‘क्या मज्जाले निदाइएछ हगि!’
आँखाको पलक उघ्रनेबित्तिकै पल्लो खाटबाट बोले अम्बिर गुरुङ।
अघिल्लो साँझ दमन्त रानाको घरबाट आएर भुक्लुक्क ढलेका हामी एकैचोटी बिहान पो ब्युँझेछौँ। त्यसो त अलिकति कोदोको झोलले पनि कमाल नगरेको कहाँ थियो र! झटपट बाहिर निस्केर हेर्दा घामको उज्यालो लडिबुडी गर्न आइसकेको रहेछ, हर्षपुरको हरियो पछ्यौरीमा। मन्द बतासले काउकुती लगाइदिँदा मस्त जवानी बोकेका फूलहरू उन्मुक्त हाँसो हाँसिरहेका छन्। फेरि धूपीका बोटले निर्वाध फ्याँकिरहेको छ, मिठो सुवास।
निलो बार्दलीसहितका चिटिक्क परेका पुराना घरहरूले सिङ्गो बस्तीकै सौन्दर्य धानेका छन्। घर छेउमा थुपारिएको दाउराका चाङ, आँगनछेउमा ठड्याएका मकैका सुली, परालको माँच र छानामा लडिरहेका फर्सीले हर्षपुरको सौन्दर्यमा कसी लगाएका छन्। बेगमबेली, खुर्सानी फूल र बाह्रमासे फूलहरूले दिएको शोभा त छँदै छ। यति हुँदाहुँदै पनि नयाँ बनेका कङ्क्रिटका घरको कारण हर्षपुरले आफ्नो सौन्दर्यलाई अक्षुण्ण राख्न नसकेको प्रतीत हुन्छ। आधुनिकताको बाछिटा यसरी छिर्दै जाने हो भने त हर्षपुर पनि केही वर्षमा दमौली बन्न के बेर! बलिया घर बन्नु राम्रो हो, तर मौलिकता मेटिँदा होम–स्टेको स्वादमा नेपालीपन हराउने हो कि भन्ने मेरो मनमा चिन्ता चुलियो।
राजेन्द्रमान डङ्गोलपारि छ, बडेमानको चौतारो। माथि छ, आकाशदेवी थुम्की। तल छ, लामोचौतारो र त्यो भन्दा पनि तलतिर खेतीयोग्य टारहरू। बारीका पाटाभरि घोप्ट्याइएका छन्, मलका थुप्रा। यतिबेला एकझर पानी पर्खिरहेका छन्, स्थानीयबासी।
केशु भन्छन्– ‘मकै छर्ने बेला भइसक्यो। पानी परेको छैन। ट्याम घट्किँदै छ।’
आकाशबाट पर्ने पानी त ढिलै भए पनि आउला। तर घरसँगैको धाराबाट पानी नआएकोमा बढी नै चिन्तित छन्, उनी।
‘धारा मात्रै हो, पानी चाहिँ आउँदैन। युगौँदेखिको पानीको समस्या जस्ताको तस्तै छ। पन्ध्र मिनेट लाग्छ पँधेरा पुग्न। हरेक दिन पैँतीस–चालीस मिनेट खर्चनुपर्छ, एकगाग्रो पानीको लागि,’ दुखेसो पोखे केशुले।
अघिल्लो साँझ दमन्त रानाको आँगनमा भेटिएका हर्षबहादुर रानाले भनेका थिए, ‘हाम्रा पुर्खा पाल्पाबाट आएका रे। हामी सातौँ पुस्ताका हौँ।’
पुर्खादेखि नै उही मूलका पानी खाइरहेका छन्, हर्षपुरबासी। उनीहरूले झेलेको पानीको समस्याको महसुस गर्न सक्छु, म। समस्या छिट्टै समाधान होस् भन्ने कामना गरेँ। योबाहेक के नै गर्न सक्छ र जाबो एकदिने पाहुनाले!
हाम्रा लागि एक बाल्टिन पानीसहित साबुनको व्यवस्था गरेका छन्, केशुले। जुठेल्नुबाट बगेर गएको पानीले गोलभेडा सपारेका छन्। मैले हात–मुख धुन खर्च गरेको एक जग पानी त्यही गोलभेँडाको फेदमा पुगेको थियो। उनले कष्टपूर्वक ल्याएको पानी खर्च गर्नु परेकोमा अलिकति ग्लानी भएथ्यो, मलाई।
तल्लो घरमा थिए, बोधराज भण्डारी र शुक्र श्रेष्ठ। पल्लो घरमा नवराज दहाल र सुदर्शन न्यौपाने। माथिल्लो घरमा बसेका थिए, भविश्वर शर्मा, बद्री तिमिल्सिना र शिवभक्त घिमिरे। कोही दाँत मोल्दै थिए। कोही मुख धुँदै। कोही टाउको नुहाउँदै। आ–आफ्नै आँगनबाट अभिवादन साटासाट गर्यौँ, हामीले। पारिपट्टिका घरको आँगनमा छुन्मुनाउँदै थिए– दिलमाया गुरुङ, ऋतु ग्याम्दान र रीता अधिकारी। यस्तो लाग्थ्यो– हाम्रो गाउँ हर्षपुर र हामी छिमेकी। अहिले पो सबैको काठमाडौँमा घर छ। यदि नेपालमा पर्यटन व्यवसाय नहुँदो हो त हाम्रो वास्तविक दिनचर्या ठ्याक्कै यस्तै त हन्थ्यो होला नि! एकालाप गर्छु म।
०००
‘गुड मार्निङ सर !’
भान्छाबाट अभिवादन गर्दै निस्किइन्, केशुपत्नी विष्णु।
एकएक गिलास कालो चिया दिइन्। आहा! बिहानको तातो चियाको चुस्की, त्यो पनि आँगनको डिलमा बसेर।
म सम्झन्छु– योभन्दा फराकिलो आँगन थियो, मेरो नुवाकोटको घरमा। बालवयमा यसरी नै आँगनको डिलमा बसेर तल बगिरहेकी सूर्यमतीलाई हेर्थें। फरक यतिमात्रै हो कि त्यतिबेला घर थियो, आँगन थियो, तर चिया थिएन। अहिले चिया छ, घर पनि छ, तर आँगन छैन।
केशुले घरको पिँढीसँगै जस्ताले बारेर दाउराको खली थुपारेका छन्। त्यही झुन्डिरहेका छन्, एकएक थान जाल, थित्री र फुर्लुङ। वर्षातमा साङ्गेखोला गएर उनी यसैमा माछाकिरा टिप्छन् र भान्छा रमाइलो बनाउँछन्।
दुइटा रोटी, रिकापीमा चना, आलु र सिप्लिकानको अचार ल्याइदिइन् विष्णुले। आहा! हिजो बेलुका निगुरो, आज सिप्लिकान। धेरै भएको थियो सिप्लिकान मुखमा नपरेको। औषधीय गुण भएको वनस्पति पो हो त यो। मधुमेह र उच्च रक्तचापका रोगीका लागि त रामवाण।
‘सिप्लिकान आफ्नै बारीको हो?’ केशुलाई सोधेँ मैले।
‘हजुर हो। तर, हाम्रो यहाँको वनमा पनि पाइन्छ। हाम्रो म्याग्दे गाउँपालिका, वडा नं. २ मा चाहिँ खेती नै छ, सिप्लिकानको। निगुरो जलुकी, टुसा, सिप्लिकान र पड्के च्याउको त भण्डार नै हो हाम्रो वन। मदौलीदेखि टिप्न आउँछन् मान्छेहरू,’ उनको जवाफ।
‘लाज नमानी खानुस् है दाइहरू!’
विष्णुको आफ्नै बोलीमा चाहिँ लज्जाभाव झल्कन्थ्यो। तैपनि हाम्रो खातिरदारी गरिरहेकी थिइन्, उनले।
भर्खर दोस्रो वर्षमा प्रवेश भएको रहेछ हर्षपुरले होम–स्टेको पस्कन थालेको। त्यसैले होला विष्णुमा लजाउने बानी हराएको रहेनछ। खुवाएर खुसी पार्न खोज्ने, उनीहरू। खाएर खुसी हुने अम्बिरजी र म। त्यो पनि ओखतीजस्तो कुरा पाएको बेला। लाज मानेनौँ हामीले।
तल्लो घरबाट उक्ले बोधराजजी। माथिल्लो घरबाट ओर्ले भवीजी। पल्लो घरबाट आए नवराजजी। सबैको सेन्टर थियो हाम्रो आँगन।
‘दश बजेमात्र बिदावारी गर्ने भनेका छन्। के गर्ने अब?’ सबैका सामु प्रश्नको झटारो हुर्र्याए बोधराजजीले।
आकाशसित अङ्कमाल गरिरहेको आकाशदेवी डाँडातिर हेरे अम्बिरजीले।
‘उक्लने हो त त्यो डाँडा?’ उनको सोधनी हुन्छ बोधराजजीलाई।
‘जाऔँ न!’ एकछिनसम्म गमेर जवाफ फर्काउँछन् उनी।
‘उकालो छ। पुग्न सकिन्छ त त्यहाँ?’ म सोध्छु केशुलाई।
‘हेर्दा टाढा हो। आधा घण्टामात्रै लाग्छ,’ जवाफ आउँछ उनको।
बाटो बताए केशुले।
आकाशदेवी डाँडाका लागि कस्सियौँ हामी।
जाँदाजाँदैको उकालोको घरमा भेटिए पत्रकारद्वय संगीता भट्टराई र वर्षा सिवाकोटी। जोर बाख्राको पाठा काखमा राखेर मुसारिरहेका थिए। खुबै चञ्चल हुन्छन् बाख्राका पाठा र उत्तिकै टीठलाग्दा पनि। बाख्राको पाठाभन्दा कम चञ्चल त कहाँ नै छन् र उनीहरू आफैँ पनि।
जाँदाजाँदैको उकालोको घरमा भेटिए पत्रकारद्वय संगीता भट्टराई र वर्षा सिवाकोटी। जोर बाख्राको पाठा काखमा राखेर मुसारिरहेका थिए। खुबै चञ्चल हुन्छन् बाख्राका पाठा र उत्तिकै टीठलाग्दा पनि। बाख्राको पाठाभन्दा कम चञ्चल त कहाँ नै छन् र उनीहरू आफैँ पनि। नवयौवनाहरू न परे! यति बेलाको उमेर नै त्यस्तै, उनीहरूको। बाख्राको पाठो खेलाइबस्न मन लाग्ने। पाठाहरू उफ्रँदै बुर्कसी मारेको र काखमा राख्दा मान्छेकै बच्चाले झैँ ठसठसी कनेको मलाई पनि असाध्यैँ मन पथ्र्यो। बालवयमा ‘मुनेमुने’ भनेर सुमसुम्याउदै बोकेको पो याद आयो।
काठमाडौँबाट आएका व्यवसायीहरूले भरिएको छ, हर्षपुर। ‘तनुहँ पर्यटन समाज’को अभिप्राय ‘हर्षपुर–डाँडागाउँ होम–स्टे’को अवलोकन गराएर यहाँको पर्यटन प्रवद्र्धन गराउने हो। हर्षपुरको सम्झनालाई तस्वीरमा सङ्गाल्दै छन्, सहभागीहरू। तमाम गतिविधि हेर्दा यस्तो लाग्छ– मानौँ, ‘हर्षपुर होम–स्टे’ फुलिरहेको सुगन्धित फूल र अवलोकनका भ्रमणमा आएका व्यवसायीहरू भमरा। यतिसम्म गरेपछि दुई–चारजना कवि र साहित्यकार पनि ल्याएको भए त हुन्थ्यो नि! स्वागत कथनमै सिमित भएँ म केहीबेर।
हामी आकाशदेवी डाँडा जान लागेको सुइँको पाएपछि धेरैले पछ्याए हाम्रा पाइला।
गोरेटोको छेउमा बार बनेर उठेका छन्, असुरा। बारीको कान्लैपिच्छे लटरम्म पाकिरहेका छन्, कालो किम्बु। भाग्यले किम्बु पाक्ने सिजनमा आइएछ। पाकेको फल देखेपछि किन थामिन्थ्यो र हाम्रो मन! टिप्दै खाँदै। हातै कालो, मुखै कालो पो भयो। हाँगो भाँच्न खोज्दा कान्लाबाट झन्डै खुर्मुरिनँ। किम्बुकै बोटबाट लडेको निशानी अझै छ मेरो काकाको छोरासँग। कसो त्यस्तै चोट बोकेर फर्कनु परेन। होसै उडेथ्यो मेरो।
सुनेको थिएँ– ‘मान्छेलाई चाहिने ओखती ऊ जन्मेकै वरपर हुन्छ रे।’
ओखती नै हो, असुरा पनि। खोकीको लागि यसको फूल र पात अचुक दबाई। यसको मुन्टा र जराको चूर्ण बनाएर खाँदा फोक्सोको विकार हटाउँछ र श्वासनली पनि सफा गर्छ भन्थे, नुवकोटको बानियाडाँडा बस्ने धितालबाजे। फेरि माटोलाई उर्वरा बनाउने अद्भूत शक्ति छ यसमा। वस्तुभाउको घाँस र रेशमकिराको पनि आहारा। मान्छेका लागि त झनै बहुपयोगी बुटी हो, किम्बु। पात पनि ओखती, फल पनि ओखती र बोक्रा पनि ओखती। मधुमेह र कोलेस्टेरोलको लागि अति राम्रो। पेट, छाला र घाँटीको समस्या पनि निदान गर्छ।
आ–आफ्नै लय समातिरहेका छन्, गाउँलेहरू। कोही वस्तुभाउ स्याहार गर्दै। कोही हातमा नाम्लो र हँसिया बोकेर निस्कँदै। कोही डोकोभरि मल बोकेर ओरालो लाग्दै।
राता सिउर भएका कुखराका वयस्क भाले ‘कुखुरी काँ’ गरिरहेका छन्। भाले बास्नु समयको सूचक हो। रमाइलो हुन्छ, भालेले निकालेको नाद। यद्यपि, यो संसारमा ध्वनि प्रदूषण गरेको अर्थमा थुप्रै भालेविरुद्ध उजुरी नपरेको भने होइन। यत्रतत्र चरिरहेका छन्, लोकल कुखुराहरू। माउको पछिपछि लागेर चल्लाहरू ‘च्युँ च्युँ’ गर्दै भोक हड्ताल गरिरहेका छन्। माउ चारो खोज्न धुलो खोर्सन्छे। किराहरू टिप्छे र ‘कुट्कुट्’ गर्दै चल्लाहरू डाक्छे। यसै गरीगरी माउ आफ्ना चल्लाहरूको माग पूरा गरिरहेकी छे। मैले टक्क उभिएर घरपालुवा पन्छीले आमा हुनुको जिम्मेवारी पूरा गरेको हेरिरहेँ। आपसमा भाले जुधाइ गर्न छाडेर यही माउले जसरी यो देशका नेताहरूले पनि जनताप्रतिको जिम्मेवारी पूरा गरिदिए कस्तो हुन्थ्यो होला! मनोलाप गरेँ।

प्रत्येक घरका धुरीबाट धुवाँ निस्किरहेछ। धुवाँ निस्कनुको अर्थ हर्षपुरका घरमा चुलो बल्नु हो। अलि माथि पुगेपछि आँगनछेउमा रक्सी पारिरहेकी थिइन्, एउटी महिला। तल फोँसी, त्योभन्दा माथि पटासी र त्योभन्दा माथि बाटा। पटासीभित्र थापिएको हुन्छ डुबुल्की अर्थात् रक्सी थाप्ने भाडा। फोँसीबाट पटासीको प्वाल हुँदै उडेर गएको बाफ बाटामा राखिएको चिसो पानीमा ठोक्किएपछि रक्सी बनेर डुबुल्कीमा झर्छ। वैज्ञानिक छ, नेपालीको मदिरा बनाउने परम्परागत प्रक्रिया। विश्वमै राम्रो मानिन्छ, नेपालीले बनाएको कोदोको तीन पाने। यहीँ उत्पादन हुन्छ कोदो। यहीँ छ मर्चा बनाउने जडिबुटी। अग्र्यानिक हुन्छ, घरेलु मदिरा। तैपनि प्रहरी लगाएर घरेलु मदिरा नष्ट गर्न लगाउँछ, सरकार। नुन–तेलको जोहो गर्नकै लागि बिचरा गरिबले गरेको मिहिनेत र श्रममा निर्मम ढङ्गले लात मार्छ। घरेलु उत्पादनलाई प्रोत्साहन गर्नुको साटो दुरुत्साहन गर्छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब असी करोड त्रिहत्तरलाख रुपैयाँ बराबरको विदेशी मदिरा नेपाल भित्रिएको थियो। अर्बौंको विदेशी रक्सी आयात गरेर स्थानीय उत्पादन नष्ट गर्नुको औचित्य बुझ्दिनँ, म।
पुगियो चौतारो। वसन्तको आगमनसँगै पाउलिएका छन्, बर–पीपल। वसन्तको रङ्गिन मौसम। हरियो धर्ती। पाखाभरि फुलिरहेका नीलिम फूलहरूको मुस्कान। फेरि निलै गगन। अनौठो लाग्दै छ, प्रकृतिको तारतम्य।
चौतारो काटेपछि सुरु हुन्छ, अर्को घुम्ती। तेर्पे उकालो हामी धिमा गतिमा उकालिँदै छौँ। सुस्तरी हाम्रै बाटो हिँडिरहेको छ, घाम। घाममा जवानी चढ्दा ओइलाउदै थिए, वसन्तका पालुवा। खुल्दै गए मेरो शरीरका छिद्रहरू। ज्यानमा उनेको स्विटर पनि भारी भइसकेको थियो, नवराज दाहाललाई। बोधराज भण्डारीमा पनि अघिल्लो साँझको जस्तो शारीरिक गतिशीलता देख्दिनँ। पसिनाका फोका उठ्दै थिए, अम्बिरजीको भुक्क परेको गालामा।
हर्षपुर छाडेपछि पन्छीको संसारमा प्रवेश गर्यौँ। प्राणीपिच्छे आ–आफ्नै खालको दिनचर्या। बुट्यान–बुट्यान टेक्दै गाइरहेछन्, धोबी चरा। झाडीभित्रबाटै चिरबिर आवाज निकल्दै छन्, ओथारो बसेका फुस्रे चाँचरहरू। गुँडबाट बचेराहरू निकाल्दै छन्, फिस्टाहरू। बचेराहरूलाई चारो खुवाउँदै छन्, बुङ्गे चरा। फूलहरू चुम्दै छन्, पुष्पकोकिल। मलाई डाह लाग्छ, चराहरूको स्वाधीन उडानमा।
चराको चञ्चलता र गतिशीलता देखेर पाइला रोकिन्छ, मेरो। चराहरूलाई सुन्दा मधुर संगीतको आभास हुन्छ। चराहरूको स्वतन्त्रतामा खुसीको अनुभूति हुन्छ। थाहा छैन– ऋतु परिवर्तन हुनेबित्तिकै वसन्तमा रमाइरहेका यी पन्छीहरू कतिको उठिबास हुने हो। कतिलाई हावाले उडाउने हो। कतिलाई असिनाले चुट्ने हो। कतिले पानीमा भिज्नुपर्ने होे। कारुणिक छ चराहरूको जीवन। पीडा सहेर पनि खुसी हुन सक्छन्। वास्तवमा मान्छेभन्दा धेरै गुणा खुसी हुन्छन्, चराहरू।
मलाई देख्नेबित्तिकै भुर्र उडिगए एकहुल फिस्टा। आखिर मान्छे न हुँ म! झुक्याएर गुलेली हान्ला भन्ने डर तिनलाई मसित।
फटाफट आफ्नै बाटो लागेँ, म।
शिशिरमा नाङ्गिएका चुवाका बोटले पनि वसन्त आगमनको आभास गर्दै छन्। छिर्केमिर्के पुतलीहरू घुमिरहेका छन्, बोटैभरि।
मलाई छाडेर अगाडि लम्केका अम्बिर गुरुङ, सुदर्शन न्यौपाने, भीम लामा र बोधराज भण्डारीलाई दहठाँटी पुगेर सुस्ताइरहेको भेटेँ। नाम ‘दहठाँटी’ भए पनि दह थिएन। पानीको मूलविना दह कसरी हुन्थ्यो निर्जलीय डाँडामा! बस्तीको नाम ‘डाँडागाउँ’ राखिनु चाहिँ सुहाउँदो छ। तल हर्षपुर, माथि डाँडागाउँ। हर्षपुर र डाँडागाउँ मिलाएर ‘हर्षपुर–डाँडागाउँ होम–स्टे’ नामकरण गरेका रहेछन्। सुन्दर नाम! नामले नै हर्षपुर र डाँडागाउँको एकता दर्साउँछ।
डाँडा निर्जलीय भए पनि रसिलो देखिने फल फलाएका छन्, बालकृण श्रेष्ठले। उनी उही बालकृष्ण, जसले हिजो स्वागत मन्तव्य दिएका थिए। ‘हर्षपुर–डाँडागाउँ होम–स्टे’ प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान छ, उनको।
मैले सोधेँ– ‘निबुवा हो?’
‘होइन। जानजर हो यसको नाम।’
चाख्यौँ हामीले। गुलियो–गुलियो, अमिलो–अमिलो। तर, साह्रै रसिलो। अचम्मकै रहेछ स्वाद। मुखै सिरिङ्ग भएथ्यो।
जनार्दनले भने– ‘यसलाई भनिन्छ खडारस।’
सजिलै पुगियो आकाशदेवी डाँडा।

थाप्लोमै छ शीतल ताप्ने ठाँटी। ठाँटीसँगै गाडिएको छ, ‘डाँडागाउँ भ्यु प्वइन्ट’ लेखिएको बोर्ड। डाँडाको पल्लो छेउमा छ, शक्तिरूपा आकाशदेवीको मन्दिर। आकाशदेवीको मन्दिरसँगै उभिएर शान्तिमय हर्षपुर चियाउँछु। आशाका किरणहरू छरिएका छन्, हर्षपुरभरि। उज्यालै उज्यालोमात्र देख्छु। भव्य देख्छु, हर्षपुर। प्रकृतिको काखमा बसेको मानवबस्ती, जहाँ गौरवशाली इतिहास बोकेका मगरका पछिल्ला पुस्ताहरू छन्। लिलामाया, बिहीसरा, विष्णु, शनिसरा र सरस्वतीजस्ता धर्तीका देवीहरू छन्। माथि आकाशदेवी, तल धर्तीका देवीहरू। उनीहरूले नै धानेका छन्, हर्षपुर। मौलिक परम्परा र संस्कृति छ। सुन्दर भविष्य बोकेको पर्यटकीय गन्तव्य पो देख्छु।
हामी डाँडामा टहलिँदै गर्दा टुप्लुकिए, गुप्त भण्डारी। उनीसँगै थिए भविश्वर शर्मा, आशुतोष प्रधान, ऋतु ग्याम्दान, रीता अधिकारी, दिलमाया, गुरुङ, जनार्दन अर्याल, शिवभक्त घिमिरे, शिव पौड्याल, प्रतीक, बद्री तिमिल्सिना, गोकर्ण पोखरेल, शेखर थापा, भुवन श्रेष्ठलगायतका साथीहरू।
गुप्तजीले भने– ‘यहाँबाट धौलागिरिदेखि गौरीशङ्करसम्मका मनोरम हिमाली शृङखला देखिन्छ।’
क्षितिजमा थियो, तुवाँलोको दोसल्ला। धमिला देखिन्थे, क्षितिजवारिका डाँडाहरू। पृष्ठभूमि जस्तो भए पनि तेजिला अनुहार र मुस्कानमय ओँठलाई मोबाइलको मेमोरीमा भरे भीमजी, सुदर्शनजी, बोधराजजी र अम्बिरजीले। आफू पनि के कम! दुई–चार स्न्याप त हानेरै छाडेँ।
सागेफाँट, दमौली बजार, रतनपुर डाँडा, मानुङकोट, मनपाङ डाँडा, बजारकोट लगायतका सुन्दर समथल म्याग्दे भ्याली हेरेर टोलाइरहे मेरा आँखा।
केशवटार हेरेर मूकभाषामै बोलेथेँ म– ‘छोइ नसक्नुको होला यहाँका जग्गाको मूल्य। जग्गा त हाम्रो पनि प्रशस्तै थियो रे। सेराफाँटको यस्तै अब्बल जग्गा बाजेको अकस्मात मृत्युपछि ऊ बेलाका गाउँका एउटा जालीले हजुरआमालाई खाली कागजमा ल्याप्चे लगाएर खाइगए छन् त के गर्नू! हजुरआमाले आफूसँग भएको जग्गाको तिरो तिर्न नसक्दा भाइखलकले समेत तिरो तिरेर आफ्नै नाममा लगेछन्। अहिले आफ्नो जग्गामा अरुले गरिखाएको टुलुटुलु हेरिबस्नु परेको छ।’
मौनतामै बढी हुँदोरहेछ बोलेर अर्थ नलाग्ने यस्ताखाले संवाद। धमिलो क्षितिजजस्तै धमिलिएथ्यो मेरो मन।
धमिलिएको मेरो अनुहारको रङ साथीहरूले चाल नपाऊन् भनेर सचेत हुँदै गर्दा टोलाइरहेझैँ देखिन्थे बोधराजजी र नवराजजी। मेरैजस्तो अनुभूतिको भावराशिमा त किन हुन्थे होलान् र उनीहरू! सोच्दा हुन्– ‘यो साल दुई–चार रोपनी लिन पाए अर्को दुई–चार सालपछि त सिन्धुलीको ‘ताज रिभरसाइड रिसोर्ट’कै ढर्रामा चलाउनु हुन्थ्यो अर्को रिसोर्ट।’
आकाशदेवी डाँडाबाट देखिने तमाम सौन्दर्य, प्रकृतिका रङ र यहाँ चलिरहेको मन्द वायुले खिचिरहेको थियो, मलाई। मनले भनिरहेको थियो– ‘आजको रात यहीँ बिताउन पाए......!’ जीवनमा थुप्रै अग्ला पहाडहरू चढेको मलाई आजको हिँडाइ र चढाइले धोको पुगेको थिएन।
हर्षपुर र्फेकपछि खाना खाएर ‘दमन्त रानाकै घरमा आउनू’ भन्ने उर्दी थियो गुप्तजीको।
डाँडाबाट फर्कंदा केशव र विष्णुले खाना तयार पारिसकेका थिए दाल, भात, तरकारी र अचार। हतारहतार खाना खाएर दश बजे दमन्त रानाकोमा पुग्दा आँगनमा जम्मा भइसकेका थिए हर्षपुरबासी।
‘रमाइलो छान नाकोको राहर
बिदाइ जाट्ले फूल–टीका लाइदिआर...........’
अर्थात्
‘रमाइलो भो हजुरहरू आएर
बिदाइ गर्छौं फूल–टीका लाइदेर......’
गीत गाएरै बिदाइ गरे, हर्षपुरबासीले। लामो उनीहरु चौतारोसम्म पुर्याउन आएका थिए। उनीहरूले गाएको गीतको झल्को आइरह्यो निकैबेरसम्म। छाब्दी बाराही पुग्दासम्म पनि ताजै थियो उनीहरूले लाइदिएको गलाको फूलमाला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।