काठमाडौं– नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पुगेको छ । खोप अभियान सुुरु भएदेखि हालसम्म तीन करोड चार लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म एक मात्रा खोप लगाएकाको संख्या एक करोड ६४ लाख ५८ हजार ४७५ छ भने एक करोड ३७ लाख ३४ हजार ३९० जनाले पूर्ण मात्रा खोप लगाएका छन्।
यस्तै अतिरिक्त खोप लगाउनेको संख्या दुई लाख ८२ हजार ७२४ पुगेको छ। कुल जनसंख्यामा एक मात्रा लगाउनेको ५४.२ र पूर्ण मात्रा लगाउने ४५.२ प्रतिशत पुगेको मन्त्रालयको तथ्यांक छ।
लक्षित जनसंख्यामा एक मात्रा लगाउने ८२.६ र पूर्ण मात्रा लगाउने ६८.९ प्रतिशत रहेका छन्। हाल १२ देखि १७ वर्ष उमेर समूह र सोभन्दा माथि सबै उमेर समूहका व्यक्तिलाई सरकारले निःशुल्क खोप दिँदै आएको छ । १ वर्षदेखि ११ वर्षका बालबालिकाका लागि खोप अभियान छिटै सुरु गरिने मन्त्रालयले बताएको छ।
नेपालमा २०७७ माघ १४ देखि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको थियो । नेपालमा कोरोनाविरुद्धको पहिलो पटक भित्रिएको कोभिसिल्ड खोप लगाएर खोप अभियान सुरु गरिएको थियो। सुरुमा खोप आउँदा नेपालमा प्रयोग गर्नका लागि मात्र खोप ल्याइएको हो भन्ने प्रचारले नागरिकलाई खोपप्रति आकर्षण थिएन।।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।