‘हामी माटोसँगै खेलेर हुर्कियौँ। अहिले पनि माटोसँगै खेल्छौँ। माटोसँग हाम्रो मितेरी गाँसिएको छ।’
यति बोल्दै गर्दा भक्तपुरका बुद्धिराम प्रजापतिलाई फुर्सद थिएन। माटोसँग खेलिरहेकै थिए। छेउमा रहेकी उनकी श्रीमती मायादेवीलाई पनि कहाँ फुर्सद र!
तर, मैले अलि लामै गफ गर्ने सुर कसिसकेको थिएँ। उनकै छेउमा टुसुक्क बसेँ। अनि सोधेँ, ‘यसरी माटोलाई भाँडाको आकार दिन कहिले सिक्नुभयो?’
‘यो हाम्रो पुर्ख्यौली पेसा हो। बाबु–बाजेले पनि गर्थे। हामीले खेल्दाखेल्दै सिकेको नि।’
उनी पनि अब मसँग गफिन थाले। भाँडालाई आकार दिइरहेको चक्र भने घुमाइरहेका छन्।
उनका बाजे बिहानैदेखि भाँडा बनाउन बस्थे। उनी स्कुल जाने समयबाहेक बाजेसँगै हुन्थे। जब भाँडा बनाउन जान्ने भए, उनले स्कुल नै छाडिदिए। तर, उनले छोराछोरीलाई भाँडा बनाउन सिकाए पनि स्कुल छाड्न दिएनन्। उनका दुई छोरा रुपेश र रुपेन बाबुआमासँगै भाँडा बनाउँछन्। जेठा छोरा रुपेशले त सिभिल इन्जिनियर (स्नातक) गरिसकेका छन्।
रुपेश अहिले पुर्ख्यौली पेसालाई आधुनिकीकरण गर्ने सोचमा छन्। त्यसपछि अन्तरराष्ट्रिय बजार पनि खोज्न सकिने उनको विश्वास छ। अहिले पनि माटाबाट बनेका सजावटका सामग्री विदेश गइरहेकै छन्। देवीदेउताका मूर्ति पनि विदेशबाट माग हुन्छ। यसलाई नियमित र व्यवस्थित गर्ने रुपेशको सोच छ।
दाइको सोचलाई मूर्तरुप दिन रुपेनले पनि सघाइरहेका छन्। स्नातक पढ्दै गरेकी बहिनी पनि कलेज र पढाइको समयबाहेक उनीहरुलाई सघाउन आइपुग्छिन्।
नाति–नातिनी र छोरा–बुृहारीसँगै वृद्ध भएका बुवाआमा पनि माटोको काममै हुन्छन्। ७५ वर्ष नाघिसकेका विष्णुप्रसाद प्रजापति छोरा–नातिले झैँ जोशले चक्र घुमाउँछन्। ‘घरमा बसेर समय बित्दैन, जानेको काम गर्दा छोरा–नातिलाई सजिलो हुन्छ,’ विष्णु भन्छन्। स्वास्थ्यले साथ दिएसम्म समय कटाउन पनि काम गर्ने उनको सोच छ। तर, उमेर हुँदाजस्तो शक्ति कहाँ हुन्छ र?
उनले १० वर्षकै उमेरदेखि माटाका भाँडा बनाउन सिके। छोरा हुँदै नातिसम्मले यही पेसा अपनाएका छन्। अहिले त यसमा इज्जत पनि छ। नातिहरुले अब माटाका भाँडा विदेशतिर पनि बेच्ने कुरा गरेको सुन्दा उनलाई पुर्खाले राम्रै बाटो लगाइदिएका रहेछन् भन्ने लाग्दो रहेछ।
पुर्ख्यौली पेसालाई आधुनिकीकरण गर्न युवा पुस्ता नै अगाडि सरेपछि विष्णुप्रसाद जस्तै बुद्धिराम पनि मक्ख छन्। उनको पालामा जस्तो अहिले खुुम्चिएर काम गर्नुपर्दैन। सबैले आफ्नो काममा गर्व गर्छन्। त्यसैले परिवारै लागेका छन्।
उनी केटाकेटी हुँदाको त कुरै बेग्लै। कहाँ यस्तो थियो र?
उनका लुगामा माटो दलिएकै हुन्थ्यो। अनि, साथीभाइले जिस्काउँथे। ‘माटो खेलाउँदा गनाउँदैन?’ भनेर सोध्ने पनि थिए।
‘नेवारको छोरो भएर यस्तो काम नगर। बुवा–बाजेले गरे भन्दैमा त्यही काम गर्नुपर्छ भन्ने छैन, छाडिदेऊ,’ भन्नेहरु पनि थिए। तर, उनले छाडेनन्। यही पेसा गरिरहे। बरु बिहे गरेपछि श्रीमती मायादेवीलाई पनि भाँडा बनाउन सिकाए। माइतीतिरका परिवारले कहिल्यै नगरेको काम उनले घरमा सिकिन्। अनि श्रीमान्–श्रीमतीले मिलेर माटाका भाँडा बनाएरै जीविका चलाए।
बिहे गरेकै तीन दशक नाघेको छ। बुद्धिरामको उमेरले पाँच दशक नाघिसकेको छ। तर, उत्तिकै जोश–जाँगरमा काम गरिरहेका छन्।
कारखाना सुविधासम्पन्न भने छैन। दुःख छ। जस्ताको छानो। बाहिर टन्टालापुर घाम। जीउबाट पसिना बगेको छ। माटो ल्याउने, छान्ने, मुछ्ने गरीसकेपछि चक्र घुमाउन थाल्छन्। काममा बाँडफाँड छ।
माटाका भाँडा बनाएपछि पहिला शीतलमा सुकाउनुपर्छ। अनि भट्टामा पोल्नुपर्छ।
भाँडा पोल्ने भट्टा निर्माण समिति बनाएका छन्। भक्तपुर दरबार स्क्वायर क्षेत्रमै पर्ने पोटरीमा समितिका तीन वटा सामूहिक भट्टा छन्। सानो भट्टा प्रयोग गर्दा ७०० र ठूलो भट्टा प्रयोग गर्दा ९०० रुपैयाँ तिर्नुपर्छ। उनीहरु हाँडी, अम्खोरा, खुत्रुक्के, करुवा, गमला, दीयो, पानस, घ्याम्पा, गाग्री, गिलास, झम्मर, धुपौरो र देवीदेवताका मूर्ति बनाउँछन्।
‘सामाजिक काम र धार्मिक अनुष्ठानमा माटोका भाँडा अनिवार्य चाहिन्छन्। च्यामासिङ र ठिमीमा पनि माटोका भाँडा बनाइन्छ,’ बुद्धिराम भन्छन्, ‘अहिले बजार छ, बिक्दैन भन्नुपर्दैन।’
बाजे र बाबुकै पालासम्म पनि माटाका भाँडा चल्थ्यो। बिक्री राम्रो थियो। तर, विस्तारै धातु र प्लास्टिकका भाँडा बढी चल्न थाले। माटोका भाँडाको प्रयोग कम हुन थाल्यो।
कुनैबेला काठमाडौँ उपत्यकामा माटोकै भाँडा बढी चल्थ्यो। ‘त्यो हाम्रो बाजेभन्दा अगाडिको बेलाको कुरा हो,’ बुद्धिरामले भने। बाजे र बाबुकै पालासम्म पनि माटाका भाँडा चल्थ्यो। बिक्री राम्रो थियो। तर, विस्तारै धातु र प्लास्टिकका भाँडा बढी चल्न थाले। माटोका भाँडाको प्रयोग कम हुन थाल्यो।
त्यतिबेला उनका साथी कामका लागि विदेशिँदै थिए। उनलाई पनि जाऊँ कि जस्तो नलागेको होइन। तर, पेसा छाड्न सकेनन्। माटाका भाँडा नबिके पनि मूर्तिहरु बिक्थ्यो। खास चाडपर्वमा माटाका भाँडाको माग राम्रै हुन्थ्यो। उनी यही काममा रमाइरहे।
अहिले मान्छेहरु माटाका भाँडा र मूर्तिका लागि उनलाई खोज्दै आइपुग्छन्। आम्दानी घटेको छैन। बरु उनको परिवारलाई माग धान्न भ्याइ नभ्याइ छ। काठमाडौँ मात्र होइन पोखरा, धरान, विराटनगर, नेपालगञ्जबाट समेत माग आउँछ। छोराहरु विदेशमा बजार खोजिरहेकाले कारखानाको पनि आधुनिकीकरण होला भन्ने आशामा छन्, उनी। ‘आजकल त यो पेसा सफल भएको देखेर तारिफ गर्नेहरु पनि छन्। उनीहरु माटोको मूर्ति बनाइमाग्दै आउँछन्,’ बुद्धिराम भन्छन्।
साना–साना भाँडा दिनमा ५०० वटासम्म बनाउँछन्। ठूला भाँडा र मूर्ति बनाउन समय लाग्छ। एक जनाको कमाई महिनामा २५ देखि ३० हजार रुपैयाँसम्म हुन्छ। परिवारका सातै जनाले काम गर्दा मासिक साढे दुईदेखि तीन लाखसम्म कमाइ हुन्छ।
अहिले त उनका छिमेकीहरुले समेत यो पेसा गर्न थालेका छन्। उनीहरुलाई लकडाउनले पनि प्रभाव पारेन। माग आइरह्यो, काम भइरह्यो। आम्दानी पनि घटेन।
‘यसैबाट राम्रो कमाइ भइरहेको छ। उहिल्यै विदेशिएको थिएँ भने त राम्रो नहुने रहेछ,’ त्यति बेला आफूले गरेको निर्णय अहिले उनलाई ठीक लागेको छ।
तर, भाँडा र मूर्ति बनाउने माटो खोज्न हैरानी छ। उनी भक्तपुरको दुवाकोट, काठमाडौँको साँखु र ललितपुरका गाउँसम्म पुगेर माटो संकलन गर्छन्। राम्रो माटो नचिने भाँडा बिग्रिन्छन्।
कुमाल सुमदायको पुर्ख्यौली पेसा नै माटोको भाँडा बनाउने हो। तर, नेवारभित्र पनि पुर्ख्यौली रुपमा यो पेसा अपनाउने समुदाय छन् भन्ने थोरैलाई मात्र जानकारी भएको बुद्धिराम बताउँछन्। उनी भन्छन्, ‘अहिले छोराहरुले पनि यो पेसा अपनाएपछि म खुसी छु, अब यसैमा टिक्न उनीहरु बजार खोज्दै छन्। अझै राम्रो हुँदै जाला नि।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।