काठमाडौं– कैलालीको भजनी नगरपालिकाको मेयरमा गठबन्धनलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन्।
निवर्तमान नगरप्रमुख तथा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीलाई तीन हजार भन्दा बढी मतान्तरले हराउँदै नागरिक उन्मुक्तिका उम्मेदवार केवल चौधरी विजयी भएका हुन्।
यसैगरी, उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोकेन्द्र भण्डारीलाई दुई हजार ४०० मतले पछि पार्दै नागरिक उन्मुक्तिकै राजु तिरुवा विजयी भएका छन्।
प्रमुख, उपप्रमुख जितेको नागरिक उन्मुक्तिले ३ वडाध्यक्ष, माओवादी केन्द्रले ३ वडाध्यक्ष, नेकपा एमालेले २ वडाध्यक्ष र नेपाली कांग्रेसले १ वडाध्यक्ष जितेको छ।
भजनीमा नागरिक उन्मुक्तिबाट वडा नम्बर १ को वडाध्यक्षमा धर्मेन्द्र श्रेष्ठ, ३ मा विक्रम चौधरी, ६ मा रामसागर चौधरी विजयी भएका छन्। भजनीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए।
माओवादीका तर्फबाट वडा नम्बर २ मा दुर्गा पुन, ४ मा जन्ताराम चौधरी, ८ मा पंकज चौधरी र कांग्रेसका तर्फबाट वडा नम्बर ७ मा अमरबहादुर कठरिया वडाध्यक्षमा विजयी भएका छन् भने नेकपा एमालेबाट वडा नम्बर ५ मा केशब बुढा र ९ मा सञ्जीव चौधरी विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।