भैरहवा- जिल्ला प्रशासन कार्यालय रुपन्देहीले राष्ट्रिय गानबाट सेवा सुरु गर्ने तयारी थालेको छ। कर्मचारीहरुलाई समयमै कार्यालय उपस्थित गराई राष्ट्रिय गानको सम्मान एवं राष्ट्रप्रतिको भाव बढाउने उद्देश्य अनुरुप उक्त कार्यको तयारी थालिएको हो।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले केही दिनभित्रै राष्ट्रिय गानबाट सेवा सुरु गर्ने गरी आवश्यक तयारी थालिएको बताए। कार्यालयमा बिहानको ठिक १० बजे राष्ट्रिय गान बज्ने गरी प्रविधि जडान गरिएको र उक्त समयमा कर्मचारीहरु पनि राष्ट्रिय गानमा सरिक हुनुपर्ने गरी कार्य थालिएको उनले बताए।
'रष्ट्रिय गानबाट सेवा सुरु गर्दा कार्यालयमा आउने सेवाग्राही र कर्मचारीहरुमा राष्ट्रप्रतिको भाव बढ्ने र कर्मचारी र सेवाग्राहीहरुमा जहाँ जुन सुकै बेला पनि राष्ट्रप्रति जिम्मेवार बनाउन्छ विश्वास लिएका छौँ,' उनले भने। नेपाली राष्ट्रिय गाानले राष्ट्रिय एकता र सेवा प्रवाहमा पनि सुधारमा ल्याउने उनले बताए।
सेवाग्राहीलाई सुविधा
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुको समस्यालाई मध्यनजर गर्दै सुविधा बढाएको छ। सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै कार्यालयमा टेलिभिजन, फ्रि वाइफाई, चिसो पानी, पंखा लगायतको व्यवस्था गरिएको प्रजिअ रानाले बताए।
'सेवाग्राहीहरु नागरिकता बनाउनका लागि बिहान नै कार्यालयमा आउन्छन् र कागजपत्र बुझाएपछि नागरिकता प्राप्त गर्ने समय सम्म उनीहरुले कुर्नुपर्छ,' उनले भने, 'त्यस कारणले सेवाग्राहीको सुविधाको लागि सुविधा बढाइएको हो।'
चर्को गर्मीमा कार्यालयमा सेवाग्राहीको चाप बढेपछि चिसो पानी र पंखाको व्यवस्था समेत गरिएको कार्यालयका स्टोर प्रमुख नासु यज्ञराज पोख्रेलले बताए। विगतमा सुविधा नहुँदा सेवाग्राहीहरुलाई कुर्नसमेत धौधौ हुने गरे पनि अहिले उनीहरु आनन्दले बसेर सेवा लिएर जाने गरेको उनले बताए।
नयाँ प्रमुखको रुपमा उदयबहादुर राना आएपछि कार्यालयको सेवादेखि लिएर धेरै विषयमा परिवर्तन आएको सेवाग्राही बताउँछन्।
नागरिकताको प्रतिलिपि लिन तिलोत्तमा नगरपालिका ११ बाट कार्यालयमा आएकी सिर्जना गौतमले कार्यालयले सेवाग्राहीको लागि व्यवस्था गरेको सुविधा निकै प्रशंसनीय रहेको बताइन्। 'पहिला कागजपत्र बुझाएर त्यतlकै बस्नुपर्थ्यो,' उनले भनिन्, 'अहिले त पंखाको तलको चिसो पानी खाएर टिभी हेरेर बसे पनि भयो। वाइफाई चलाएर बसे पनि भयो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।