काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालाले मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही हुन आवश्यक नरहेको बताएका छन्।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेता कोइरालालाले कांग्रेस परिवर्तनको पक्षमा उभिने आफूहरु मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने उल्लेख गरेका हुन्।
उनले पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वभाविक रुपमा लिँदै कांग्रेस रुपान्तरणको अजेन्डामा निरन्तर कृयाशि रहने बताएका छन्। 'आशा छ कांग्रेस परिवर्तनको पक्षमा उभिने हामी मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही हुनेछैनौँ। पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वभाविक रुपमा लिदै कांग्रेस रुपान्तरणको अजेन्डामा निरन्तर कृयाशिल हुनेछौँ' उनले विज्ञप्तिमा भनेका छन्।
आफू पराजित भए पनि प्रतिनिधि र लोकतन्त्रवादीहरुको “मन” जित्न सफल भएको उनले उल्लेख गरेका छन्।
'पार्टी भित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वासको वृद्धि गराएका छौं' विज्ञप्तिमा कोइरालाले भनेका छन्।
आफूलाई प्राप्त मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी काँधमा आएको उनले उल्लेख गरेका छन्।
'मलाई प्रतिनिधि साथीहरुबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु। प्रतिनिधि साथीहरुले म प्रति देखाएको विश्वास र भरोसा प्रति म अविचलित रहने प्रण गर्दछु' उनले भनेका छन्।
पार्टीका प्रतिनिधि, शुभेच्छुक र आम नेपाली जनताबीच आफ्नो उम्मेदवारीले पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत प्राप्त विश्वास लिएको उनले जनाएका छन् 'हामी निरन्तर पार्टीलाई सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न जागृत रहने छौँ' उनले भनेका छन्।
पार्टी भित्र रुपान्तरण र परिवर्तनको यो लडाई सहज नभएको बताउँदै उनले आफूहरु पार्टी भित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रबृति, गलत संस्कृति र संस्कारको विरुद्ध लडिरहेको उलेलेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।