काठमाडौं- शनिबार नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतमको प्रेस संयोजन गरिरहेका विश्वमणि सुवेदीले फेसबुकमा एउटा तस्बिर सार्वजनिक गरे। जसमा नेकपा एकीकृत समाजवादीको नाम, भण्डा र शीर्ष नेतृत्वलाई देख्न सकिन्छ। माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम तीनैजना त्यो तस्बिरमा देखिन्छन्।
निर्वाचन आयोगमा माधवकुमार नेपालको नेतृत्वमा दर्ताका लागि यो पार्टीको निवेदन परेको छ। आयोगले भदौ ९ गते सनाखतका लागिसमेत बोलाइसकेको छ। दिल्लीमा उपचाररत एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री खनालले पनि आफू अब नेकपा एकीकृत समाजवादीमा रहेको सार्वजनिक रुपमै घोषणा गरिसकेका छन्। तर, गौतमले अहिलेसम्म औपचारिक घोषणा गरिसकेका छैनन्।
के गौतम पनि माधव नेपाल नेतृत्वको पार्टीमा लागेका हुन्? हामीले उनका स्वकीय सचिव दीपक टमाटालाई यसबारे सोधेका थियौं। उनले नेपालसँग निरन्तर संवादमा रहेपनि निर्णय भने भइनसकेको बताए।
'माधव नेपालसँग छलफल गर्दै हुनुहुन्छ। अझै सबै कुरा मिलिसकेको छैन। ९ गतेसम्म सबै कुरा मिल्छ। अहिले नै यता वा उता कता लाग्ने भन्ने निर्णय गरिसक्नुभएको छैन', टमाटाले नेपाल लाइभसँग भने।
उसो त गाैतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिने गरेका छन्। ओलीकै कारण एमाले सिद्धिएको भन्दै उनले ओलीसँग जान नसकिने आफूनिकटस्थहरुमा बताउने गरेका छन्।
शुक्रबार मात्र गाैतमलाई भेट्न उनको निवास पुगेका नेपालनिकटक जाजरकोटका नेताहरूलाई नयाँ पार्टीका लागि अघि बढ्न भनेका थिए। उनले केही दिनमा औपचारिक निर्णय गरेर नेपाल नेतृत्वकै पार्टीमा रहने संकेत गरेका भेटमा सहभागी किसान महासंघका केन्द्रीय सदस्य कृष्ण बिसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।