महोत्तरी- महोत्तरीको बर्दिवास नगरपालिका बिहीबार बिहानैदेखि चर्चामा रह्यो। हुन त यो निर्वाचन क्षेत्र वैशाख १२ गते नै चर्चामा थियो।
उम्मेदवारी दर्ता गराउने अन्तिम दिन नेपाली कांग्रेसका तर्फबाट दुईजना उम्मेदवार भएपछि चर्चामा आएको थियो। एक जनाको टिकट खोसिएपछि स्वतन्त्र उम्मेदवारी वडा तहसम्मै दर्ता भएको थियो। निर्वाचनको अन्तिम मत गणना चलिरहँदा स्वतन्त्र उम्मेदवारहरुले अग्रता बनाएपछि चर्चा थप चुलिएको थियो।
८ नम्वर बडाको मत परिणाम सार्वजनिक भएर विजयी भएको घोषणा गरेको २ दिनपछि बिहीबार एउटा शिलबन्दी मतपेटिकाको बाकस नै भेटिएपछि चर्चामा रह्यो।
वडाध्यक्षमा माओवादीका उम्मेदवार विजयी भएको भन्दै विजयी जुसुलसमेत गरेका थिए। तर निर्वाचन समितिले निर्वाचन आयोगदेखि सर्वदलीय बैठक राखेर उक्त बडामा पुन: मत गणना गरेको थियो। यसरी मत गणना गर्दा दुवैको मत बराबर आएपछि निर्वाचन आयोगले गोलाबाट निर्णय लिएको थियो। गोलाबाट निर्णय लिँदा पनि भाग्यले साथ माओवादीका वडाध्यक्ष समसेर सिंहलाई दियो अनि निर्वाचन आयोगले उनलाई नै विजेता बनायो।
यसरी विवाद र रोमाञ्चकता रहेको उक्त क्षेत्रमा साँझ अन्तिम परिणाम सार्वजनिक हुँदा मेयर र उपमेयर दुवैमा स्वतन्त्र उम्मेदवारले जित हात पारे।
यसरी जित हात पार्ने उम्मेदवार हुन् नेपाली कांग्रेसबाट विद्रोह गरेर बागी उठेका प्रह्लादकुमार क्षेत्री। क्षेत्रीले १४ हजार २ सय १० मत पाउँदै जित हात पारे। उनको प्रतिस्पर्धीमा नेकपा माओवादीका राजु खड्काले उनले पाएको भन्दा करिव आधा मत पाए।
उनले ८ हजार ३ सय २३ मत पाए। क्षेत्रीले पाएको टिकट खोसेर जसलाई दिइएको थियो उनी भने चौथो नम्बरमा सीमित भए। कांग्रेसका चिरञ्जीवी हमालले १२६३ मत पाए।
उपप्रमुखमा स्वतन्त्रकी तारादेवीले जित हात पारिन्। उपप्रमुखमा पनि नेपाली कांग्रेसको आधिकारीक उम्मेदवार अमिनाकुमारी महत्तो चौथो नम्बरमा परिन्।
उम्मेदवारी दर्ता गराउँदा टिकट खोसिएको थाहा पाए अनि प्यानल नै बनाएर उठे
वैशाख ११ गते उनी दिनभर टिकट पाउने दौडधुममै रहे। १२ गते उनले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर भएको पत्र पाए अनि उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगे।
तर मनोनयन दर्ता गराउने समयमा उनीमात्र पुगेनन् कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र लिएर चिरञ्जीवी हमाल पनि पुगे। यो विवाद शुरु भएपछि निर्वाचन कार्यालयले आधिकारीक को हो भनेर खोजी गर्यो। यो खोजी गर्दा क्षेत्रीले टिकट गुमाए अनि हमालले पाए।
त्यसपछि आयोगले हमाललाई कांग्रेसको आधिकारिक उम्मेदवार बनाएर मनोनयन दर्ता गर्यो। टिकट पाएर पनि उम्मेदवारी दर्ता गर्ने समयमा आधिकारिकता नपाएपछि क्षेत्रीले पार्टीबाट विद्रोह गर्दै स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी गरे। उनले आफू एक्लै भन्दा पनि उपमेयर र बडाध्यक्षसहितको तयारी गरे।
वडाहरु १,३,४,६,७,८,११,१२,१३ र १४मा बडाध्यक्षको स्वतन्त्र उम्मेदवार तयार गरे। उनीहरुले प्यानल नै बनाएर पार्टीभित्र विद्रोह गरे अनि उम्मेदवारीसँगै प्रचार पनि शुरु गरे।
जनतामा आफू लोकप्रिय रहेको भएपनि पार्टीले अन्याय गरेको प्रचार उनीहरुले गरे। यसरी गरेको विद्रोहलाई उनीहरुले जितसम्म पुर्याए।
स्वतन्त्र रुपमा उनीहरुले बडा नम्वर १,७,१३ र १४मा जित पनि दिलायो। पार्टी सभापतिले टिकट नदिए पनि उनीहरुलाई जनताले भने आगामी पाँच वर्षका लागि नगरको साँचो दिएर पठाएका छन्। यो निर्वाचनमा स्वतन्त्र उम्मेदवारले मेयर/उपमेयर र बडाध्यक्ष जितेको यो नै पहिलो रेकर्ड हो। हालसम्म कुनै कुनै पालिकामा र बडाहरुमा स्वतन्त्र उम्मेदवारले जित हात पारे पनि नगरभित्र प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएर जित हात पार्न सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।