काठमाडौं– नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सुरु हुन हप्तादिन मात्रै बाँकी हुँदासम्म अधिकांश प्रदेशले पदाधिकारी टुंगो लगाउन सकेका छैनन्। प्रदेश सम्मेलनबाट पदाधिकारी टुंगो लगाउन नसक्दा पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुंगो लाग्न सकेको छैन।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत मंसिर २५ गते सात भौगोलिक र दुई गैरभौगोलिक प्रदेश सम्मेलन एकै पटक भर्चुअल रुपमा उद्घाटन गरेका थिए। प्रदेश सम्मेलन उद्घाटन भएको दुई हप्ता पुग्न लाग्दासमेत अधिकांश प्रदेश पदाधिकारी टुंगो लगाउन सकेका छैनन्। पुस ६ गतेभित्र प्रदेश पदाधिकारी टुंगो लगाएर राष्ट्रिय सम्मेलन प्रतिनिधि केन्द्रमा पठाउन माओवादीले निर्देशन दिएको छ। प्रदेश अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मत हुन नसक्दा समस्या देखिएको छ।
प्रदेश समिति चयन भए पनि अधिकांश प्रदेशमा अध्यक्षसहित पदाधिकारी चयन हुन नसकेपछि निर्वाचन गरेर टुंगो लागाउन निर्देशन दिइएको छ। ‘सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेश समितिमा सहमति भइसकेको छ तर, धेरैमा प्रदेश अध्यक्ष र पदाधिकारीमा विवाद हुँदा सर्वसम्मत हुन सकेन। त्यसैले प्रदेश समितिबाट नेतृत्व टुंगो लगाउन निर्देशन दिएको छ’ माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले भने।
माओवादीले पार्टीमा आन्तरिक निर्वाचन गर्ने नीति तय गरेपनि सेल, वडा र पालिकासम्म जबरजस्ती भए पनि सर्वसम्मत रुपमा सम्पन्न भएका थिए। तर, प्रदेश सम्मेलनसम्म आउँदा सर्वसम्मत नहुँदा अधिकाश प्रदेशमा पदाधिकारी टुंगो लाग्न नसकेको हो।
टुंगो लागेका प्रदेशमा अध्यक्ष सर्वसम्मत भएपनि अन्य पदाधिकारीमा सहमति हुन नसक्दा कमिटीले पूर्णता पाएको छैन। यसरी प्रदेशमा सर्वसम्मत हुन नसकेपछि प्रतिनिधिहरुले निर्वाचन लड्न पाउनुपर्ने माग गरेका छन्। तर, अध्यक्ष प्रचण्डले प्रदेश समितिमा सर्वसम्मत गर्न निर्देशन दिएकाले नेताहरुले आन्तरिक निर्वाचनमा लग्ने आटसमेत गर्न सकेका थिएनन्। पार्टीका नेताहरु अध्यक्ष प्रचण्डको निर्देशन भन्दा बाहिर गएर निर्वाचन गर्न सक्ने अवस्था नभएपछि कमिटी बन्न नसकेको हो।
राष्ट्रिय सम्मेलनमा देशैभरबाट एक हजार ५ सय प्रतिनिधि काठमाडौं आउने छन्। त्यसका लागि प्रदेश समितिले प्रतिनिधिको अनुमोदन गर्नुपर्ने भए पनि कमिटीले नै पूर्णता नपाएपछि सम्मेलन प्रभावित हुन सक्ने बताएको छ। पार्टी अध्यक्ष प्रचण्डले माओवादीलाई विधि पद्दतीमा चलाउने भन्दै बारम्बार नेता कार्यकर्तालाई आश्वस्त बनाउँदै आएका थिए। त्यसका लागि पार्टी कमिटीमा सकेसम्म सर्वसम्मत नभए निर्वाचन गरेर पार्टीमा लोकतान्त्रिक अभ्यास गरिने बताउँदै आएको थियो। तर, पार्टी कमिटीलाई सर्वसम्मत भन्दा बाहिर जान नदिएपछि क्षमता भएका नेताहरुपनि खुम्चिन बाध्य भएको नेताहरुले गुणासो गर्न थालेका थिए।
जनवर्गीय संगठनको अवस्था उस्तै
गत भदौमा योङ कम्युनिस्ट लिग (वाईसीएल) राष्ट्रिय सम्मेलन काठमाडौमा भयो। त्यहाँ पनि अध्यक्षका आकांक्षी धेरै भएपछि प्रचण्डले सुमन देवकोटालाई संयोजक र सुवोध सेर्पालीलाई सहसंयोजक तोकिदिए। तर, पूर्ण नेतृत्व वाईसीएलले अझै पाउन सकेको छैन। यसअघि माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सम्मेलनबाट अध्यक्षका लागि आधा दर्जन नेताहरुले आकांक्षा राखेका थिए।
अध्यक्ष प्रचण्ड आफैंले तोकेर विद्यार्थी संगठनको अध्यक्षमा पञ्चा सिंहलाई बनाएर पठाए। अरु अध्यक्षका दाबेदार सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा, विजय गौतम लगायत नेताहरुले दाबेदारी छोडेका थिए। ति अध्यक्षका दाबेदारलाई पार्टी केन्द्रीय समितिमा समेट्न आवश्वान दिएको थियो। अहिले ति अध्यक्षका दाबेदार कतिपय प्रदेश कमिटीमा समेटिएका छन्। प्रचण्डले सिंहलाई अध्यक्ष बनाएपनि पदाधिकारीमा सर्वसम्मत हुन नसक्दा घोषणा हुन सकेको छैन। गत मंसिर २७ गते बल्ल १ सय ९९ सदस्यीय केन्द्रीय समिति र प्रदेश समिति घोषणा भएको छ। विद्यार्थी संगठनमा पदाधिकारीको कहिले पूर्णता पाउने भन्ने टुंगो लाग्न सकेको छैन।
यस्तै पत्रकारहरुको संगठन प्रेस सेन्टरमा चितवन सम्मेलनबाट अध्यक्षमा विष्णुप्रसाद सापकोटा ‘जुगल’लाई बनाउँदै १ सय ९९ सदस्यी केन्द्रीय कमिटी मात्रै घोषणा भयो। पदाधिकारीमा सर्वसम्मत हुन नसक्दा अझै घोषणा हुन सकेको छैन।
कुन प्रदेशमा के भयो?
प्रदेश एकमा २ सय ५१ सदस्यीय प्रदेश कमिटी मात्रै बनाइएको छ। अध्यक्षका लागि केन्द्रीय सदस्य हेमराज भण्डारी, सुदन किराती र सुरेशकुमार राई तीन जनाले दाबी गरेपछि सर्वसम्मत हुन नसकेको एक नेताले बताए। तीनै जना केन्द्रीय सदस्य छोडेर प्रदेश अध्यक्ष हुन तयार भएका छन्।
पार्टी अध्यक्षले नै सर्वसम्मत रुपमा टुंगो लगाउन निर्देशन दिएपछि सहमति हुन नसक्दा प्रदेश अध्यक्ष सहित पदाधिकारी घोषणा हुन सकेको छैन। यस्तै प्रदेश–२ मा २७१ जनाको प्रदेश समिति बनाइएको छ। अध्यक्षसहित पदाधिकारीमा गृहकार्य नभएको भन्दै राष्ट्रिय सम्मेलनपछि मात्रै घोषणा गरिने केन्द्रीय सदस्य विश्वनाथ साहले बताए। यद्दपी राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि भने छानेर पठाइने साहले बताए।
बागमती प्रदेशमा अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि २ सय ७५ सदस्यीय प्रदेश समिति मात्रै घोषणा गरिएको छ। अध्यक्षका लागि प्रदेश समितिमा रहेका सरल सहयात्री पौडेल, दीनानाथ गौतम र डिपी ढकाल, विदुर खड्काले दाबी गरेका छन्। ति सबै प्रदेश समितिका मात्रै नेता हुन्। नेतृत्वबाट सर्वसम्मत रुपमा टुंगो लगाउन निर्देशन दिएपछि अध्यक्षसहित पदाधिकारी घोषणा हुन सकेको छैन्। गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ सर्वसम्मत घोषणा भएपनि पदाधिकारी घोषणा हुन सकेको छैन्। हाल प्रदेश समिति २ सय एक सदस्य मात्रै घोषणा गरिएको छ। अरु पदाधिकारी कहिले घोषणा हुने टुंगो छैन।
लुम्बिनी प्रदेश अध्यक्षमा सहमति हुन नसकेपछि २ सय १७ जना प्रदेश समिति घोषणा गरेर सपथ समेत खुवाइ सकिएको छ। प्रदेश अध्यक्षमा सुदर्शन बराल घोषणा भएपनि पदाधिकारी घोषणा हुन पाएको छैन। पदाधिकारीमा को को बस्ने भन्ने विषयमा विवाद हुँदा सहमति हुन सकेको छैन।
कर्णाली प्रदेश अध्यक्षमा विमला केसी सर्वसम्मत घोषणा भइसकेकी छन्।
अरु पदाधिकारी घोषणा कहिले हुने टुंगो छैन। तर, प्रदेश पदाधिकारी २ सय ११ सदस्यीय बनाएको छ। यस्तै सुदूरपश्चिम प्रदेशमा २ सय २३ सदस्यीय प्रदेश समिति घोषणा गरेर शपथ खुवाएको छ। प्रदेश अध्यक्षसहित पदाधिकारीमा सहमति हुन नसक्दा घोषणा हुन सकेको छैन।
प्रदेश अध्यक्षका लागि हरिराम चौधरी र नरेन्द्र कुँवरले दाबी गरेका छन्। अरु केन्द्रीय सदस्यहरुले प्रदेश अध्यक्षमा दाबी छोडेपछि कुँवर र चौधरी मात्रै दाबेदार भएका हुन्। कुँवर पार्टी केन्द्रीय सदस्य छन् भने चौधरी राष्ट्रिय सभा सदस्य र पार्टीमा प्रदेश समितिमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।