तम्घास- गुल्मी सदरमुकाम तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ। सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो।
कोरोना माहामारीको सुरुआतमा नै भैरहवासम्म स्वाब पठाउनुपर्ने हैरानीले जिल्लाका स्थानीय तहले प्रयोगशाला सञ्चालन गरेका थिए। खर्च थेग्न नसकेपछि प्रयोगशाला बन्द गर्नुपरेको गुल्मी अस्पतालका प्रमुख डा उत्तम पच्याले जानकारी दिए। २०७७ असोज ७ गतेदेखि सुरु गरिएको प्रयोगशाला एक वर्षमात्रै सञ्चालन भयो।
उक्त अवधिमा ७१ लाख रुपैयाँ खर्च भएको थियो। संघीय सरकारले १५ लाख रुपैयाँ तथा जिल्लाका स्थानीय तहले ५६ लाख रुपैयाँ प्रदान गरेका थिए। प्रयोगशालाको भौतिक र प्राविधिक व्यवस्थापनमा एक करोड ९७ हजार रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ।
प्रयोगशाला बन्द भएसँगै स्वाब भैरहवा पठाउनुपर्ने र रिपोर्ट ढिला आउने हुँदा जिल्लामा पीसीआर परीक्षण गर्न सकिएको छैन। कोभिड-१९ का सम्भावित बिरामीको जिल्ला अस्पतालमै एन्टिजेन परीक्षण गरिँदै आएको छ। ४० लाख रुपैयाँ जुटाउनसके प्रयोगशाला नियमितरुपमा प्रयोगमा ल्याउन सकिने अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।