुई थान पानीका बोत्तल छन्। बिचरा योगी!
दुवै कान छेडेका, लामालामा दाह्रीजुँगा भएका, कम्मरमा एकसरो पहेलो कपडा बेरेका, शिरमा पहेँलो फेटा गुथेका, गलाभरि रुद्राक्षको माला र रामनामी पहिरिएका, र निधार र नाडीदेखि पाखुरासम्म खरानीको धर्सा कोरेका अन्दाजी साठी वर्षका देखिने एक जना योगी थिए, आश्रममा। सम्पत्तिको नाममा उनको कुटीभित्र एक थान खाट छ। पोका पुन्तुरा, लुगाफाटा र सरसामानहरू असरल्ल छरिएका छन्। एक थान ग्यास सिलिन्डर र चुलामा कीटको कराई बसालिएको छ। एक थान कमण्डलु, एउटा थाल, एउटा अम्खोरा, एउटा प्लास्टिकको बाल्टिन र दुई थान पानीका बोत्तल छन्। बिचरा योगी!
“प्रणाम योगीजी!” अभिवादन गरेँ मैले।
अभिवादन फर्काउँदै टीका लगाइ दिए उनले मलाई। पचास रुपैयाँ थमाएँ, उनको हातमा। उनले मन्त्र पढेर आशिष दिए।
“हजुरको घर चाहिँ कहाँ पर्यो नि ?” सम्वादको थालनी गर्छु म।
“यहीँ नजिकै हो। दश मिनेट जति लाग्छ यहाँबाट।” जवाफ फर्काउँछन् उनी।
सम्वाद अगाडि बढ्छ।
“हजुरको शुभ नाम?”
“शुकदेवनाथ। म ‘नाथ’ सम्प्रदायको।”
‘नाथ’ भनेको के हो ?
“हिन्दुवादी धार्मिक पन्थ। मूलतः शिवभक्त हो ‘नाथ’ सम्प्रदाय। ‘ना’को अर्थ आदि रुप र ‘थ’को अर्थ भुवनत्रयमा स्थापित हुनु। सम्मानित व्यक्तिको परिचय पनि हो ‘नाथ’ शब्द। व्यक्तिको उच्चादर्शको झलकलाई पनि बुझाउँछ यो शब्दले।”
“त्यही भएर पो कान छेड्नु भएको हो?”
“हो नि! कान नछेडेसम्म पत्याउनु हुन्न भोलेनाथले।”
“कसरी जोगी बन्नु भयो त?”
“कहानी लामो छ। बाबु घुम्न आएको मान्छे, समय छैन होला। छोटकरीमा भन्छु है!”
“भन्नुस् न।”
“म त गोरखनाथसँग किनेको छोरो पो हुँ त!”
“कसरी?”
“मेरो जीवनको नियति नै त्यस्तै रहेछ बाबु। मेरो न्वारनको दिन म बाँच्दैन भनेर मलाई बचाउन बाउआमाले गोरखनाथको झोलीमा हालिदिएका रे। गोरखनाथ बाबासँगै हुर्कें म। बाह्र वर्षको उमेर पुगेपछि बाउआमाले गोरखनाथसँग मलाई किनेछन्। व्रतबन्ध गरेपछि पढ्नका लागि म काशी गएँ। बाह्र वर्ष बिताएँ त्यहाँ। ज्योतिषिले मेरो आयु चौँतीस वर्षको मात्र छ भने। तर ‘बाह्र वर्षसम्म जोगी भए लामै उमेर काट्छस्’ भनेपछि मर्नुभन्दा जोगी हुनु बेस भनेर जोगी भएँ। अहिलेसम्म बाँचिरहेको छु।”
अल्छी मान्छे मात्र जोगी हुन्छन् भन्ने सुनेको थिएँ। उनको कारुणिक कथा सुनेपछि लाग्यो– परिस्थितिले पो मान्छेहरूलाई जबरजस्ती यो बाटोमा छचेट्दोरहेछ। जोगी भएकै कारणले बाँचिरहेछु भन्ने विश्वास छ उनलाई। के उनी जोगी नबनेका भए मरिसक्थे त ? आफैँलाई सोध्छु म।
“फेरि पहिलेको जीवनमा किन फर्कनु भएन त?”
“त्यसपछि मलाई यही जीवन प्यारो लाग्न थाल्यो। सोचेँ– आखिर मरेर पो लानु के छ र! ल भन्नुस् त– बाबुले बाँचेको जीवनमा पनि विशेष के नै छ र, लोभ, द्वेष, अहङ्कार, तिरस्कार र रिसरागबाहेक ?”
प्रतिप्रश्न पो गर्छन्, उनी।
शिवभक्त हुनमा छुट्टैखाले आत्मसन्तुष्टि हुँदो हो, सायद। नत्र किन छाड्न सकेनन् त उनले यो बाटो! यथार्थमा उच्चादर्शको झलक दिन्थ्यो उनका कथनले।
“छाब्दी वाराहीको उत्पतिबारे बताइदिनुस् न!” अर्को जिज्ञासा राखेँ मैले।
“उहिले सत्यवतीले किशोरी अवस्थामै गर्भवती भएर वेदव्यासलाई जन्म दिएकी रहिछन्। बालवयमै आमा बन्नुपर्दाको गुनासो छोरो वेदव्याससँग पोखेपछि उनले मातालाई भनेछन्, ‘म तपाइँलाई पवित्र ठाउँमा एक सय तीन तीर्थको जल ल्याएर कुण्ड बनाई राख्नेछु। कलियुगमा तपाइँलाई त्यही ठाउँमा छाब्दी वाराही देवीको रूपमा पूजा गर्ने छन्।’ सायद त्यसैले होला, वि. सं. १८०० को एक साँझ देवी बालिकाको रुप धारण गरी एकजना मगरको गाईगोठमा बास माग्न पुगिछन्। ‘जोगीको घरमा सन्यासी पाहुना’ भनेजस्तै भएछ। ती मगरले बास दिन सक्ने तर खान चाहिँ दिन नसक्ने बताएपछि देवीले भनिछन्– ‘म वाराही देवी हुँ। म तलको कुण्डमा शिला भई उत्पन्न हुनेछु। तिम्रो सन्तानले मेरो पूजा गर्नू।’ यति भनेर तिनी अलप भइछन्। भोलिपल्ट ती मगर कुण्डमा गएर हेर्दा बालिकाले भनेझैँ साँच्चिकै शिला भेटेछन्। त्यही दिनदेखी उनले पूजा गर्न थालेछन् र उनका सन्तानहरुले आजपर्यन्त पुजारीका रूपमा निरन्तर नित्य पूजा गर्दै आएका छन्।’
“वेदव्यास त महर्षि परासरका छोरा होइनन् र?”
“हो। सत्यवतीले त जन्म दिएकी मात्र हुन्। व्यासको पालपोषण परासर स्वयम्ले गरे।”
उनले व्यासको जन्मको पनि रोमाञ्चक कथा सुनाए–
“ऊ वेलाको कुरा हो। एकदिन राजा उपरिचर वन–विहार गर्दै नदी–किनारमा पुगेछन्। नदीमा एउटी सुन्दरी जलक्रीडा गर्दै थिइन्। सुन्दरीको शारीरिक सौन्दर्य देखेर राजा उपरिचरमा कामवासना जागृत भएछ। उनको जवानी र सौन्दर्यबाट मोहित नहुने कुनै ऋषिमुनि थिएनन् रे। ती अप्सरामा पनि आफ्नो सौन्दर्यप्रति बढ्ता नै घमण्ड थियो रे। यो कुरा सृष्टिकर्ता व्रह्मालाई चित्त बुझेको थिएन रे। अप्सराको सेखी झार्न व्रह्माले सन्तान उत्पत्तिका निमित्त तिनलाई पृथ्वीमा पठाए। खासमा सन्तान जन्मेपछि सौन्दर्यमा कमी आउने भएकोले उनले यस्तो सराप दिएका थिए होला।”
“अनि के भयो त?”
“राजा उपरिचर चाहिँ पत्नीव्रता भएकाले ती अप्सरासँग शारीरिक सम्बन्ध राख्न चाहेनन् रे। बरु उनले एउटा वृक्षमुनि बसेर आफ्नी रानीलाई आह्वान् गरेछन्।”
“ए.... ! त्यसपछि के भयो?”
“उनले वीर्यलाई पातमा राखेर तत्कालै चरामार्फत् रानीकहाँ पठाएछन्। तर, आकाश–मार्गमा उडिरहेको वेला चरामाथि चीलले आक्रमण गरेछ र पातको विर्य नदीमा खसेछ।”
“लौजा.... त!”
योगी एकछिन रोकिए।
“त्यसरी किन चरालाई पठाएको होला है?”
“सन्तान जन्माउनको लागि। सुन्नुस् न!”
उनले अगाडि भने–
“नदीको पोथी माछाले त्यो पातको विर्य खाएछ। तत्पश्चात् माछाको गर्भ रहन गयो। एकदिन गर्भवती माछा माझीको जालमा परिछ। माझीले माछाको पेट चिरेर हेर्दा त दुई शिशु पो देखिए। यो कुरा थाहा पाएर राजा उपरिचर माझीकोमा आएछन्। राजाले ती शिशुमध्ये बालिका माझीलाई दिई बालक लिएर गएछन्। सन्तान नभएका माझीलाई बालिका पाउनु वरदान नै भइगो। उनले छोरीकै रूपमा हुर्काए। बालिका औधी सुन्दरी थिइन्। तर, बालिकाको शरीरबाट माछाको गन्ध आउँथ्योे रे। यसैले उनलाई ‘मत्स्यगन्धा’को नामले पुकारियो। माझीलाई बुढ्यौलीले छोएपछि मान्छेहरूलाई नौकाबाट नदी वार–पार गराएर ती बालिकाले बाउको बिँडो थाम्न थालिन् रे। सुन्दरी मत्स्यगन्धासँग नदी वार–पार गर्दा यात्रुहरू पनि खुब खुसी हुन्थे रे। संयोगले एकदिन महान् ऋषि परासर उनको नाउ चढ्न आइपुगेछन्। सुन्दरी मत्स्यगन्धालाई देखेर ऋषि आकर्षित भएछन्। उनीभित्रको कामवासनाको जागृतिले एकदम अधैर्य बनेका महर्षिले मत्स्यगन्धासँग शारीरिक सम्पर्क गर्न अनुरोध गरे। ऋषिको प्रस्ताव सुनेर मत्स्यगन्धा छक्क परिन्।”

“डुङ्गामा! त्यो पनि दिउँसै?”
“त्यही त नि। सामाजिक मर्यादाले गर्दा मत्स्यगन्धाले ऋषिकोे प्रस्ताव सहजै स्वीकार्न तयार भइनन्। तर, ऋषिकोे जिद्दीको अगाडि केही लागेन। सिद्धिप्राप्त ऋषिलाई वर्तमान, भूत र भविष्य सबै थाहा थियो। हुनैपर्ने कुरालाई स्वयम् उनी पनि रोक्न सक्दैनथे। उनले युवतीलाई सम्झाउँदै भने, ‘म परासर ऋषि हुँ। यो क्षेत्र कुहिरोले छोपिने छ। हामीबीच शारीरिक सम्पर्क भएको दृश्य कसैले देख्ने छैन। हाम्रो सम्पर्कपछि तिमीबाट माछाको गन्ध आफैँ हराई सुवास आउनेछ। शारीरिक सम्पर्कपछि तिमीबाट एउटा बालकको जन्म हुनेछ। तिम्रो सौन्दर्य योभन्दा अझै राम्रो हुनेछ। तिमीबाट जन्मिने बच्चालाई म आफैँ लिएर जानेछु।’ उनले भनेझैँ अचानक बादल लाग्यो। कुहिरोले नदी ड्याम्मै ढाक्यो। मत्स्यगन्धा र परासरबीचमा शारीरिक सम्पर्क भयो। मत्स्यगन्धाले एउटा बालक जन्माइन्। नवजात शिशुलाई लिएर ऋषि परासरले आफ्नो बाटो लागे।”
त्यसपछि मैले थाहा पाएँ– व्यासको माता सत्यदेवी त्यही मत्स्यगन्धा थिइन् भनेर।
०००
छाब्दी वाराहीबाट फर्केको बस सत्रसय फाँटको दीप रेस्टुरेन्ट पुगेर रोकियो।
मेट्नैपर्ने अलिकति भोक र अलिकति तिर्खा थियो, हामीमा।
बैँशालु घामले तताएको ज्यानलाई ठन्डा बियरले चिस्याउने मनसाय व्यक्त गरे बोधराजजीले।
केही दिनदेखि मेरो घाँटी बसिरहेको थियो। तैपनि उनको प्रस्ताव नकार्न सकिनँ मैले। चिसो बियरसित सितन थियो, तारेको माछा। पिइयो मज्जैले।
अघिल्लो दिन हरिसिंह गुरुङले भनेका थिए, “छाब्दीखोला बगेर सेतीमा मिसिन्छ। मान्छेले पूजा गर्ने भएकाले छाब्दीखोलाको माछा खाँदैनन्। छाब्दीको माछा मर्दा विधिपूर्वक सद्गत गर्ने परम्परा छ।”
तारेको माछा चपाउँदै गर्दा मेरो मनले भनिरहेको थियो, “कतै यो छाब्दीको माछा त परेन!”
झन्डै डेढ घन्टा बिताएछौँ दीप रेस्टुरेन्टमा। प्रायः सबैको मुहारमा चढिसकेको थियो बियरको रङ।
साढे तीन बजिसकेको थियो, सत्रसय फाँट छोड्न लाग्दा। कम्तीमा पनि साढे चार घण्टाको यात्रा गर्नु छ।
“अबको यात्रा सीधै काठमाडौँतर्फको। पिसाब फेर्ने ठाउँबाहेक कहीँ रोकिने छैनौँ।” गुप्तजी बोले।
बसभित्र छिरेपछि सुरु भयो साङ्गीतिक माहौल। अघिल्लो साँझ हर्षपुरमा गाएको उही गीतको लय दोहोर्याउँदै थिए सहयात्रीहरू–
‘क्या राम्रो फूल फूल्यो
तनुङ्गेको भीरैमा’
है मेरी मायालु
टप्प टिपी लाउँकी शिरैमा...’
बियरले चिस्याएको मात्र थिएन, हल्का नशा पनि चढेथ्यो। बसको सिटमा बसेपछि झप्की आउन थाल्यो, आँखामा। त्यसपछि उनीहरूले कुन गीतलाई कुन लयमा गाए, मलाई थाहै भएन। जब म ब्यूँझिएँ, सहयात्रीहरू झकाइरहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।