काठमाडौं- कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले ट्याक्सी र निजीबाहेकका सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ।
सीसीएमसीको शुक्रबार बसेको बैठकले मन्त्रिपरिषद्समक्ष यस्तो सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।
जोरबिजोर प्रणालीले सार्वजनिक सवारीमा भिड बढेको छ। यसले झनै जोखिम बढेको भन्दै जनस्तरबाट सरकारको आलोचना हुँदै आएको छ।
यस्तै, सीसीएमसीले आगामी माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ। प्रवक्ता नेपालका अनुसार भर्चुअल माध्यममार्फत् पठनपाठन गर्न दिने गरी सिफारिस भएको हो।
यसअघि सरकारले माघ १५ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएको थियो। तर, कोरोनाको जोखिम यथावत् रहेको भन्दै यो अवधि लम्ब्याएर माघ मसान्तसम्म पुर्याइएको हो।
यता, पार्टी प्यालेस, डान्स बार, रेष्टुरेन्ट, जिम र फिल्म हलमा पनि यही निर्णय लागू हुनेगरी सिफारिस भएको छ। मन्त्रिपरिषद्बाट निर्णय भएपछि उक्त व्यवस्था लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।