काठमाडौं- स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु भएको छ। २०७४ मा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल बिहीबार राति सकिएको र नयाँ जनप्रतिनिधिहरुको कार्यालय शुक्रबारबाट सुरु भएको निर्वाचन आयोगले बताएको छ।
'नयाँ जनप्रतिनिधिहरुको कार्यकालको गणना शुक्रबारदेखि नै हुन्छ। निर्वाचन सम्पन भएर मतगणना सम्पन्न भएका स्थानमा आजैको मितिदेखि लागू हुने गरी सात दिनभित्र सपथ ग्रहण गराइसक्न मुख्य निर्वाचन अधिकृतलाई अनुरोध गरिसकेका छौँ', प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल लाइभसँग भने।
थपलियाले गत शुक्रबार सम्पन्न निर्वाचनबाट निर्वाचितहरुले सपथ लिएर जिम्मेवारी सुरु गर्ने बताए। उनले गणना बाँकी रहेका क्षेत्रमा पनि अब छिट्टै सकेर सपथ गराउन भनेको जानकारी दिए।
उनले बाँकी विषयमा सामान्य प्रशासन मन्त्रालयले निर्णय लिने भएको भन्दै आफूहरुले पुराना जनप्रतिनिधिको कार्यकाल बाँकी रहँदै निर्वाचन सम्पन्न गरेको बताए।
२०७४ सालमा तीन चरणमा निर्वाचन भएको थियो। २०७४ वैशाख, असार र असोजमा भएको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुको कार्यकाल कहिलेसम्म कायम रहने र नयाँ निर्वाचन कहिलेसम्म गरिसक्नुपर्ने भन्नेमा गत केही महिनाअगाडि विवाद उत्पन्न भएको थियो। तर, पहिलो चरणमा निर्वाचन भएको मितिलाई आधार मान्दै गत वैशाख ३० गते नयाँ निर्वाचन गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।