दाङ- दाङको घोराही उपमहानगरपालिकामा उम्मेदवारका रुपमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका हेमराज शर्मा 'डायमण्ड'लाई एमालेका नरुलाल चौधरीले हराएका छन्। ११ उपमहानगरमध्ये एमालेले घोराहीबाट विजयी सुरुवात गरेको हो।
ये उमहानगरको प्रमुखमा एमालेका चौधरी ३१ हजार ७२८ मतसहित विजयी भए। नरुलाल दोस्रो कार्यकालका लागि घोराहीको मेयरमा निर्वाचिति भएका हुन्।
सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार शर्माले २६ हजार ३६८ मत ल्याए।
तर, यहाँ प्रतिस्पर्धा उनीहरुको मात्रै थिएन। प्रतिस्पर्धा नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा र एमालेका महासचिव शंकर पोखरेलबीच समेत रहेको स्थानीयको विश्लेषण थियो।
२०७४ को मत परिणामलाई हेर्ने हो भने गठबन्धनलाई जित निकाल्न कठिन थिएन। २०७४ को निर्वाचनमा एमालेका चौधरी २२ हजार ३० ल्याएर विजयी भएका थिए। नेपाली कांग्रेसका भुपबहहादुर डाँगी क्षत्रीले १७ हजार ४ सय ८४ मत ल्याए भने माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत ल्याएका थिए।
तर, चुनावमा अंकगणितले मात्रै अर्थ राख्दैन। बदलिएको परिस्थिति, उम्मेदवार र मतदातामा विकास हुने चेतनाले निर्वाचनपिच्छे परिणाम फेरिँदै जान्छ। घोराहीमा त्यही देखियो।
घोराहीलाई नजिकबाट नियालिरहेका पत्रकार तथा विश्लेषक सुशील गौतमले निर्वाचनअघि नै नेपाल लाइभसँग गठबन्धनमाथि एमाले भारी हुने केही कारण बताएका थिए। ब्यालेटबक्समा त्यसको प्रभाव देखिएको छ।
गौतमले गठबन्धनका चुनौती र एमालेका अवसरबारे भनेका थिए:
१. देशव्यापी रुपमा गठबन्धनको पक्ष र विपक्षमा कांग्रेसका कार्यकर्ता छन्। त्यसको केही प्रतिविम्ब घोराहीमा पनि छ। केही कार्यकर्ता असन्तुष्ट छन्।
२. यो क्षेत्रलाई द्वन्द्वपीडित क्षेत्र भनिन्छ। त्यसको प्रतिछायाँ मतदानमा पर्न सक्छ। द्वन्द्वमा माओवादीबाट पीडित बनेका कांग्रेसका नेता-कार्यकर्ताले माओवादी केन्द्रका उम्मेदवारलाई मतदान नगर्ने सक्ने अड्कलबाजी छ।
३. नेकपा माओवादी केन्द्रको प्रभाव घट्दो छ। गत निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवारसमेत रहेका दाङ ईञ्चार्ज जीवन गौतमले चुनावको संघारमै पार्टी छाडे। लामो समय माओवादी प्रवक्ता महराको स्वकीय सचिवका रुपमा काम गरेका प्रमोद शर्मा दुई महिनाअघि मात्रै एमाले प्रवेश गरेका थिए।
४. सत्ता गठबन्धनका सबै दललाई समेट्न नसक्दा माओवादी केन्द्र र कांग्रेसको मात्रै तालमेल भएको छ।
नेकपा एमालेले चौधरीलाई दोहोर्याएर मैदानमा उतारेको थियो। यसअघि पनि मेयरका रुपमा काम गरिसकेका उनी तुलनात्मक रुपमा कम विवादित थिए।
'थारुहरुको बाहुल्य क्षेत्रमा चौधरी उम्मेदवार बने। पढेलेखेका मान्छे हुन्। तुलनात्मक रुपमा कम विवादित छन्,' चौधरीका बारेमा विश्लेषक गौतमले बताएका थिए।
यसलाई एमालेले जित्ने आधारका रुपमा व्याख्या गर्दै विगतका तुलनामा एमालेले यो क्षेत्रमा आफ्नो संगठनमा सुधार गर्दै लगेको देखिएको उनको विश्लेषण थियो।
एकीकृत समाजवादी केन्द्रीय निर्णयअनुसार घोराहीको गठबन्धनमा समाहित हुन सकेन। आफूलाई चारवटा वडा मात्रै दिएको भन्दै असन्तुष्ट एकीकृत समाजवादीले मेयर, उपमेयरदेखि विभिन्न वडामा आफ्नै उम्मेदवार उठायो।
आंशिक रुपमा त्यसको लाभ पनि एमालेले नै लिएको बताइएको छ। एकीकृत समाजवादी छुट्टै लड्नु गठबन्धनका लागि सिधा हानी हुने विश्लेषक गौतमले बताएका थिए। त्यो निर्वाचन परिणामका क्रममा देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।