बैतडी- भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्दै गएको छ। यहाँ हाल दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।
विगत १५ दिनयता प्रदेशमा सात हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ। स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार गत पुस २८ गतेदेखि हालसम्म सात हजार ३१८ जनामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा संक्रमणका कारण थप सात जनाको ज्यान गएको निर्देशनालयले जनाएको छ।
पुस २८ गतेसम्म यस प्रदेशमा ४९ हजार ४७९ जनामा संक्रमण देखिएकामा हाल त्यो संख्या बढेर ५६ हजार ७९७ पुगेको छ। मृतक ६१४ जना रहेकामा हाल बढेर ६२१ जना पुगेको छ। भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिएसँगै त्यसको प्रभाव यस प्रदेशमा पनि देखिएको हो। हाल यहाँका नाकाबाट फर्किने अधिकांशमा कोरोना संक्रमण देखिन थालेको छ। भारतसँगका यहाँका झुलाघाट, पुलघाट, जौलजिवी, दत्तु, खलङ्गा, गड्डाचौकी र त्रिनगर नाकाबाट स्वदेश फर्किनेको क्रम बढेको छ।
भारतका विभिन्न सहरमा प्रतिबन्ध लगाइएका कारण त्यहाँ कार्यरत नेपाली नागरिक स्वदेश फर्किन थालेका छन्। साथै माघी पर्वमा पनि बढीजसो गाउँ फर्किएकाले संक्रमणदर बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। उनले भने, 'परीक्षण बढेकाले संक्रमणदर पनि बढेको देखिएको छ, माघी र भारतका केही सहरमा लकडाउन भएकाले नेपाली कामदार घर फर्किएकाले संक्रमणदर बढेको हो।'
भारतमा ओमिक्रोनको संक्रमण तीव्ररुपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ। यस प्रदेशमा मंगलबार चार जनामा ओमिक्रोन पुष्टि भइसकेकाले सीमानाकामा थप कडाइ गरिएको जोशीको भनाइ छ। उनले भने, 'सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको छ, संक्रमितलाई आइसोलेसनमा राख्ने गरिएको छ। साथै भारतबाट आउनेलाई नाकामै खोप लगाउने प्रबन्धसमेत मिलाएका छौँ।'
सीमानाकामा थप प्रभावकारी ढंगले स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टरको प्रबन्ध गरिएको र विगतकोभन्दा थप सबल व्यवस्थापनका लागि स्वास्थ्यको टोली खटाइएको छ। यसका साथै कोभिड-१९ सम्पर्क व्यक्ति जोशीका अनुसार कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई बढाइएको छ। प्रदेशका सबै स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान जारी छ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म चार लाख ७३ हजार २९७ जनाको कोरोना परीक्षण गरिएकामा ५६ हजार ७९७ जनामा संक्रमण भइसकेको छ। संक्रमणकै कारण यस प्रदेशमा ६२१ जनाको ज्यान गएको छ। प्रदेशका विभिन्न आठ प्रयोगशालामार्फत पीसीआर परीक्षण र प्रदेशका सबै जिल्लामा एन्टिजेनमार्फत परीक्षण कार्य जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।