काठमाडौं- काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हट्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार आदेश जारी गर्दै शनिबारदेखि उक्त प्रणाली हटाउने जानकारी दिएको हो। तर, ट्याक्सी र निजी सवारी (दुई पांग्रेसहित)मा भने जोरबिजोर प्रणाली यथावत रहने प्रशासनको आदेशमा उल्लेख छ। नयाँ आदेशअनुसार बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हटेको छ।
यसअघि आजै बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले ट्याक्सी र निजीबाहेकका सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गर्ने निर्णय गरेको थियो।
जोरबिजोर प्रणालीले सार्वजनिक सवारीमा भिड बढेकोले झनै संक्रमणको जोखिम बढेको भन्दै जनस्तरबाट सरकारको आलोचना हुँदै आएको थियो।
यस्तै, माघ मसान्तसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द गर्ने पनि प्रशासनको आदेशमा उल्लेख छ। यद्यपि प्राविधिक तथा भाषा परीक्षाहरु भने स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न पाउने उल्लेख छ।
यसअघि सरकारले माघ १५ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएको थियो। तर, कोरोनाको जोखिम यथावत् रहेको भन्दै यो अवधि लम्ब्याएर माघ मसान्तसम्म पुर्याइएको हो।
यता, पार्टी प्यालेस, डान्स बार, रेष्टुरेन्ट, जिम र फिल्म हलमा यसअघिकै निर्णय यथावत् राखिएको छ।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।