काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएको २ हप्ता पुग्न लागेको छ। संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री नियुक्त केसीले धारा १६८ कै (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ।
गत साउन २८ गते मुख्यमन्त्रीको सपथ लिएलगतै केसीले विश्वासको मत लिने घोषणा गरेका थिए। तर, विपक्षी दल नेकपा एमालेले लगातारजसो प्रदेशसभा बैठक अवरुद्ध पार्दै आएपछि केसीले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा पेस नै हुन पाएको छैन।
नेकपा एमालेले २ जना प्रदेश सभा सदस्य (सांसद)लाई कारबाही (पदमुक्त) गरिनुपर्ने मागसहित प्रदेश सभा बैठक अवरुद्ध पार्दै आएको छ। नवलपरासी पश्चिमबाट सूर्य चिह्नबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य अजयबहादुर शाही र दाङको उपनिर्वाचनमा नेकपाबाट विजयी भएर नेकपा विघटनपछि माओवादी केन्द्र रोजेकी विमला केसी (ओली)लाई कारबाही गरिनुपर्ने एमालेको माग छ। दुवै जनाले राजनीतिक दलसम्बन्धी ऐनविपरीत केसीलाई मुख्यमन्त्रीमा समर्थन गरेकाले पार्टीले कारबाही गरेकाले पदमुक्त गरिनुपर्ने एमाले सांसद्हरुको अडान छ।
माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका केसीले गठबन्धनलाई मिलाएर लग्नुपर्ने भन्दै ६ जना मन्त्रीमध्ये ३ जनालाई मात्रै जिम्मेवारी दिएका छन्। अझै ३ जना मन्त्री विनाविभागीय नै छन्।
केसीले विश्वासको मत लिने अवस्था नबनेकाले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषय पनि अगाडि बढ्न सकेको छैन।
भदौ १, २ र ३ गतेगरी लगातार अवरुद्ध हुँदै आएको प्रदेश सभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ। तर, सोमबारको बैठक पनि सहजै चल्ने अवस्था भने बनिसकेको छैन।
'प्रदेश सभाको बैठक सोमबार दिउँसो १ बजे बोलाएको छ। विपक्षी दल (एमाले)ले त्यो बैठक अवरोध गरेमा विश्वासको मत लिन गाह्रो हुन सक्छ,’ आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले भने, 'बैठक चलाउने विषयमा एमालेसँग सहमति भएमा विश्वासको मत लिने वातावरण बन्न सक्छ। दलहरुबीच सहमति बन्छ कि बन्दैन भन्ने विषय प्रमुख भएको छ।'
एमालेले सदन चल्न दिने सहमति भएमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा पेस हुने मन्त्री खड्काको भनाइ छ। मुख्यमन्त्री केसीको पक्षमा माओवादी केन्द्रका १८ जना, नेपाली कांग्रेसका १९ जना, जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरेर ४१ जना प्रदेश सभा सदस्य (सांसदहरू)को समर्थन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।