काठमाडौं– लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभा सदस्य (सांसद) अजय शाही र विमला खत्री (ओली)लाई पदमुक्त गर्न (सांसद पदबाट हटाउन) नसकिने निर्णय गरेका छन्।
सूर्य चिह्नबाट निर्वाचित भएका उनीहरुले राजनीतिक दलसम्बन्धी ऐन विपरीत माओवादी केन्द्रका कुलप्रसाद केसी (सोनाम)लाई मुख्यमन्त्रीमा समर्थन गरेकाले प्रदेश सभा सदस्यबाट कारबाही गरिएको भन्दै एमालेले प्रदेश सभा सचिवालयलाई पत्र लेखेको थियो।
नवलपरासी पश्चिमबाट सूर्य चिह्न लिएर (हृदयेश त्रिपाठी समूह)बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य शाही र दाङको उपनिर्वाचनमा नेकपाबाट विजयी भएर नेकपा विघटनपछि माओवादी केन्द्र रोजेकी ओलीलाई एमालेले कारबाही गरेकाले पदमुक्त गर्नुपर्ने एमालेको अडान छ। दुवै जनालाई पदमुक्त नगरिएको भन्दै एमालेले प्रदेश सभा बैठक समेत अवरुद्ध पार्दै आएको छ।
तर, सभामुख घर्तीले भने एमालेले कारबाही गरेको सूचनाबारे सदनमा जानकारी दिन नसकिने निर्णय गरेका हुन्। प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जारी गरेको सूचनामा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम एमालेले गरेको कारबाहीको सूचनाबारे सदनलाई जानकारी दिन नसकिने निर्णय भएको जनाइएको छ।
शाही र ओलीले प्रदेश सभा सचिवालयमा पेस गरेको व्यक्तिगत विवरण र कागजात हेर्दा नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ बमोजिम सूचना दिन पाउने वा नपाउने भन्ने प्रश्नमा निर्णय गर्दा सदनमा जानकारी दिन नसकिने निर्णय सभामुखले गरेका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।