काठमाडौं- डिल्लीबजार कारगारमा रहेका रेशम चौधरीले गत पुसमा नागरिक उन्मुक्ति नामको नयाँ पार्टी गठन गरे। पार्टीको वैधानिक नेतृत्व भने उनकै श्रीमती श्रेष्ठ रञ्जिताको छ। गठन भएको चार महिनामै निर्वाचनमा होमिएको सो पार्टीले कैलालीमा तीन पालिकाको नेतृत्व जितिसकेको छ। एक पालिकामा अग्रता लिएको छ।
नागरिक उन्मुक्तिले कैलालीको जोशीपुर गाउँपालका, टीकापुर नगरपालिका र भजनी नगरपालिकाको नेतृत्व जितेको हो। उसले अग्रता लिइरहेको जानकी गाउँपालिकाको मतान्तर हेर्दा सो पालिकाको पनि नेतृत्व जित्ने सम्भावना उच्च छ। विभिन्न पालिकाका उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पनि जितेको छ।
नागरिक उन्मुक्ति पार्टीले ठूला पार्टीहरुकै उम्मेदवारहरुलाई हराएको देखिन्छ। जोशीपुर र टीकापुरमा उसले कांग्रेस उम्मेदवारलाई पराजित गरेको हो भने भजनीमा माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरेको हो।
नागरिक उन्मुक्ति पार्टीका संगठन प्रमुख लक्ष्मण चौधरीले आफूहरुको मेहनत अनुसारको नतिजा आएकाले सन्तुष्ट भएको बताए। 'कैलाली जिल्लामा मात्रै होइन। अन्य जिल्लामा संगठन विस्तार गर्छौँ। समीक्षा गरेर रणनीतिक हिसाबले अगाडि बढ्छौँ', उनले भने।
त्यस्तै, जनमत पार्टीले पनि पूर्ण निर्वाचनमा भाग लिएको यो पहिलो पटक हो। उसले २०७६ सालमा सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा पनि भाग लिएको थियो। तर, कुनै सफलता हासिल गर्न सकेको थिएन। यसपटक भने उसले मधेस क्षेत्रका केही पालिकाको नेतृत्वमा जित निकालेको छ। कैयौँ पालिकामा सम्मानजनक प्रतिस्पर्धीको रुपमा दर्ज भएको छ।
जनमत पार्टीले सप्तरीको वलान-विहुल गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाको नेतृत्व जितेको छ। वलान-विहुलमा उपाध्यक्ष पनि जितेको छ। केही वडा अध्यक्ष र सदस्यहरु पनि जितेको छ।
२०७४ सालमा वलाल-विहुलमा तत्कालीन संघीय समाजवादी (अहिले जनता समाजवादी पार्टी) र हनुमाननगर कंकालिनीमा तत्कालीन राष्ट्रिय जनता पार्टी (अहिले लोकतान्त्रिक समाजवादी पार्टी)ले जितेका थिए। जनमत पार्टीले मधेसमा बलियो प्रभाव रहेका यिनै दुई पालिकाबाट नेतृत्व खोसेको देखिन्छ। त्यसो त, जनमत पार्टीले आफ्नो विरोधको केन्द्र पनि यिनै पार्टीहरुलाई बनाउँदै आएको थियो।
केही वर्ष मधेसलाई बेग्लै देश बनाउने अभियानमा संलग्न भएका सीके राउतले २०७५ फागुनमा सरकारसँग ११ बुँदे सहमति गर्दै मूलधारको राजनीतितर्फ प्रस्थान गरेका थिए। सोही वर्ष उनले जनमत पार्टी गठन गरेका थिए। गठन भएको तीन वर्ष केही महिनामै उक्त पार्टीले केही पालिकाको नेतृत्व गर्ने अवसर पाएको छ।
मधेस केन्द्रित राजनीति गर्न गठन गरिएको तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी कालान्तरमा राजपा, जसपा र लोसपा बन्यो। गत फागुनमा त्यही लोसपाबाट अलग भएर वृशेषचन्द्र लालले पुनः तमलोपा गठन गरेका थिए। सो पार्टीले यसपटक महोत्तरीको महोत्तरी गाउँपालिकाको अध्यक्ष जितेको छ। सो गाउँपालिकाको दुई वटा वडाको अध्यक्ष पनि जितेको छ।
वैकल्पिक राजनीति गर्ने अभिप्राय राखेको विवेकशील साझा पार्टीले यसपटक प्रभावकारी उपस्थिति देखाउन सकेनन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा स्वतन्त्र हैसियतमा सहभागी रवीन्द्र मिश्र र मिलन पाण्डेहरुको पार्टीले काठमाडौंमा केही प्रभाव देखाएको भए पनि जित निकाल्न सकेका थिएनन्। लगत्तै भएका अन्य तहका निर्वाचनमा पनि सीमित उपलब्धि मात्रै हासिल गर्न सक्यो। यसबीचमा मिश्र र पाण्डेहरुले प्रतिनिधित्व गर्ने पार्टीले एकता र विभाजन बेहोरिसकेको छ।
यसपटक विवेकशील साझा पार्टीले बाराको फेटा गाउँपालिकाको अध्यक्ष जितेको छ। त्यहाँ उपाध्यक्ष र वडामा पनि आफ्नो प्रतिनिधित्व गराएको छ।
काठमाडौंकोको प्रारम्भिक अपडेटमा आफ्नो पार्टीको उम्मेदवार निकै पछि परेपछि विवेकशील साझाले निर्वाचन परिणाम अपेक्षाकृत आउन नसकेको भन्दै दुःख व्यक्त गरेको छ। 'गत पाँच वर्षको पार्टी निर्माणको अनुभवबाट हामीले धेरै सिक्यौँ', जेठ २ गते पार्टी प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'ती सिकाइका आधारमा हामीले अब केही निर्मम समीक्षा र निर्णयहरू गर्नु पर्नेछ, जुन हामी गर्नेछौँ।'
त्यस्तै, रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टी पनि गत पुसमै गठन भएको हो। सो पार्टीले पर्साको पोखरिया नगरपालिका- ९ को अध्यक्ष जितेको छ । सो क्षेत्रको अन्य पालिका र वडामा पनि सामान्य प्रतिस्पर्धी भएको देखिन्छ।
गत वर्ष भदौमा एमाले विभाजन गरी माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादीले पनि आफ्नो उपस्थिति देखाएको छ। पूर्वपार्टी एमालेकै तुलनामा यो पार्टी निकै कमजोर देखिएको छ। तर, आगामी राजनीतिक यात्राका लागि खुट्टा टेकेको छ ।
एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका र छार्का साङतोङ गाउँपालिकाको अध्यक्ष निर्विरोध जितेको थियो। पछि उदयपुरको उदयपुरगढी गाँउपालिका, सल्यानको कपुरकोट गाउँपालिका, रौतहटको गौर नगरपालिका, रौतहटकै राजदेवी नगरपालिका, मुगुको सोरु गाउँपालिका, सप्तरीको शम्भुनाथ गाउँपालिका, बझाङको केदारस्युँ गाउँपालिका, कैलालीको घोडाघोडी नगरपालिका, दोलखाको तामाकोशी गाउँपालिका, काभ्रेको मण्डनदेउपुर नगरपालिका, धादिङको धुनीबेसी, सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा यो पार्टीले जित निकालेको छ। उपाध्यक्ष/उपप्रमुखमा तथा वडाहरुमा पनि उपस्थिति देखाएको छ। कैयौँ ठाउँमा अग्रता लिएको छ।
एकीकृत समाजवादीले सत्ता गठबन्धन आबद्ध दलहरुसँग तालमेल गरेको थियो। कतिपय पालिकामा भने एक्लै निर्वाचनमा होमिएको थियो। कहीँ जित निकालेको छ, कहीँ कमजोर उपस्थिति देखिएको छ। समग्रमा, उसले आफैं उत्साहित हुने गरी नतिजा ल्याउन सकेन। यसप्रति पार्टीका नेताहरुले सार्वजनिक रुपमै बोलिसकेका छन्।
निर्वाचनमा केही सिमित सफलता प्राप्त गर्ने गरेको भए पनि साना पार्टीहरुले आफ्नो उपलब्धिमा टेकेर थप विस्तार हुने गरेको खासै पाइँदैन। बरु विभाजन निम्तिने र पार्टीले मर्ने वा अन्य पार्टीसँग एकता गर्ने गरेको विगत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।