विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यापारिक मार्ग विस्तार आयोजना ६ लेनको काममा भइरहेको ढिलासुस्तीले विराटनगरमा डुबान समस्या हुनसक्नेमा चिन्ता व्यक्त गरेका छन्।
विराटनगर महानगरभित्र निर्माण भइरहेको आयोजनाअन्तर्गत बनेका सडक र नालीको सोमबार गरिएको अनुगमनका क्रममा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
आयोजनाले बनाएका सडक र नालीसँग जोडिएका सबै शाखा बाटा क्लियर नहुँदा पानी जम्ने र विराटनगर जलाशयमा परिणत हुने खतरा बढेको छ। वर्षातको समय नजिकिँदै जाँदा उत्पन्न समस्या समाधानका लागि उचित विकल्प निकाल्न आवश्यक भएकाले अनुगमन गरिएको प्रमुख पराजुलीले जानकारी दिए।
उनले वर्षातको समयअगावै निर्माणाधीन सडकको काम सम्पन्न गर्न र अवरोध आएका नाला तत्काल सफा गर्न सम्बन्धित ठेकेदारलाई निर्देशन दिएका छन्।
विभिन्न स्थानमा विकास निर्माणका क्रममा उत्पन्न समस्या प्रति नगरवासीले गनासो गर्न थालेपछि प्रमुख पराजुलीले अनुगमन कार्यलाई तीव्रता दिएका हुन्।
प्रमुख पराजुलीले विराटनगर महानगरपालिकाअन्तर्गत दूधफार्म, आयल निगम, कञ्चनबारी, बरगाछी र मुनालपथमा भइरहेका निर्माण कार्यको स्थलगत निरीक्षण गरेका थिए। अनुगमनमा सम्बन्धित कम्पनीका ठेकेदार, प्रदेशसभा सदस्य केदार कार्की तथा वडाअध्यक्ष विनोद बस्नेत र प्राविधिकलगायतको सहभागिता थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।