काठमाडौं- झापाको दमक नगरपालिका-५ को मतगणनापछि प्रतिष्पर्धा थप रोचक बनेको छ। पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकको वडा नम्बर ५ बाट अग्रता बढाउने एमालेको अपेक्षामा तुषरापात भएको छ।
अध्यक्ष ओलीको घर रहेको उक्त वडामा वडाअध्यक्ष भन्दा एमालेका तर्फबाट मेयर बनेकी गीताकुमारी पौडेलले कम मत पाएकी छिन्।
उक्त वडाबाट एमालेका मेयरले २१२४ मत प्राप्त गर्दा एमालेका वडाध्यक्षले २४२६ मत पाएका छन्। वडाध्यक्ष बराबर मत आउँदा पनि एमालेले ६ दलीय गठबन्धनका उम्मेदवार राप्रपाका राम थापासँग मतान्तर १०१ मा मात्रै बनाउने थियो र वडा नं ६ को मतगणनाबाट जित्ने सम्भावना बलियो हुन्थ्यो।
वडा नं ५ मा राप्रपाले १ हजार ६५७ मत पाएर १६ हजार २२७ मतसहित अग्रता कायम गरेको छ। १५ हजार ८२४ मतसहित एमाले ४०१ मतले पछि परेको छ।
जम्मा १० वटा वडा रहेको दमकका वडा नं ६ को मत गणना बाँकी छ। एमालेको गढ भनिएको वडा नं ५ बाटै कम मत आएपछि बराबर भनिएको ६ बाट नतिजा उल्ट्याउने सम्भावना कम रहेको एमाले नेताहरु नै बताउन थालेका छन्।
उपमेयरमा कांग्रेसकी रेगिना भट्टराई १५७२९ मतसहित अघि छिन् भने एमालेका अम्बिकाप्रसाद खनाल १५ हजार ५३२ मतसहित पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।