काठमाडौं - माघ ६ गते एकैदिन १२ हजार ३३८ जना कोरोना संक्रमित भेटिए। त्यसदिन २७ हजार ४९७ जनाको कोरोना परीक्षण भएको थियो।
संक्रमित र कोरोना परीक्षणको यो संख्या नेपालमा कोरोना संक्रमण पुष्टि भएयताकै सबैभन्दा उच्च हो। त्यस दिन कोरोना संक्रमणदर ४४ दशमलव ८ प्रतिशत थियो भने चार जना संक्रमितको मृत्यु भएको थियो।
आइतबार ३ हजार ५४० जनामा संक्रमण पुष्टि भयो। यो संख्या माघ २ गते पछिको सबभन्दा कम हो। आइतबार १३ हजार १४५ जनाको परीक्षण हुँदा ३ हजार ५४० जनामा संक्रमण भेटिएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा माघ १२ गतेदेखि संक्रमितको संख्या घट्न थालेको देखिन्छ। सबैभन्दा बढी संक्रमित भेटिएको दिन (माघ ६) यता १० हजारको आसपासमा घुमेको संक्रमितको संख्या चार दिन यता ओरालो लागेको छ।
माघ १२ गते ८ हजार ४५४ जना संक्रमित भेटिदा १३ गते ८ हजार १७, १४ गते ६ हजार ८२७ र १५ गते ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको छ। माघ ८ गते ५० दशमलव ८ प्रतिशत पुगेको संक्रमणदर आइतबार २६ दशमलव ९३ प्रतिशतमा झरेको छ।
यी दिनमा संक्रमितको संख्या मात्र नभई कोरोना परीक्षण गराउनेको संख्यामा पनि कमी आएको छ। माघ १२ गते २० हजार ३५९, १३ गते २१ हजार ८०८, १४ गते १९८६९ र १५ गते १४ हजार ५६२ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ।
त्यसो त नेपालमा पुस २१ गतेदेखि कोरोनाको तेस्रो लहर सुरु भएको देखिन्छ। अर्थात् २१ गतेबाट नै कोरोना संक्रमित र संक्रमण दरको संख्या दैनिक उकालो लाग्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। पुस २० गतेसम्म २ सयको आसपासमा रहेको संक्रमितको संख्या २१ गतेबाट दोब्बरले बढ्दै दैनिक रुपमा ह्वात्तै बढेको छ।
पुस २० गतेदेखि हालसम्म नेपालमा संक्रमण दरको अवस्था :
पुस | जम्मा परीक्षण | पोजिटिभ संख्या | मृत्यु | संक्रमणदर (प्रतिशतमा) |
२० | ९३२९ | २६३ | ३ | २.८२ |
२१ | १०२६७ | ४३५ | ० | ४.२४ |
२२ | १२०९९ | ५४० | १ | ४.४६ |
२३ | १४९७१ | ९६८ | ० | ६.४७ |
२४ | १३२६४ | ९४४ | ० | ७.१२ |
२५ | १२६३२ | ११६७ | २ | ९.२४ |
२६ | ११४२९ | १४४६ | २ | १२.६५ |
२७ | १५०३३ | २४४४ | १ | १६.२६ |
२८ | १३०३६ | ३०७५ | २ | २३.५६ |
२९ | १५०८१ | ३५५३ | १ | २३.५६ |
३० | २०५६० | ५०८७ | ३ | २४.७४ |
माघ १ | १४५५६ | ४६३६ | ४ | ३१.८५ |
२ | १५१३१ | ४९७१ | ३ | ३२.८५ |
३ | १७४६५ | ६७३४ | ३ | ३८.५६ |
४ | २२८२८ | १०२५८ | १ | ४४.९४ |
५ | २३४०९ | ११३५२ | ४ | ४८.४९ |
६ | २७४९७ | १२३३८ | ४ | ४४.८७ |
७ | २३०९२ | १०७०३ | ३ | ४६.३५ |
८ | २०१८७ | १०२५४ | १६ | ५०.८० |
९ | १७४३७ | ६४६२ | ४ | ३७.०६ |
१० | २१२०१ | १०३१९ | ४ | ४८.६७ |
११ | २५९०९ | १२००८ | ८ | ४६.३५ |
१२ | २०३५९ | ८४५४ | ५ | ४१.५२ |
१३ | २१८०८ | ८०१७ | १५ | ३६.७६ |
१४ | १९८६९ | ६८२७ | १० | ३४.३६ |
१५ | १४५६२ | ४९०४ | ६ | ३३.६८ |
१६ | १३१४५ | ३५४० | | २६.९३ |
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
पुस २१ गतेदेखि बढ्दै गएको संक्रमितको संख्या माघ १२ गतेदेखि भने केही कम हुन थालेको छ। यसलाई यो ग्राफले पनि देखाउँछ:
स्वास्थ्य मन्त्रालय भन्छ- अझै केही दिनको तथ्यांकले निर्धारण गर्छ
ओमिक्रोन छिटो फैलिने भएकाले धेरै मानिस संक्रमित भए। दक्षिण अफ्रिका, फ्रान्स, बेलायत लगायत राष्ट्रको अवस्थालाई हेर्दा पनि ओमिक्रोन एकदम छिटो गतिमा उत्कर्षमा पुग्ने र त्यति नै छिटो तल झरेको देखिन्छ। छिमेकी भारतमा पनि हाल कोरोना संक्रमितको संख्यामा विस्तारै कमी आइरहेको छ।
तर अहिले नै कोरोना संक्रमितको संख्या घटेको भनिहाल्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाई छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल संक्रमितको संख्यामा केही कम देखिएपनि घटिहालेको भन्न नमिल्ने बताउँछन्। यद्यपि तुलनात्मक रुपमा हाल मानिसको चहलपहल केही कम भएका कारण संख्या स्थिर रहेको उनको भनाई छ।
उनी भन्छन्, ‘सवारी साधनमा जोर विजोर प्रणाली लागू हुँदा, विद्यालय बन्द हुँदा तुलनात्मक रुपमा मानिसहरुको मुभमेन्ट केही घट्यो। त्यसैले संक्रमण स्थिर नै रह्यो। यही हप्तामा संक्रमितको संख्या उच्च भएर अर्को हप्ताबाट विस्तारै कम हुने अपेक्षा छ।’
डा पौडेलका अनुसार हाल संक्रमितको संख्या कम देखिनुमा प्रमुख तीन कारण छन्:
एक, ‘संक्रमितहरु घरमै बसे’
दोस्रो, ‘कोरोना परीक्षण कम भए’
तेस्रो, ‘मानिसको चलहपहलमा कमी’
कोरोना परीक्षणको संख्या कम भएकाले पनि संक्रमितको संख्या कम देखिएको बताउँदै उनले भने, ‘परीक्षण जति गर्यो संक्रमितको संख्या त्यति देखिने अवस्था छ। यो पटक सामान्य रुघाखोकी भन्दै धेरैले परीक्षण पनि गरेनन्। घर–घरमा संक्रमित बसे। धेरै परीक्षण भएन।’
आगामी तीन/चार दिनको तथ्यांकलाई हेरेपछि मात्र संक्रमण घटे/नघटेको भन्न सकिने उनले बताए। अर्को साताबाट संक्रमितको संख्या विस्तारै कम हुने उनको अपेक्षा छ। तर, जनस्वास्थ्यका मापदण्ड पालनाको अवस्था, मानिसको चहलपहल र नयाँ भेरियन्टले यसको निर्धारण गर्ने उनले बताए।
उनले भने, ‘अझै केही दिन हेरौँ। दर घट्दो देखिएको छ। अब हाम्रो हातमा छ। जनस्वास्थ्यका मापदण्ड पालना गर्नेदेखि मानिसको चलहपहल, आवतजावतले मुख्य गरी यसको निर्धारण गर्छ।’
डा पुनले प्रक्षेपण गरेका थिए- चार/पाँच हप्तापछि उत्कर्षमा पुगेर कम हुँदै जाने
सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले नेपालमा ओमिक्रोन भेरियन्ट बढ्न थालेको चार/पाँच हप्तापछि कम हुँदै जाने प्रक्षेपण गरेका थिए।
पुस ३० गतेको कुराकानीमा पुनले भनेका थिए, ‘चार/पाँच हप्ताको अवधिमा यो उत्कर्षमा पुग्ने र त्यसपछि कम हुँदै जाने देखिन्छ।’
उनले यसलाई संक्रमितको तेस्रो लहर भनेका थिए। किनभने अस्पतालमा भर्ना हुने गम्भीर खालका बिरामीको संख्यालाई नियाल्नुपर्नेमा जोड दिएका थिए। संक्रमितको संख्या अब विस्तारै घट्न थाल्ने उनको अनुमान छ।
उनले भने, ‘गएको हप्ता र त्यो भन्दा अघि भाइरसको चर्चा भएको बेला शुक्रराज अस्पतालमा बिरामीहरु ह्वात्तै आएका थिए। तर, अहिले हामीले केही सहज महसुस गरिरहेका छौँ। बिरामीको चाप पनि केही कम छ। यो कोभिड अस्पताल भएकाले यसले ऐनाको रुपमा पनि काम गर्छ।’
कोरोना संक्रमण अझै पनि समुदायमा रहेको उनको अनुमान छ। अधिकांश संक्रमितहरु हाल घर–घरमै रहेकाले परीक्षणका लागि नआउने गरेको उनले बताए।
भारत लगायत दक्षिण अफ्रिकाका देशमा यसको प्रकृति हेर्दा पनि ह्वात्तै बढेर घटेको देखिन्छ। उनले भने, ‘धेरैजना संक्रमितहरु घरमै बसेका छन्। परीक्षणमा आएका छैनन्। त्यसैले पनि कम देखिएको हुन सक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।