बागबजारको पद्मकन्या (पीके) बहुमुखी क्याम्पसलाई कतिपयले ‘महिला विश्वविद्यालय’ पनि भन्दा रहेछन्। भन्नेले जे भनून्, अन्य सरकारी क्याम्पसभन्दा पद्यकन्या धेरै फरक छ। त्यो फरक, महिला क्याम्पस हुनुले मात्र भएको होइन। तर, यो फरकपनासँगै विरोधाभास पनि उति नै छन्।
क्याम्पसका प्रायः हरेक भवनमा ‘महिलाको सशक्तिकरण’ लेखेको भेटिन्छ। तर, ती भित्ताका अक्षर र कतिपय छात्राका अनुभव र अपेक्षा भने उल्टो दिशामा घुमेका छन्।
पीके जान छाडेपछि सबैभन्दा बढी सम्झनामा आउने रुद्राक्षको बोट भएको चौतारो हो। त्यहाँ बसेर कति कप चिया खाइयो र कति समय ‘गफ लाएर’ बसियो, त्यसको हिसाब कसले राख्ने? बरु एउटै थेगो थियो– ‘चिया खाएर चार लाख सकियो।’
स्नातक सकिने दिन नजिकिँदा परीक्षाको तनाव त हुन्छ नै, ‘अब के गर्ने?’ भन्ने अर्को तनाव पनि हुन्छ। त्यति बेला गफका विषय ‘अब कता पढ्ने? कुन विषय पढ्ने?’ भन्ने नै हुन्छ। तर, पढ्ने र ‘करिअर’ बनाउने यही बेला आइलाग्ने अर्को झमला हो, बिहेको प्रस्ताव।
त्यही रुद्राक्षको फेदमा बसेर धेरै साथीका प्रेमप्रसंग सुनियो। कतिका ‘ब्रेकअप’ कहानी पनि सुनियो। कतिका बिहेपछिको जिन्दगीको योजना थाहा पाइयो। तर, मागी बिहे हुँदै गर्दाको अनुभूति कसैले बाँडेको थिएन।
एक दिन रुद्राक्षको फेदमा बहस चलिरहेको बेला एक जना साथी अलि पर मोबाइलमा कुरा गरिरहेकी थिइ। कुरा सकाएपछि ऊ पनि त्यहीँ आई र भनी– ‘मलाई माग्न घरमा केटा आउने कुरा रहेछ।’
सबै जना गलल हाँसे।
‘म त यस्तो केटासँग बिहे गर्ने हो। यता घुम्न जाने हो। यस्तो घर बनाउने हो।’ यी भइरहने गफ थिए।
हाम्रो हाँसो थामिएपछि उनी परिवारले भनेको कुरा सुनाउन थालिन्। ‘केटा लायकको छ रे। पढे लेखेको छ रे। काम गर्छ रे। कमाइ राम्रो छ रे। घरपरिवार पनि सहरमा बसेका छन् रे। केटो सहरमा हुर्केकोले बुझक्की छ रे। हाम्रो परिवारभन्दा सम्पत्ति पनि भएकै हुन् रे। केटा हेरेर कुरा अघि बढाउनुपर्छ है, सकेसम्म नाइँ नभन्नू भनेका छन्।’
मलाई चाहिँ यस्ता कुरा सुन्दै अचम्म लाग्छ। रे, तर, परन्तु, किन्तु महिलाका लागि मात्र बनेका शब्द जस्ता लाग्छन्। युवतीहरुको भविष्य ‘रे’ मा भर परेको हुन्छ। दुई फरक परिवार, दुई फरक संस्कार, दुई फरक परिवेश र जीवन शैली तथा दुई फरक मनको मेल हुने विवाह जस्तो सम्बन्धलाई किन यसरी भृकुटी मण्डपको कपडा जसरी मोलमोलाइ गरेको होला? उफ्! तपाईंलाई चाहिँ अचम्म लाग्दैन?
यदि अचम्म लाग्दैन भने तपाईं पुरुष हुनुपर्छ। तर, महिलामाथि ‘लिङ्गीय विभेद’को सोच कम राख्नुहुन्छ भने पक्कै धैर्यपूर्वक मेरा अनुभूति पढ्न सक्नुहुन्छ।
तपाईंलाई अर्को अनुभव पनि सुनाइहाल्छु, एक लाइनमा। छोरीमाथि विभेद बाबुबाट मात्र नभइ आमाबाट पनि हुन्छ।
छोरीको बिहे गर्नुअघि ज्वाइँको सम्पत्तिको लेखाजोखा बाबुआमा दुवैले गरिरहेका हुन्छन्। ‘छोरीलाई ज्वाइँले पाल्नुपर्छ’ भन्ने सोच दुवैमा छ। यसको अर्थ हो– ‘मेरी छोरी कमजोर छ, गरीखान सक्दिन, त्यसैले ज्वाइँमा भर पर्नुपर्छ र ज्वाइँले पनि भर दिनुपर्छ।’
यसको अर्को मनोविज्ञान पनि छ, जुन पहिलोभन्दा खतरनाक छ। त्यो मनोविज्ञान हो– ‘जति पढे पनि र पढाए पनि छोरी भनेको बिहे गरेर अर्काको घर जाने, सासू, ससुरा स्याहार्ने, खाना पकाउने, बच्चा पाइदिने र हुर्काइदिन मात्र हो।’ प्रष्ट रुपमा नभने पनि व्यवहारबाट भन्न खोजिएको यही हो। सोच्नुहोस् त, यो मनोविज्ञानले महिलालाई मान्छे ठान्छ?
ज्वाइँ उमेरले छोरीभन्दा ठूलै हुनुपर्ने, छोरीभन्दा बढी पढेको हुनै पर्ने, आफूभन्दा अलिक हुने खाने हुनै पर्ने, बजार आसपास घरजग्गा भएको चाहिने, अझै सकभर विदेशतिर ‘सेटल’ भएको चाहिने, नभए सरकारी जागिर त हुनै पर्यो। यसरी पितृसत्तालाई संस्थागत गरिन्छ।
जन्माउने, हुर्काउने र कम–बढी पढाउने बाबुआमाले नै छोरीलाई दुर्बल ठान्छन् भने दुनियाँले के ठान्दो हो? २०/२५ वर्षसम्म आफूसँग हुर्काएर पनि छोरीको जीवन जिउने कला र क्षमता बाबुआमाले त चिन्दैनन् भने अर्को मान्छेले छोरीलाई खुसी दिन्छ भन्ने कसरी विश्वास गर्छन्? एकपटक झलक्क देखेको पुरुषप्रतिको यत्रो विश्वास गर्ने जग के हो?
अरु पनि यस्ता प्रश्न छन्, जसको जवाफ मैले पत्ता लाउन सकेको छैन। ज्वाइँ उमेरले छोरीभन्दा ठूलै हुनुपर्ने, छोरीभन्दा बढी पढेको हुनै पर्ने, आफूभन्दा अलिक हुने खाने हुनै पर्ने, बजार आसपास घरजग्गा भएको चाहिने, अझै सकभर विदेशतिर ‘सेटल’ भएको चाहिने, नभए सरकारी जागिर त हुनै पर्यो। यसरी पितृसत्तालाई संस्थागत गरिन्छ। अनि, महिलामाथिको विभेद कसरी हट्ला?
घरबाट बाहिर निस्कँदा पनि आफूभन्दा सानो भाइलाई साथी लैजान भनिन्छ। ‘छोरी भएर पनि यस्तो गर्छन्?’ अथवा ‘छोरी भएर पनि यस्तो बोल्छन्?’ भनेको त कति सुनियो, कति! हामीलाई त छोरी हुनुको हिनताभाव सिकाएर हुर्काइँदोरहेछ।
हाम्रा बाआमाले किन भन्न सक्दैनन्– मेरी छोरी पनि सफल छिन्। उनको आफ्नै रुचि, चाहना, र लक्ष्य छ। त्यसको सम्मान गर्नुस्।
छोरीको विवाहलाई परिवारको इज्जतसँग जोडिन्छ। नजाने कति युवतीले आफ्नै मनमौजीले बिहे गर्छन्। धेरैले त ‘परिवारको इज्जत’ जोगाइदिन्छन्। र, फेरि पनि महिलाको गन्तव्य श्रीमानको घरमा गएर टुंगिन्छ।
दाइजो र तराईमा दिइने तिलकको भाष्य पनि महिलाको कमजोरीलाई पुष्टि गर्न बनाइएको कुसंस्कार हो। महिला आर्थिक, शारीरिक र अरु जे–जे छन् सबै दृष्टिकोणबाट कमजोर भकाले केटा पक्षलाई खुसी बनाउन दाइजो र तिलकसँग छोरी ‘बेच्ने’ संस्कारविरुद्ध अब त बोल्नैपर्छ।
पढाइ, सीप र तालिमबाट दक्ष बनाएर बाबुआमाले आफ्नी छोरीको सक्षमतामा गर्व गर्नुपर्छ। बिहे गर्ने पुरुषले पनि क्षमतावान् जीवनसाथी रोजे हाम्रा कुसंस्कारहरु कम होलान्। यो जिम्मेवारी पुरुषको पनि हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।