धनगढी- केही हप्ता यता बढेको चिसो र कोरोना भाइरसको फैलदो संक्रमणका कारण सुदूरपश्चिमका स्थानीयले सास्ती खेपिरहेका छन्।
अत्यधिक चिसो मौसमसँगै घाँटी खसखस हुने, दुख्ने, ज्वरो आउने, रुखाखोकी लाग्ने, टाउको दुःख्नेजस्ता कोरोना भाइरससँग मिल्दो लक्षण देखिएका बिरामी बढ्ने क्रम रोकिएको छैन। आफू कोरोना सङ्क्रमित भएको आशङ्कामा यस्तो लक्षण भएका धेरै व्यक्ति नमूना परीक्षण नगराई घरकै एकान्तवासमा बस्न बाध्य भएका छन्।
यतिबेला हरेक घरमा यस्ता लक्षण भएर थलिएका कतिपयले नमूना परीक्षण गराए पनि धेरै नागरिक नमूना परीक्षणबिना नै एकान्तवासमा छन्। ‘नमूना जचाउँदा कोरोना ‘पोजेटिभ’ देखाइहाल्छ, यो भन्दा घरकै एकान्त कोठामा बस्न उचित ठानेकाले नमूना परीक्षण नगराएरै बसेको छु’, धनगढीका एक स्थानीयवासीले भने । नमूना सङ्कलन केन्द्रसम्म पुगेर नमूना दिन जाँदा लाग्ने भीडले सङ्क्रमित भइने डर नागरिकमा देखिन्छ।
धनगढीमा भेटिएकी कञ्चनपुर कृष्णपुर नगरपालिका–९ की रोमती चौधरीले रुघाखोकी ज्वरोको समस्याले आफ्नो घर परिवारका सदस्य पालैपालो बिरामी पर्दा सबैलाई घरेलु उपचार गरेर सञ्चो पारिएको बताइन्।
उनले भनिनन्, ‘यति बेला गाउँमा धेरै व्यक्ति कोरोना भाइरस सङ्क्रमणजस्तै लक्षण देखिएर ज्वरोले थलिएका छन्, नमूना परीक्षण नगराउँदै धेरै व्यक्ति सञ्चो पनि भइरहेका छन् ।’ यो लक्षण कोरोना भाइरसको नयाँ भेरियन्टकै कारण रहेको स्वास्थ्यकर्मीले बताएका छन्। हाल फैलिएको कोरोनाको ओमिक्रोन भेरियन्टको सङ्क्रमण दर डेल्टा भेरियन्ट भन्दा छ/सात गुणाले बढी हुने गरेको बताइएको छ।
अहिले फैलिएको कोरोना भाइरसलाई धेरै नागरिकले सामान्य रुपमा लिँदा पनि यसको सङ्क्रमण दर बढेको स्वास्थ्यकर्मीको भनाइ छ। ‘कोरोना फैलिएको सुरुको वर्ष मानिस निकै डराएका थिए’, कैलालीका असिफ अन्सारीले भने, ‘मानिसमा अब भने विस्तारै कोरोनाको डर हराउँदै गएको देखिन्छ ।’ स्थानीय प्रशासनले कोरोना रोकथामका लागि निषेधाज्ञा जारी गरेपनि त्यसको पालना गर्ने गराउनेमा नागरिकबाट लापरबाही भइरहेको छ।
जोखिम मोलेरै स्याहार गर्दै बिरामीका कुरुवा
सेती प्रादेशिक अस्पताल धनगढीको कोभिड वार्डमा उपचाररत बिरामीका कुरुवा जोखिम मोलेरै बिरामीको स्याहार गर्नुपर्ने बाध्यतामा छन्। चिकित्सक र नर्सिङ् स्टाफले उपचार व्यवस्थापन गर्दा कुरुवा स्वयमले सघन उपचार कक्षसम्म पुगेर बिरामीलाई खाना खुवाउनुपर्ने अवस्था छ। जसका कारण कुरुवामासमेत सङ्क्रमणको जोखिम देखिएको छ।
सघन उपचार कक्ष बाहिर भेटिएका कुरुवा वीरसिंह धामीले भने,‘एकतिर अहिलेको चिसो मौसम बेला बाहिर कठ्याङ्ग्रिएर रात काट्नु परेको छ,अर्कोतिर बेडसम्म पुगेर बिरामीको स्याहार गर्नु पर्दा आफै सङ्क्रमित भइने जोखिम छ।’ बिरामीलाई उपचार व्यवस्थापनमा सहयोग पुर्याउन २४सै घन्टा कुरुवा बस्नै परेको उनको भनाइ छ। गत वर्षको कारोना महामारीका बेला अस्पतालले नै कोरोनाका बिरामीलाई निःशुल्क खाना खुवाउँदै आएको थियो। बजेट अभावका कारण यसवर्ष भने खानाको जोहो सम्बन्धित बिरामीका कुरुवाले गर्नुपरेको बताइएको छ।
कोरोना भाइरस फैलिएयता हालसम्म सुदूरपश्चिम प्रदेशमा ५८ हजार २८२ हजार व्यक्ति सङ्क्रमित भइसकेका छन्। विगत एक हप्ताभित्रमा सङ्क्रमितमध्ये छ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार प्रदेशमा पछिल्लो एक हप्ताभित्रमा तीन हजार १८४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।