जनकपुर- कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेश प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ। यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा संक्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो संख्या ५० को हाराहारीमा झरेको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पछिल्लो समय यस प्रदेशमा संक्रमितको संख्याभन्दा निको भइ घर फर्किनेको संख्या बढ्दै गएको छ। निर्देशनालयका अनुसार पछिल्लो दुई दिनका अवधिमा प्रदेशभरि ९७ नयाँ संक्रमित थपिँदा १३२ निको भएर घर फर्किएका छन्।
बुधबार प्रदेशका विभिन्न जिल्लामा ४३ नयाँ संक्रमित थपिँदा ४४ र मंगलबार ५४ जनामा संक्रमण पुष्टि हुँदा ८८ जना निको भएर घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिए। उनका अनुसार बुधबार धनुषा र सर्लाहीमा १५-१५, महोत्तरी र सप्तरीमा चार-चार, रौतहट र बारामा दुई-दुई नयाँ संक्रमित थपिएका छन् भने मंगलबार धनुषामा १६, सिरहामा १४, महोत्तरी र पर्सामा छ-छ , सप्तरीमा पाँच, बारा र रौतहटमा दुई-दुई तथा सर्लाहीमा एक नयाँ संक्रमित थपिएका छन्। थपिएका संक्रमितको स्वास्थ्य अवस्था समान्य रहेको र उनीहरु सबै होम आइसोलेसनमा रहेको जनाइएको छ।
महामारी सुरु भएपछि प्रदेशमा संक्रमणबाट हालसम्म ४१ हजार १२२ संक्रमित हुँदा उपचारपश्चात ३८ हजार २६३ ‘डिस्चार्ज’ भएका छन् भने एक हजार ५५ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकले देखाएको छ। निर्देशनालयका अनुसार संक्रमणका कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१, सिरहामा १३५, धनुषामा १३२, पर्सामा १३२, रौतहटमा १२९, सर्लाहीमा ९३ र महोत्तरीमा ९१ जनाको मृत्यु भइसकेको छ।
सुरुमा संक्रमण तीव्रगतिमा फैलिए पनि खोप लगाउने दर बढेसँगै संक्रमणदर घट्दै गएको चिकित्सकहरूले बताएका छन्। वर्तमान सरकारले सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड लागू गरेपछि करिब तीन साताका अवधिमा प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करिब १७ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य, बढ्दै गएको संक्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचारप्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय प्रदेशमा खोप लगाउने दर बढेको निर्देशक झाले बताए। गत पुससम्म दुई डोज खोप लगाउने १८ वर्षमाथि उमेर समूहको संख्या ३८ प्रतिशत मात्र रहेकामा पछिल्लो तीन साताको अवधिमा त्यो संख्या बढेर करिब ५५ प्रतिशत पुगेको उनको भनाइ छ।
उनका अनुसार पूर्ण डोज खोप लगाउनेको संख्या सर्लाहीमा ६७, धनुषामा ६०, बारामा ५८, पर्सामा ५७, सप्तरीमा ५२, सिरहामा ५१, रौतहटमा ४५ र महोत्तरीमा ४३ प्रतिशत पुगेको छ। यस्तै १८ वर्षभन्दा माथि उमेर समूहका एक मात्र डोज खोप लगाउनेको संख्या भने प्रदेशमा करिब ६६ प्रतिशत छ। ती मध्ये सर्लाहीमा ७५, बारामा ७०, पर्सामा ६५, सिरहामा ६३, महोत्तरीमा ६९, धनुषामा ६४, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत छन्। उमेरका हिसाबले १८ वर्षभन्दा माथि उमेर समूहको भन्दा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको खोप लगाउने संख्या बढी छ।
निर्देशक झाका अनुसार प्रदेशमा ती उमेर समूहका करिब ६७ प्रतिशतले खोप लगाइसकेका छन्। 'खोप लगाउने दर कम हुँदा संक्रमण फैलिने दर बढेको थियो,' राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा दीलिप साहले भने, 'तर पछिल्लो केही सातादेखि खोप लगाउने दर बढ्दै गएसँगै संक्रमितको संख्या घट्दै गएको छ, यसलाई सकारात्मक रूपमा लिन सकिन्छ।' अहिलेसम्म धेरैमा त्यस्तो जटिल नदेखिनुमा पनि खोपको प्रभावकारिता हो, उनको भनाइ थियो। तर, स्वास्थ्य मापदण्ड पालना नगरेमा संक्रमण अझै फैलिनेसक्ने भएकाले सचेत हुनुपर्ने डा झाको सुझाव छ।
सीमावर्ती क्षेत्रमा 'हेल्थ डेस्क' स्थापना गरी एन्टिजेन विधिबाट कोरोना जाँच गर्दै आएकाले पनि कोरोनाको ग्राफ घटेको स्थानीयवासीको बुझाइ छ। 'विगतभन्दा यसपालि समयमै बोर्डरमा हेल्थ डेस्क स्थापना गरी चाँच सुरु गर्यो,' महोत्तरी जलेश्वरका सुशीलकुमार कर्णले भने, 'सीमानाकामा स्थापना गरिएको हेल्थ डेस्कबाट दैनिक एन्टिजेन परीक्षण गर्ने गरेका छन्।'
जाँचका क्रममा संक्रमित पाइएका नेपालीलाई होम आइसोलेसनमा र भारतीयलाई भारततर्फ फर्काउने गरेकाले पनि संक्रमणदर घटेको हुनसक्ने उनको भनाइ थियो।
पर्साको वीरगञ्ज, रौतहटको गौर, महोत्तरीको जलेश्वर भिट्टामोड र सिरहाको माडरमा ‘हेल्थ डेस्क’स्थापना गरी एन्टिजेन विधिबाट कोरोना जाँच गर्दै गरिँदै आइएको छ। वीरगञ्ज भन्सारमा रहेको हेल्थ डेस्कमा बुधबार २८० जनाको जाँच गर्दा छ जनामा, रौतहटको गौर नाकामा १२ को जाँच गर्दा आठमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।