पोखरा– निर्वाचन आयोगले बिहीबारसम्म ५७० वटा पालिकाको मतपरिणाम सार्वजनिक भएको जनाएको छ। वैशाख ३० गते मतदान भएपछि मतगणना जारी रहेपनि बढी मतदाता भएका पालिकाको परिणाम आउन भने अझै केही दिन लाग्ने देखिएको छ।
सबैभन्दा बढी मतदाता भएका देशका ६ वटा महानगरपालिकामा अहिले मतगणना जारी छ। ६ महानगरमध्ये पोखरामा सत्ता गठबन्धन र नेकपा एमालेबीचको प्रतिस्पर्धा रोचक देखिएको छ।
मतगणनाको प्रारम्भिक परिणाम आइरहँदा मेयरका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको थियो। तर, ५५ हजार २६७ मत गणना भइसक्दाको अवस्थामा पुग्दा भने उपमेयरका उम्मेदवार बीचको प्रतिस्पर्धा रोचक बनेको छ।
केही समय अघिको अध्यावधिक परिणाम सार्वजनिक हुँदा एमालेबाट उपमेयरकी उम्मेदवार मञ्जु गुरुङ अघि लागेकी थिइन्। पछिल्लो परिणामअनुसार गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदबार कोपिला रानाभाटले अग्रता लिएकी छन्।
कांग्रेसकी रानाभाटले २३ हजार १६४ मत पाएकी छन् भने एमालेकी उमेदवार गुरुङले २३ हजार २१ मत प्राप्त गरेकी छन्। मतगणनाका क्रममा यी दुई उमेदवार अघिपछि भइरहेका छन्। पछिल्लो अवस्थामा भने उनीहरुका बीचमा १४३ मतको फरक देखिएको छ।
मेयरमा भने गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २१ हजार ८८० मत पाएका छन् भने एमालेका कृष्ण थापाले १९ हजार ३८८ मत पाएका छन्। उनीहरुका बीचमा २ हजार ४९२ मतको फरक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।