काभ्रेपलाञ्चोक- मण्डनदेउपुर र पनौती नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन्। साथै, मण्डनदेउपुर नगरले कोरोनाबाट संक्रमित भइ भेन्टिरलेटरमा उपचार गराएकालाई समेत सहयोग गरेको जनाएको छ।
मण्डनदेउपुर नगरले कोरोनाबाट मृत्यु भएकाको प्रतिपरिवारलाई ५० हजार रुपैयाँ र भेन्टिलेटरमा उपचार गरेकालाई २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेको हो। कोरोना संक्रमणबाट उक्त नगरका १८ जनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढीले भेन्टिलेटरमा उपचार गराएका थिए। मृतक र कोरोनाबाट पीडितको परिवारमा केही राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको नगरप्रमुख टोकबहादुर वाइबाले बताए।
वाइबाका अनुसार नगरले कोरोनाको दोस्रो तथा तेस्रो लहरमा संक्रमितलाई उपचारार्थ अस्पताल आउजाउका लागि तीन एम्बुलेन्ससमेत निःशुल्क रूपमा व्यवस्थापन गरेको थियो। मण्डनदेउपुरमा हाल कोरोनाका १३ महिलासहित २२ सक्रिय संक्रमित रहेका छन्। तेस्रो लहरमा काभ्रेपलाञ्चोकमा मृत्यु भएका दुई पुरुषमध्ये एक मण्डनदेउपुरका थिए।
यस्तै, पनौती नगरले पनि कोरोना संक्रमणबाट मृत्यु भएकाको प्रतिपरिवारलाई २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेको छ। नगरमा कोभिड-१९ को संक्रमणबाट १९ जनाको मृत्यु भएको नगर स्वास्थ्य शाखाले जनाएको छ। हाल नगरका ७९ महिलासहित १८१ कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
पनौतीका सबै संक्रमित होम क्वारेन्टिनमै रहेको जिल्लास्थित कोभिड-१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीएमसी)ले जनाएको छ।
यसैबीच, काभ्रेपलाञ्चोकमा हालसम्म १७ हजार २५८ मा संक्रमण देखिएकोमा १९५ जनाको मृत्यु भएको छ। हालसम्मका कूल संक्रमितमध्ये ९३.२७ प्रतिशत अर्थात् १६ हजार ९७ संक्रमणमुक्त भइसकेको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा ७३ कोरोना संक्रमित थपिएका छन् भने १३४ संक्रमणमुक्त भएका हुन्।
केन्द्रका अनुसार जिल्लामा हाल ९६६ सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा २९९, धुलिखेलमा २८६, पाँचखालमा ७४, नमोबुद्धमा ३३ तथा रोशी गाउँपालिकामा १३, तेमालमा चार, भुम्लु १३, बेथानचोकमा १६, खानीखोलामा एक, महाभारतमा सात र चौंरीदेउराली गाउँपालिकामा १७ रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।