अमरगढी– चुनावी प्रचारका लागि गृहजिल्ला डडेलधुरा पुगेका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी डडेलधुरा सार्न सकिने बताएका छन्। डडेलधुरामा आवश्यक संरचना निर्माण गरेर राजधानी सार्न सकिने देउवाको भनाइ छ।
२०७४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको चुनावपछि देउवा नेतृत्वको सरकारले नै कैलालीको धनगढीलाई प्रदेशको अस्थायी राजधानी तोकेको थियो। सुदूरपश्चिम प्रदेश सभाले कैलालीको गोदाबरीलाई प्रदेश राजधानी तोक्ने निर्णय गरेपनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन।
मंगलबार गृहजिल्ला डडेलधुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने ‘डडेलधुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ। डडेलधुरा र डोटीमा सभागृह लगायत संरचनाहरु थिएनन्। त्यसकारण राजधानी बनाउन सकिएन। अब संरचनाहरु निर्माण गर्छौं। त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ।’
प्रधानमन्त्री देउवाले राजधानी सार्ने विषय ठूलो कुरा नभएको बताए। 'त्यो कुन ठूलो कुरा भो र? पालमुनी सभाहल बनाउन सकिँदैन। सभाहल बनाउँ, अनि राजधानी यहीँ हुन्छ,' देउवाले भने।
प्रधानमन्त्री देउवाले डडेलधुरामा विमानस्थल बनाउने काम पनि अगाडि बढाइएको बताए। 'पुइलेक एयरपोर्टका लागि राम्रो ठाउँ भएको अध्ययनले देखाएकाले निर्माण प्रक्रिया सुरु भएको छ। यो पनि म बनाउँछु,' देउवाले भने।
जिल्ला सदरमुकाममा बसपार्क अभाव भएकाले डकलेमा बसपार्क बनाउन पहल गर्ने देउवाको भनाइ छ। देउवाले पोखरा–बेलारपुर तथा उग्रतारा–मेलौली सडक कालोपत्र बनाउने काम आफूले सुरु गरिसकेको दाबी समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।